ताजा अपडेट »

कोभिड- १९ ले मानसिक स्वास्थ्यमा असर

विहीबार, ११ भदौ २०७७, १७ : १०
2 Shares

विश्व अहिले कोरोना भाईरस अर्थात् कोभिड- १९ सगँ लडाई गरिरहेको छ । सन् २०१९ को अन्तिम महिनामा चीनको वुहान शहरमा पहिलो पटक यस कोभिड- १९ नामक भाईरस पत्ता लागेको थियो । अहिले यस भाईरसले सारा विश्वलाई आतंकित बनाएको छ । अहिले सम्मको तथ्याङ्कलाई हेर्दा विश्वका २१५ देश र २ वटा पानी जहाजमा यस भाईरस महामारीको रुपमा फैलिएको छ । विश्वका शक्तिशाली देशहरु भनिएका देशहरु पनि यस रोग बाट नराम्रो सगँ प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । कोभिड- १९ ले करोडौ मानिसहरुलाई प्रभावित पारेको छ भनी लाखौं मानिसहरुको ज्यान समेत लिईसकेको छ । विश्वमा आज सम्म यस भाईरसविरुद्ध लड्न सक्ने कुनै पनि किसिमको भ्याक्सिन तथा औषधि निर्माण हुन सकेको छैन् । कहिले सम्म यस्तो अवस्था रहने हो त्यो पनि आकलन गर्न सक्ने अवस्था रहेको छैन् ।

कोभिड- १९ ले सबैभन्दा बढि मानसिक रुपमा मानिसहरुमा असर पारेको छ । कोभिड–१९ कै कारणले आफ्नो रोजगारी तथा आय आर्जनको बाटो गुमाउनु परेकोले उनिहरु उच्च मानसिक विचलनमा रहेका छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले सन् २०३० मा विश्वव्यापी रुपमा मानसिक स्वास्थ्य महामारीका रुपमा आउने बताएको छ । जसको मुख्य कारणका रुपमा कोभिड- १९ रहने छ । यसबाट पीडित बन्नेहरुमा ठूलो संख्यामा मध्यम आय वर्गका मानिसहरु हुनेछन । पछिल्लो समयमा नेपालीहरुमा कोभिड १९ का कारणले उत्तपन्न मानसिक असरहरुले गर्दा दिनानुदिन आत्महत्या तथा लैंगिक हिंसाका घटनाहरुमा वृिद्घ भईराखेको छन् ।

विशेष गरी कोभिड १९ का कारणले मध्यम आय वर्गीय मानिसहरुमा रिस उठने, भोक तथा निद्रा नलाग्ने, एकान्तमा बस्न मन लाग्ने , शरीरमा आलस्या बढ्ने, आफ्ना नियमित कार्यक्रम गर्न मन नलाग्ने, खाना अपच हुने, टोलाउने, पढ्न मन नलाग्ने, झर्को लाग्ने, विद्युतीय सामग्रीमा घण्टौं जस्ता विविध मानसिक समस्याहरु देखिएका छन् । नेपालको कुल जनसंख्याको ८० प्रतिशतमा रहेको मध्यम आय वर्ग कुनै न कुनै प्रकारको मानसिक रोग बाट पीडित हुने पक्का छ । जसका लागी सरकार तथा सम्बन्धित पक्षबाट कोभिड १९ का मानसिक असरहरुका बारेमा समयमा नै सोच्नु पर्ने अवस्थाको सिर्जना भईसकेको छ ।

यस्तो महामारीको बेलामा यस्ता किसिमका समस्याहरु आउनु स्वभाविक नै हो । हामी सबैको लागि द्धिविधा र तनावपूर्ण अवस्था सिर्जना भएको छ । यस्तो परिस्थितिमा मानिसहरु निर्धकका साथ बाहिर हिड्ँडुल गर्न पाएका छैनन् । लामो समयको बन्दाबन्दीको कारण लाखौ विद्यार्थीहरु विद्यालय जान बाट बञ्चित भएका छन् जसका कारण उनीहरुको मनमा विभिन्न किसिमका कुराहरु खेल्ने गरेका छन् यसरी मनमा विभिन्न कुराहरु खेल्दा उनीहरुमा मानसिक रुपमा असर परिरहेको छ । कोभिड १९ ले हाम्रो मानसिक स्वास्थ्यमा असर पारेको छ । यस्तो अवस्थामा जा ेकोहीलाई मनमा डर र चिन्ता हुनु स्वभाविक हो । यस्तो अवस्थामा मानिसको मानसिक स्वास्थ्यमा असर पर्ने गरेको पाईन्छ । चाहे त्यो छोटो समयका लागि होस या लामो समयका लागि मुख्य त तनाव र चिन्ताले सताउने गरेको पाईन्छ ।

एकातिर कोरोना लागेर मरिन्छ कि ? भन्ने डर छ भने अर्कोतिर आफ्नो दैनिकी एकै किसिमले चलिरहदा सबैलाई उराठ, दिक्क पारिरहेको छ । मनमा धेरै डर, चिन्ता भईरहनु , मनोबल कमजोर हुनु, एउटै कुरा मनमा खेलिरहनु मानसिक अस्वस्थताका लक्षण हुन् । यदि दिगो समय सम्म यस्ता समस्याहरु भइराखेमा मानिसमा डिप्रेसन लगाएतका विभिन्न किसिमका दिर्घकालिन रोगहरु लाग्न सक्दछन् । मानसकि रोगको कारणले कसै कसैले आत्महत्याको प्रयास पनि गर्दछन् । अहिलेको समयमा सबैको ध्यानाकषर्ण गर्न र सस्तो लोकप्रियताको कमाउनको लागि विभिन्न किसिमका भ्रामक समाचारहरु आईरहेका छन् । जसले मनमा डर, भ्रम, त्रास पैदा गरिरहेका छन् ।

महामारीको समयमा नेपालका केही समाचार गृहले यस्ता खालका असत्य समाचार फैलाउने गरेका छन् । कोभिड १९ का कारणले गर्दा विद्यालय जान नपाएका , परिस्थितीको सहि व्याख्या गर्न तथा बुझ्ने उमेर भएका बालबालिकाको मनोविज्ञानमा समेत नकारात्मक असर पारेको छ । नयाँ कुराहरु सिक्न नपाउँदा, साथीहरु सँग भेट हुन नपाउँदा, दैनिक एउटै दिनचर्या हुदा बालबालिकाको सामाजिक तथा मानसिक वृद्धिमा क्षती पुगेको छ । लकडाउनको समयमा बालबालिका माथि हुने घरेलु हिंसा बढ्ने गरेको समाचार पनि आइरहेका छन् । बालबालिकामा यस्ता किसिमको असरहरुले उनीहरुको मानसिक विकासमा प्रत्यक्ष रुपमा निकै नराम्रो सँग असर पारिरहेको छ । जसको कारण उनीहरुको मानसिक तथा संवेगात्मक विकासमा समेत असर पर्ने गर्दछ । कतिपय मानिसहरुले मानसिक तनाव, चिन्ता र डरको सामना गर्नको लागि मादक पदार्थ, धुम्रपान र लागू औषधी प्रयोग गर्ने गरेको पाईन्छ । जुन शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्त घातक तथा हानिकारक छ ।

मानसिक रुपमा तन्दुरुस्त हुन निम्न उपायहरु अपनाउन सकिन्छ ।
१. घर परिवार, नाता गोता र आफन्तहरुसित घरमै समय बिताउने
२. मनमा लागेका कुराहरु आदानप्रदान गर्ने
३. घरदेखि टाढा रहेका आफन्तजन तथा साथीभाईहरु सँग फोन तथा मेसेन्जरबाट भिडियो कल गर्ने र सधै सम्र्पकमा रहिरहने
४. शारीरिक र मानसिक रुपमा स्वस्थ हुनका लागि योग र व्यायाम ठुलो भुमिका भएकाले दैनिक रुपमा योग र व्यायाम गर्ने
५. रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि स्वच्छ सफा र सन्तुलित खाना खाने
६. व्यक्तिगत तथा पारिवारिक स्वास्थ्यमा ध्यान दिने
७. रुची अनुरुप किताब र पत्रपत्रिका पढ्ने, चित्रकला बनाउने, कविता, गित, गजल, कथाहरु लेख्ने
८. मानसिक तनावबाट मुक्त हुन भन्दै धुम्रपान र मद्यपान नगर्ने
९. बढिभन्दा बढि समय आफ्नो परिवारसँग कुराकानी गर्ने र समय बिताउने

अन्त्यमा, कोभिड १९ का कारणले मानसिक स्वास्थ्यमा नकारात्मक रुपमा निकै नै प्रभाव पारेको छ । मानसिक रुपमा यसरी प्रभाव पारि रहँदा दीर्घकालसम्म यसको असर पर्ने देखिन्छ । जसलाई न्यूनीकरण गर्नको लागी सरोकारवाला पक्षहरुले समयमा नै उचित कार्ययोजना बनाई कार्यान्वयनमा लैजान ढिलाई गर्नुहुन्न् । यस महामारीबाट बच्नको लागी स्वास्थ्य विज्ञहरुले दिएका उपायहरुको पूर्ण रुपमा पालना गरौं । धन्यवाद !!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।