ताजा अपडेट »

‘पाकेको धान सबै डुब्यो, वर्षभरी के खाने?’

सोमबार, १२ असोज २०७७, १२ : १३
26 Shares

बालीसँगै ६० घरपनि डुबानमा

परासी । पाकेर घर भित्राउन तयार भएको धान बाढीले डुबाएपछि पश्चिम नवलपरासीका किसान चिन्तित भएका छन्। गएको मंलबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सबैभन्दा बढी पाल्हीनन्दन र सरावल गाउँपालिकामा लगाइएको धान खेती डुबानमा परेपछि किसान चिन्तित बनेका हुन्। पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले लगातार परेको वर्षाका कारण भएको डुबान क्षेत्रको स्थलगत अवलोकन गरी वस्तुस्थिति जानकारी लिएको बताए । उनले गाउँपालिकाको सबैभन्दा बढी डुबानमा परेका वडा नं. १ को शंकरपुर, बड्की सुनरी, महेशपुर, अमानीगञ्ज, दशगजा क्षेत्रमा धेरै धानखेती डुबेको बताए।

अविरल वर्षापछि झरही र धनेवा खोलाको बाढी पस्दा शंकरपुर गाउँ पूर्ण रुपमा ढुबान भएको छ । बाढीका कारण करिव ६० घर डुबेका छन् भने पाँच सय भन्दा बढी विघाको धानबाली नष्ट भएको बताउँदै किसानका लागि उन्नत जातका बिउविजन र राहत हुने किसिमको योजना गाउँपालिकाले ल्याउने बताउनुभयो। विपद व्यवस्थपन संयोजक प्रदिप तिवारीले गाउँपालिकाको सबैभन्दा धानखेती डुबेका शंकरपुर, बड्की सुनरी, महेशपुर, अमानीगञ्ज, पडरी लगायतका सयौं बिगाहको यकिन बिबरण संकलन गर्ने काम भइरहेको बताए।

यता सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले पनि लगातार परेको वर्षाका कारण भएको डुबान क्षेत्रको स्थलगत अवलोकन गरी वस्तुस्थिति जानकारी लिएकाछन् र उनले सरावल गाउँपालिकाको सबैभन्दा बढी डुबानमा परेको वडा नं. ६ को खडौना ,मधवलिया, नौडिहवा , भुजहवा ,गडौरी कुर्थावल र पुसौलि लगाएतको क्षेत्र अवलोकन गरेकाछन् । बाढि पीडितहरुका डाटा संकलन भएको आधारमा राहत उपलब्ध गराउने र बताउदै किसानहरुका क्षति धानबालिका सट्टामा हिउदे बालिहरुका बिउ विशेष अनुदानमा गाउँपालिकाले उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । पाकेको धान डुबेपछि बचेका केही धान किसानले काट्न थालेका छन्।

केही किसानले पानी भित्रकै धान काटेर ल्याउन थालेका छन्। डुबानका कारण सरावलको वडा नम्बर ४ र ७, पाल्हीनन्दनको १ र ६ नम्बर वडामा लगाइएको ३ हजार बिगाहाको धानबाली पूर्ण रुपमा डुबानमा परेको छ। सरावलमा १ हजार बढी र पाल्हीनन्दनमा २ हजार बढी धानबाली डुबेको स्थानीय तहले जनाएका छन्। त्यस क्षेत्रमा सयौं बिगाहामा लगाइएको धान खेती पनि आधा डुबानमा परेको छ। केही किसानले काटेर खेतमा सुकाएको धान समेत डुबाएको छ । धानबालीसँगै गाउँ नै डुबानमा परेपछि घरभित्र रहेको खाद्यन्न समेत बगाएको स्थानीयले बताएका छन्। २÷४ दिनमा काट्न भनेर राखेको धान बाढीले डुबाएको सरावल–६ कुर्थावलका गयाकुमार यादवले बताए। बाढी सुक्न अझै १० दिन जति लाग्ने र त्यो बेलासम्म डुबेको धान कामै नलाग्ने हुने पाल्हीनन्दन गाउँपालिका शंकरपुरका किसान जतेन्द्र यादवले बताए।

गाउँसँगै धान खेती डुबानमा परेपनि स्थानीय तहले अहिलेसम्म राहतको व्यवस्था नगरेको स्थानीयको गुनासो छ। कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासी जिल्लाका प्रमुख देवेश कुमार म मिश्राले कम्तिमा दुई विहाह भन्दा बढी डुबानमा परेको र सबै स्थानीय निकायलाई तथ्याङ्क संकलन गरी राहतको लागि स्थानीय निकायलाई आग्रह गर्दै हिउँदे बाली लगाउने बेला सबै स्थानीय निकायले उन्नत जातका विउविजन,मल आदि क्षेत्रमा अनुदान दिएर किसानलाई हौसला प्रदान गर्न अनुरोध गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।