ताजा अपडेट »

मेहनती रेनबहादुर

शनिबार, १० असोज २०७७, २० : ३०
6 Shares

रेनबहादुर वासुकलाको जन्म वि.सं. २०२७ आषाढ १० गते भक्तपुरको व्यासीमा भएको थियो । २०४४ सालमा मशल बडी बिल्डिंग क्लबबाट उनले व्यायाम गर्न थाले । त्यतिबेला उनले समकक्षीहरु सुर्य बहादुर मानान्घर, गणेश प्रसाद सुवाल लगायतसँगै व्यायाम गर्थे । पछि ४५ सालमा उनी नेपाल व्यायाम मन्दिरमा प्रवेश गरे । उनको पहिलो प्रतियोगिता ४९ सालमा खेलेको उनि सम्झन्छन् ।

वि.सं. २०४९ सालमा नेपाल शारीरिक सुगठन सङ्घको तत्वावधानमा काठमाण्डौ आयोजित नवौं राष्ट्रिय शारीरिक सुगठन च्याम्पियनसिपमा ६० केजी तौल समूहमा वासुकलाले कास्य पदक हासिल गरे । ५१ सालमा आयोजित प्रथम एभरेष्ट क्लासिक खुल्ला शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समुहमा उनले दोश्रो स्थान हात पारे । ५२ सालमा आयोजित दोश्रो एभरेष्ट क्लासिक खुल्ला शारीरिक सुगठन प्रतियोगितामा आफ्नो ७५ के जी बजन समुहमा पाचौ स्थानमा चित बुझाए । त्यहि वर्ष नेपाल शारीरिक सुगठन सङ्घको तत्वावधानमा काठमाण्डौ आयोजित प्रथम मिष्ट्रर हिमालय राष्ट्रिय शारीरिक सुगठन च्याम्पियनसिममा ७० केजी तौल समुहबाट उपाधि हात पारे ।

उनले ५३ सालमा भारतको नयाँ दिल्लीमा आयोजित ३२ औ एसियाली शारीरिक सुगठन प्रतियोगितामा सहभागिता जनाएका थिए । बानेश्वर जिमको आयोजनामा ५५ सालमा भएको काठमाडौं कप राष्ट्रिय शारीरिक सुगठन च्याम्पियनसिममा ७५ केजीमा माथी तौल समुहमा उनले स्वर्ण पदक जित्न सफल भए । भारतको नासिक शहरमा ५६ सालमा आयोजित प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आफ्नो बजन समुहमा पाचांै स्थान प्राप्त गरेका थिए । ५९ सालमा नेपाल व्यायाम मन्दिरको आयोजना भएको नवौ धर्म श्री राष्ट्रिय शारीरिक सुगठन च्याम्पियनसिममा ७५ के जी भन्दा माथी तौल समुहमा चौथो स्थान प्राप्त गरे ।

वि.सं. २०६२ सालमा बासुकला नेपाल व्यायाम मन्दिरको कार्यसमितीमा सदस्यमा निर्वाचित भएका थिए । हाल उनले आफुले मन पराएको खेललाइ जीविकोपार्जनको माध्यम बनाएका छन् । उनले भक्तपुरको कमल बिनायक उज्वल जिम एण्ड जुम्मा र काठमाडौंको जोरपाटीमा बडी पावर नामक जिमहल संचालन गर्छन् । जहाँ आफु र सानो छोरा उज्वलले प्रशिक्षण दिने गरेको उनि बताउँछन् । उनका जेठा छोरा अविरल समेत शारीरिक सुगठन खेलको ट्रेनरका रुपमा विदेशमा कामकाज गरिरहेका छन् ।

दुई पटकसम्म अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुमा सहभागिता जनाउन देश बाहिर जान पाउँदाको क्षणलाइ जीवनमा सबैभन्दा बढी खुशीको पलका रुपमा लिन्छन् उनी । नेपाल व्यायाम मन्दिरको ज्याठामा जिम गर्न जाँदा राति अवेर हुने र घर फर्किदा सवारी साधनहरु नपाउदा धेरै पटक भक्तपुरसम्म पैदल हिड्नु परेको बिगतलाइ स्मरण गर्दै उनि सुनाउँछन् । आफ्नो सुगठित शरीर उनले धेरै पटक नेपालको विभिन्न स्थानमा हुने गरेका प्रतियोगिताहरु डमोस्ट्रसन गरिसकेका छन् । उनलाइ आफ्नो सबै पोज मध्ये डबल वाइसेप पोज सबैभन्दा मन पर्ने गरेको बासुकला बताउँछन् ।

आफ्नो समयमा प्रतियोगिताको तयारी गर्दा कस्तो डाइट प्लान तयार गर्नु हुन्यो ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, “स्वस्थकर घरायसी खानेकुराहरुमा स्थायी ताकत हुन्छ । हाम्रो शरीर एकछिनको लागि मात्र बनेर पुग्दैन, स्वस्थ शरीर हामीलाई बाँचुन्जेल चाहिन्छ । छिटो छरितो नतिजा दिलाउने वस्तुहरु प्रयोग गरे पनि त्यसको नतिजा जीवनभर रहँदैन् । “ भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले शारीरिक सुगठन खेलमा आफुले गरेको योगदानको कदर गर्दै सम्मान गरेको बासुकलाले बताए ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार