ताजा अपडेट »

हक्की स्वभावका निलकण्ठ

सोमबार, १२ असोज २०७७, १९ : ००
51 Shares

स्व. निलकण्ठ नारायण मानान्धरको जन्म काठमाडौंमा भएको थियो । युवा अवस्थामा साथीहरुको संगतमा लागेर २०३० साल देखि उनले रधुराज वन्त काठमाडौं चाक्सीबारीमास्थित वन्त जिम क्लबमा व्यायाम गर्न थाले । वि.सं. २०२९ सालमा उनको विवाह गंगा देवि मानान्धरसँग भयो । जसबाट चार जना छोरीहरुको जन्म भएको थियो ।

वि.सं. २०३८ साल राखेपले नेपाली खेलकुद क्षेत्रको प्रथम वृहत राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै थियो, जसमा शारीरिक सुगठन खेलपनि समावेश थियो । २०३८ भदौ २८ गते आयोजित त्यस प्रतियोगितामा मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, लुम्बिनी, धौलागिरी, भेरी, बाग्मती र गण्डकी गरी ११ अञ्चलका ३५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । उनले बन्त कल्बबाट सहभागी हुदैँ बागमती अञ्चल प्रतिनिधित्व गरे । सो प्रतियोगितामा ५८ केजी तौल समुहमा मानन्धर मिष्ट्रर नेपालको उपाधि जित्न सफल भए ।

यसैगरि ६५ केजी तौल समूहमा शिवलाल श्रेष्ठ र ६५ केजी तौल भन्दामाथि ज्योति जंग राणा मिष्ट्रर नेपाल घोषित भए । वि.सं.२०३९ सालमा राजबिराजमा आयोजनामा भएको दोश्रो र वि.सं. २०४० सालमा पोखरामा भएको तेश्रो राष्ट्रिय प्रतियोगितामा लगातार उनि मिष्टर नेपालको उपाधि लिन सफल भए । यसैबीच मानान्धर नेपाल व्यायाम मन्दिरसँग आबद्ध भए । त्यतिबेला आयोजना भएको मिष्टर काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता समेत उनि सहभागी भएको उनका छोरी तिश्ना मानान्धर बताउँछिन् । मानान्धर नेपाल बैंक लिमिटेडमा जागिर गर्थे ।

पछि उनी नेपाल शारीरिक सुगठन संघको कोषाध्यक्षमा समेत निर्वाचित भएर सफलतापुर्वक जिम्मेवारी निर्वाह गरे । सारै हक्की स्वभावका मानान्धरको डवल बाइसेप मशल त्यतिखेर खेलाडीहरु मध्ये सबैभन्दा राम्रो भएको पुराना खेलाडी धनश्याम मुखिया बताउँछन् । मानन्धरले २०४२ सालमा शारीरिक सुगटनको खेलको राष्टिय निर्णायकको लाइसेन्स लिए । क्रमशः नेपालमा हुने प्रतियोगिताहरुमा निर्णायकको भुमिका निर्वाह गर्दै सन् २००० मा नेपालमा सम्पन्न भएको दोश्रो दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता हुँदा ब्द्यद्यँ बाट एसियन जजको लाइसेन्स समेत प्राप्त गरे । त्यसपछि उनले मुलुक बाहिर भएका प्रतियोगिताहरुमा समेत निर्णायक भए ।

एकपटक दाङमा भएको शारीरिक सुगठन प्रतियोगितामा निर्णायक भएर जाँदा नतिजा लाई लिएर भएको छलफल विवादमा परिणत भएपछि रातारात दाङबाट भाग्नु परेको घटना उनले बारम्बार परिवारसँग साट्ने गरेको कुरा छोरी तिश्नाले बताईन् । मानन्धरको मृत्युपश्चात् बुवाको शारीरिक सुगठन प्रतिको लगाव देखेर परिवारले नेपाल व्यायाम मन्दिरमा उनका नाम ३ लाख बराबरको अक्षयकोष स्थापना गरेर प्रत्येक वर्ष त्यसको आर्जित व्याजबाट पुरस्कार वितरण हुने गरी नेपाल व्यायाम मन्दिरमा आन्तरिक प्रतियोगिताहरू सञ्चालन गर्ने कुरा नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान बताउँछन् ।

जुन यसअघि दुईपटक सम्पन्न भइसकेको र यस वर्ष कोरोना रोगको महामारीका कारण गर्न नसकिएको प्रधानले बताए । स्वर्गिय निलकण्ठ मानान्धर आज हामी बिच हुनु हुन्न तर उहाँले शारीरिक सुगठन खेलको विकासमा गर्नु भएको योगदानहरुको जति नै प्रशंसा गरे पनि कम नै हुन्छ ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार