November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

ईतिहासको खोज भाग- ४

शारीरिक सुगठनका जेठा निर्णायक गोबिन्द चित्रकार

882

नेपाल व्यायाम मन्दिर नेपालकै सबैभन्दा पुरानो खेलकुद संस्था हो । यसको स्थापना विक्रम सम्बत २०१० सालमा भएको हो । स्थापना कालदेखीनै यसले शारीरिक व्यायामको विभिन्न प्रशिक्षण दिदै आइरहेको छ । नेपालको सबभन्दा पुरानो व्यायामशालाका पुराना खेलाडीमध्येका एक हुन गोबिन्द चित्रकार । वि.स. २०२३ तिर एस.एल.सि. को परीक्षा सकाएर बसेका चित्रकारलाई साथी सानुकाजी मानान्धरलको संगतले नेपाल ब्यायाम मंन्दिरको ढोकासम्म डोराएका थिए ।

उतिबेला नेपाल व्यायाम मन्दिरमा अम्बिका श्रेष्ठ, करण सिंह, उत्तम राइ, जुजुभाइ श्रेष्ठ, हिराकाजी मानान्धर लगायतले व्यायाम गर्ने गरेका थिए । उनीहरुसँग चित्रकार व्यायाम गर्न थाले । अरु सामानहरु पुराना भए पनि व्यायाम मन्दिरका संचालक द्वारिका दास श्रेष्ठले विदेशबाट स्टिलको बारबल रड र केहि थान बेटहरु नयाँ ल्याएका थिए । पछि दार्जिलिगंबाट डेविड भन्ने मानिस आए पछि बेन्च प्रेस लगायत अन्य आधुनिक सामानहरु थपिए । उति बेला भारतको टाटा बिराला कम्पनीमा काम गरेर नेपाल फर्किएका लालबहादुर खाती (सिन्धुलीगढी घुमेर हेर्दा गीतका गायक) सँग चित्रकार लगायतको भेट भयो । उनले भारतमा रहँदा शारीरिक सुगठनका अभ्यास सिकेर आएका रहेछन् ।

निक्कै बलिष्ठ मिलेको ज्यान ठूला पाखुरा र छाती भएका खातीलाइ देखेर मानिसहरु दङ्ग परेर हेर्ने गरेको चित्रकार बताउँछन् । पछि खातीको आर्थिक अबस्था नाजुक भएकाले जुजुभाइ श्रेष्ठ जो आफै पनि युवा माघ्यामिक विद्यालयका शिक्षक थिए, धेरै विद्यालयहरुमा लगेर खातिको बडी शो गर्न लगाएर जिविकोपार्जनमा सहयोज जुटाई दिएको चित्रकार बताउँछन् । वि.स. २०३० मा रधुराज बन्तले एमेच्युर एथ्लेटिक्स युनियन क्लबबाट मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता सम्पन्न गरेको र रमेश खनाल बिजेता भइ सकेका थियो । वि.स. २०३४ साल तिर पुन सरकारी मान्यता लिएर झन्दै २० जना खेलाडीको सहभागितामा मिस्टर काठमाडौं (दोश्रो) शारीरिक सुगठन प्रतियोगिता भयो । त्यसमा बिजेता घनश्याम मुखिया भए ।

पञ्चायती व्यवस्थाको बिगबिगी रहेको यो बेलामा अञ्चालाधिश नै जिल्ला खेलकुदको प्रमुख हुने व्यवस्था थियो । उक्त कार्यालयबाट चेकजाँचका नाममा पटक-पटक नेपाल व्यायाम मन्दिरमा सरकारी कर्मचारीहरु अनुगमनमा आउने र शारीरिक सुगठन खेल दर्ता नभएको भनि बिभिन्न टिका टिप्पणी गर्ने गरेको उनले बताए । यहि क्रममा चित्रकार र शिवलाल श्रेष्ठ लगायतका युवाहरु अञ्चालाधिश सुरेन्द्र बहादुर श्रेष्ठलाइ भेट्न गए । त्यहाँ जाँदा उनले राखेपले लगतै (वि.स.२०३८ मा) प्रथम राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने तयारी गरिरहेको र त्यस्मा शारीरिक सुगठन खेल पनि समावेश गर्न सकिने हुदा आवश्यक तयारी थाल्न सुझाए ।

प्रतियोगितामा भाग त लिने तर निर्णायक कस्ले गर्ने भन्ने विषयमा समस्या आइलाग्यो । उनीहरुले आ-आफ्नो बजन समुहको खेल्ने, जस्को बजन समुह प्रतियोगिता हुँदैन उस्ले त्यो बजन समुहको निर्णायकको भुमिका निर्वाह गर्ने सुझाव राखे तर सुरेन्द्र बहादुर श्रेष्ठले केही खेलाडीका रुपमा र बाँकी निर्णायक बस्न भने । यसरी गोबिन्द चित्रकार, नविन चित्रकार र सानुकाली मानान्धर निर्णायक बस्ने बाँकी खेलाडीका रुपमा खेल्ने निर्णय भयो । यसरी उती बेलादेखि निर्णायकको भुमिका निर्वाह गर्न थालेका चित्रकार निरन्तर हालसम्म निर्णायक बनिरहेका छन् । हाल नेपाल शारीरिक सुगठन संघका जजेज कमिटी अध्यक्ष समेत रहेका उनी नेपाल भित्र जँहा प्रतियोगिता हुन्छ निर्णय गर्न खटिन्छन् ।

उनको लामो समय शारीरिक शुगठन खेलको बिकासमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न संस्था लगायत वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टिङ फेडरेशन समेतले उहाँलाई सम्मान समेत गरिसकेको छ

पछिल्लो अपडेट