ताजा अपडेट »

धर्मभक्त माथेमा र धर्म श्री

विहीबार, १५ असोज २०७७, १९ : ००
155 Shares

विभिन्न विद्वानहरुले मानव शरीरको तुलना फलामसँग गरेका छन् । फलामबाट निर्मित कुनै बस्तुहरु लामो समयसम्म प्रयोगबिहीन अवस्थामा राखिए भने विस्तारै त्यसमा खिया लाग्न शुरु हुन्छ । ठिक त्यसैगरी यदि व्यक्तिले हाम्रो शरीरको विकासको माग अनुरुप व्यायाम र उचित खानपान गर्दैन भने मानव शरीर विस्तारै विस्तारै कमजोर हुँदै जान्छ र यसले प्रदर्शन गर्ने क्षमता पनि ह्रास आउँन थाल्छ । यिनै मान्यताहरुलाई आत्मसात् गर्दै नेपालमा पनि मानिसहरु स्वास्थ्य शरीरका लागि शारीरिक सुगठनका अभ्यास गर्दै आएको पाइन्छ ।

वि.सं. १९९० को दशकमा नेपालमा राणा शासन चरम उत्कर्षमा थियो । त्यती वेला सर्वसाधारण युवाहरुलाई खेलकुद लगायतका गतिविधिहरूमा लाग्ने कुरा अकल्पनीय थियो । उनीहरू अर्थव्यवस्था, स्वास्थ्य र सामाजिक विकासको बारेमा ज्ञान प्राप्त गर्न प्रतिबन्धित थिए । यस्तो गतिविधिमा संलग्न रहेको जसकसैलाई कुनै ठोस प्रमाण बिना समेत राज्यबाट दण्डित गरिन्थ्यो । प्रतिबन्धित अवस्थामा समेत केही युवाहरूले शरीरिक सुगठनका बारेमा चासो लिने थालेका थिए । ती युवाहरु मध्ये स्वतन्त्रता सेनानी तथा अमर शहिद धर्मभक्त माथेमाको नाम अग्रस्थानमा आउछ । धर्मभक्त माथेमा, नेपालका पहिलो शारीरिक सुगठनका खेलाडी थिए ।

वि.सं. १९९३ शहीद धर्मभक्त माथेमाले भारतको बङ्गालमा शारीरिक व्यायामशालाबाट ज्ञान सिकेर नेपाल आए । उनले नै नेपाली जनमानसलाई डम्बेल र बारबेलको प्रयोगबाट शारीरिक सुगठन सम्बन्धि व्यायामसँग परिचित गराए । काठमाडौं ओमबहालमा आफ्नी फुपु युगकुमारी रायको घरमा उनले जिमखाना खोले । यो नै शायद नेपालको पहिलो जिमखाना थियो । जिमखाना खोल्नुअघि उनले जुद्धशमशेरबाट स्वीकृति लिनुपरेको थियो । त्यतिबेला जुद्धशमशेरले ‘भीडभाड नगर्नू’ भन्दै जिमखाना खोल्न स्वीकृति दिएका थिए ।

उनले काठमाडौंस्थित टुंडिखेलको खुला चौरमा धोडेजात्राको अवसरमा बलिष्ठ र मसलदार शरीरद्वारा पहिलोपटक शारीरिक सुगठन खेलको प्रदर्शन गरेका थिए । त्यसबाट प्रभावित भएर राजा त्रिभुवनले उनलाई आफ्नो व्यायाम शिक्षकका रुपमा नियुक्त गरेका थिए । उनले स्वतन्त्रताको लागि राणा शासनकोविरूद्ध संघर्ष गर्दै वि.सं. १९९७ मा देशका लागि शहादत प्राप्त गरे । उति बेला देखि नै धर्मभक्तको बाटो पछ्याउँदै युवाहरु शारीरिक व्यायाममा लागेका थिए । यस खेल प्रति उनले पुर्याएको योगदानको कदर गर्दै उनलाइ नेपाली शारीरिक सुगठन पिता समेत मानिन्छ ।

वि.सं. २०१० सालमा स्थापित नेपालकै पहिलो सार्वजनिक शारीरिक सुगठन संस्था नेपाल व्यायाम मन्दिर हो । जसले शारीरिक सुगठनका अध्येता शहिद धर्म भक्त माथेमाको शारीरिक सुगठन प्रतिको लगाव र देशका लागि गरेको बलिदानको कदर गर्दै हरेक साल धर्मश्री अन्तरक्लब राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

धर्म श्री प्रतियोगिताको नामाकरण र प्रारम्भ कसरी भयो त ?
वि.सं. २०४२ सालमा श्रीलंकाको कोलोम्बोमा आयोजित २१ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै पहिलो पटक खेलाडी सरोजकुमार श्रेष्ठ सहभागिता जनाए । उनलाई विदेशीमा सँगालेको अनुभवका साथै त्यहाँको खेलको भव्यता देखेर सोहि अनुसारको नेपालमा पनि प्रोफेसनल बडी बिल्डिङ्ग प्रतियोगिता गर्न पाए हुन्थ्यो भन्ने लालशा जाग्यो । नेपालमा उति बेलासम्म राष्ट्रिय खेलकुद परिषदले मात्र एमेच्योर बडी बिल्डिङ्गको राष्ट्रिय प्रतियोगिताको वार्षिक रुपमा आयोजना गर्थो । नेपाल व्यायाम मन्दिरको आयोजनामा राष्ट्रिय स्तरको प्रोफेसनल बडी बिल्डिङ्ग प्रतियोगिता आयोजना जोहो गर्न थालियो ।

पञ्चायती व्यवस्था बहाल रहेको उक्त बेला सरकारी क्षेत्र भन्दा बाहिरबाट राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको आयोजना गर्न कठिन थियो । प्रतियोगिताका लागि पटक पटक सरकारी अनुमति लिने प्रयासहरु विफल भएको श्रेष्ठ बताउँछन् । त्यतिबेला शहिद दिवसको औपचारिक कार्यक्रममा शहिद धर्मभक्त माथेमा सहित अन्य तीन अमर शहिदहरुका तस्वीर राखेर कार्यक्रम गरियो । जसमा संयोगवश धर्मभक्तको सुगठित शरिर प्रदर्शन गरेको तस्वीर परेछ । त्यसपछि सरोज लगाएत नेपाल व्यायाम मन्दिरका अन्य साथीहरु सल्लाह गरे । शहिद धर्मभक्त माथेमा बडी बिल्डर पनि हुन् ।

उनको मुलुकमा व्यवस्था परिवर्तनमा समेत अतुलनिय योगदान समेत गरेका छन् । उनकै नाममा प्रतियोगिताको आयोजना गर्दा देशका लागि जीवन उत्सर्ग गर्ने शहिद प्रति थप सम्मान पनि हुने र सरकारी अनुमति लिन पनि सहजता हुने भएकाले प्रतियोगिताको नाम धर्म श्री राख्ने तय गरिएको धर्म श्री का प्रस्तावनाकार सरोजले बताए । वि.सं. २०१० सालमा जन्मेको नेपाल व्यायाम मन्दिरले शुरुमा खिचापोखरी भुरुङ्गखेल हुँदै २०२५ सालको सेरोफेरोबाट ज्याठामा जिमखाना खोलेको थियो ।
शहीदलाई सम्बोधन गर्ने शहीद स्मारक फुटबल लिग २०११ सालदेखि आयोजना भएको थियो । तर सम्मान स्वरुप शहीदको नामबाट नै नेपालमा खेल प्रतियोगिता आयोजना गर्ने श्रेय भने धर्मश्री शारारिक सुगठन प्रतियोगितालाई जान्छ ।

२०४१/०४२ साल तिर एउटा राष्ट्रिय प्रतियोगिता भए पछि वर्षै अर्को प्रतियोगिता नहुने प्रतिकुल अवस्था थियो । काठमाडौंमा भएका विभिन्न हेल्थ क्लबहरुले पालैपालो सञ्चालन गर्न सहमती अनुरुप वि.सं. २०४२ मा प्रथम पटक नेपाल व्यायाम मन्दिरबाटै अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको जग हाल्ने काम भएको थियो ।


पहिलो धर्म श्री प्रतियोगिता : वि.सं २०४२ साल जेष्ठ ३० गते आयोजित प्रथम धर्मश्री शारीरिक सुगठन प्रतियोगिता तिन तौल समूहमा मात्रै प्रतिष्पर्धा गराएर विजेता छानिएको थियो । प्रतियोगिता आयोजना गर्दा रकमको अभावले टोलमा नाटक गर्दा प्रयोग गरिने ड्रम र बाँसको सहायताले स्टेज तयार परिएको सरोज श्रेष्ठ बताउँछन । धर्म श्री प्रतियोगिता अन्तरक्लब प्रतियोगिता भएको हुँदा राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुमा स्वर्ण र रजत पदक प्राप्त गर्ने खेलाडीलाइ सहभागी हुनबाट बन्देज लगाइएको थियो । सो प्रतियोगितामा ज्ञानेन्द्र नकर्मी र किरण राजभण्डारी लगायतका खेलाडी विजेता बनेका थिए । त्यस प्रतियोगितामा बासु श्रेष्ठ, सुशिल खड्का, सुदर्शन मान सिंह लगायतका खेलाडीहरु सहभागी भएका थिए ।

दोश्रो धर्म श्री प्रतियोगिता : पूर्वसहमती बमोजिम अन्य हेल्थ क्लबहरुले सञ्चालन गर्नका लागि तयार नभए पछि पुनः वि.सं. २०४३ सालको दोश्रो अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता पनि नेपाल व्यायाम मन्दिरले नै आयोजनामा गर्यो । जस्मा राजन कुमार श्रेष्ठ, दिनेश राजभण्डारी र ज्ञानेन्द्र नकर्मी बिजेता भएका थिए । त्यस प्रतियोगितामा शैलेश केशी, भुषण डंगोल, डिल्ली खड्की, विजय मानान्धर, पुर्ण चन्द्र, बिकास प्रधान सुर्य मानान्धर र चन्द्र सुब्बा लगायतका खेलाडीहरु सहभागी भएका थिए ।

वि.सं. २०५० सालबाट भने खुल्ला रुपमा सबै तौल समूहका विजेता खेलाडीहरु बीच प्रतिस्पर्धा गराएर धर्मश्रीको विजेता चुनिँदै आएको छ । यहि साल देखि विजेता खेलाडीलाइ १५ हजार नगद पुरस्कार दिन थालियो, जुन २०५४ सालसम्म यथावत रह्रो । वि.सं. २०५५ को छैठौ संस्करण देखि धर्म श्री प्रतियोगितालाई खुल्ला राष्ट्रिय स्तरमा स्तरोन्नती गरियो । त्यसपछि राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक प्राप्त गर्ने खेलाडीलाई समेत सहभागी हुन पाउने नियम बनाईयो । यहि वर्षदेखि नगद पुरस्कार राशी पनि १५ हजारबाट ५० हजार पुर्याइएको नेपाल व्यायाम मन्दिरका वर्तमान अध्यक्ष नारायण प्रधान बताउँछन् ।

प्रत्येक नेपाली शारीरिक सुगठन खेलाडीको सपना रहेको धर्म श्री प्रतियोगिता हाल सम्म निरन्तर रुपमा सञ्चालन हुदैछ । जस्को पन्ध्रौं संस्करण २०७५ सालमा सम्पन्न भयो । जसमा उपाधि बिजेता मिलन सिजापतीलाई नगद रु. ५ लाख पुरस्कार दिइएको प्रधानले बताए ।

धर्मश्री हाल सम्मका विजेताहरू
१. रविन्शन शाक्य (२०५०)
२. सागर ताम्राकार (२०५३)
३. लालबहादुर गुरुङ (२०५४)
४. जीवन गिरी (२०५५)
५. नरेश महर्जन (२०५७ र २०५९)
६. हरिस श्रेष्ठ (२०५८)
७. सानु गुरुङ (२०६४ र २०६५)
८. लोकेन्द्र परियार (२०६८)
९. महेश्वर महर्जन (२०७१)
१०. अर्जुन वर्णवाल (२०७३)
११. मिलन सिजापती (२०७५)

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार