११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

पूर्ण लकडाउनको बेला एकदिन बुटवल-नुवाकोट हुँदै दोभान नजिकैको झ्याङ्ला गाउँ जाने योजना बनाएका थियौं दलबहादुर गुरुङ, मिन राना र मैले । जाने साइत भने जुरेको थिएन । साउन २१ गते राति जाने हो ? भनेर दलबहादुरले खबर पठाए मेसेञ्जरमा । जाने भनेर छोटो उत्तर पठाएँ । सिद्धबाबा-दोभान खण्डको बाटोमा आफ्नो गाडी लिएर जाने हिम्मत आएन । उतैबाट व्यवस्था गरिएको जिपमा बुटवलबाट दश बजे जाने कुरा थियो । पट्यारिलो पर्खाइपछि साढे बा¥ह बजे बल्ल जिप आयो । जोखिमपूर्ण बाटो पार गरेर एकैछिनमा दोभान पुगियो ।

Advertisement

तिनाउ नदिमा भर्खर निर्माण सम्पन्न भएको पक्की पुल तरियो । पुलको मुखैमा माथिबाट झरेको पहिरोसँगै झरेका ढुंगाको कुरुप थुप्रो थियो । यसपटकको भारि वर्षाको कारण कच्चि सडकको हालत खराब थियो । सिद्धार्थ राजमार्गमा अवस्थित दोभान बजारको ठिक पारिपट्टी छ तिनाउ गाउँपालिकाको केन्द्र । नजिकैको पुरानो ढाक्रे बजार गुल्जार हुँदै रहेछ । गुल्मी, पाल्पा र अर्घाखाँचीबाट नुनतेल, लत्ताकपडा किन्न बुटवल झर्दा भरियाहरु यतै बास बस्थे रे । स्थानीयहरु किनमेलमा व्यस्त देखिन्थे । पासकुण्डा, बुढासटक हुँदै हामी अगाडी बढ्यौं । दोभान मा वि नजिकै अर्को पक्की पुल देखियो लगभग तयारी अवस्थामा । बुटवल-बेलबास-नुवाकोट हुँदै झुम्सा दोभान निस्किने वैकल्पिक मार्गलाई सहज बनाउन यो पक्की पुल बनेको रहेछ ।

तिनाउ गाउँपालिका वडा नम्बर २ मा पर्छ झ्याङ्ला गाउँ । दोभान बजारबाट तीन किलोमिटरको दूरी रहेछ । वडा अध्यक्ष राजेश श्रेष्ठ मेरा पुराना अनन्य मित्र हुन् । एक दशक लामो माष्टरी जीवन बिताएका थियौं सँगै । बेलाबेलामा उनी झ्याङ्लाको नाम लिइरहन्थे कुरा गर्दा । नाम सुन्दा अनौठो लाग्थ्यो । दोभान सेरोफेरोमा धेरैपटक पुगेको छु २०५६ सालयतादेखि । लग्दुवा, श्रीडाँडा, नुवाकोट, सत्यवती ताल र सुकेताल पुगेको छु । मेरा थुप्रै शुभचिन्तक साथिहरु, अभिभावक र विद्यार्थीहरु छन् दोभान र झुम्सामा । पहाडको ग्रामिण परिवेश असाध्यै राम्रो लाग्छ मलाई । गाउँको धुलोमाटोमा लडिबुडी गरेको बालापनका स्मृतिहरु ताजा भएर आउँछन जुनसुकै गाउँ पुग्दा ।

सिर्जनात्मक सोंच भएका जुझारु युवाहरुको सकारात्मक र दीर्घकालिन सोंचले अघि बढेको गाउँ हो दोभान मेरो बुझाईमा । दलबहादुर गुरुङ, वर्तमान वडाअध्यक्ष राजेश श्रेष्ठ, चोपलाल गिरी, अमर प्रधान, विष्णुप्रसाद पाण्डे, लक्ष्मण थापा, पदमलाल शाक्यहरुको निरन्तरको कृयाशिलता देखेको छु मैले वितेका दुई दशकमा । गाउँमा बसेर केहि हुन्न भन्ने पलायनवादी सोंच कहिल्यै देखिन मैले उहाँहरुमा ।

झट्ट सुन्दा नाम परम्परागत लागेपनि अहिले झ्याङ्ला गाउँले ‘स्मार्ट कृषि गाउँ ’ भन्ने विशेषण पाएकोेछ । खासमा अंग्रेजी शब्द हो-स्मार्ट शब्द । कोट, टाई, सर्ट, लोकल जस्ता शब्दहरु जस्तै चलनचल्तीको भाषामा प्रयोग गरिन्छ आजकाल । गएको स्थानीय चुनावताका यो शब्द निकै प्रयोग गरिन्थ्यो । नेता कार्यकर्ताहरु आफ्नो शहर र गाउँलाई स्मार्ट बनाउने भन्दै चर्को भाषण गर्थे । बजवर्ड अर्थात् मूलमन्त्र भएको थियो । सामान्य अर्थमा स्मार्टको अर्थ हुन्छ चलाख । आफु व्यबस्थापनको विद्यार्थी भएको हुँदा अर्कै अर्थमा बुझ्छु । व्यवस्थापन साहित्यमा क्ःब्च्त् पाँचवटा शब्दको छोटकरी रुपमा बुझिन्छ । विशिष्ट (Specific), मापनयोग्य (Measurable), सही (Accurate), यथार्थपरक (Realistic) रसमय बाध्य (Time bound) । खास गरेर व्यवसायिक लक्ष्य कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा स्मार्ट शब्दलाई शुत्रको रुपमा प्रयोग गर्ने अभ्यास छ ।

स्मार्ट कृषिका लागि जलवायु, जल, प्रविधि, पोषण र बजारको क्षेत्रमा समुदायलाई सहयोग गर्ने पाँचवटा आधार तय गरिएको रहेछ । ९८ घरपरिवारले खेती गर्दै आएको ६५० रोपनी जमिनमा कार्यक्रम लागू गरिएको कुरा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष चोपलाल गिरीबाट थाहा पायौं । निर्वाहमूखी परम्परागत कृषिको आधुनिकिकरण गर्दै उत्पादन वृद्धि गरी गाउँलेहरुलाई समृद्ध बनाउने लक्ष्य वास्तवमै सराहनीय छ । ५९ घरपरिवार जनजाती, ३७ बाहुन क्षेत्री र २ घर दलित बसोबास गर्दा रहेछन् झ्याङ्लामा ।

झ्याङ्ला गाउँ जोड्ने मोटरबाटो पहिरोले गर्दा अवरुद्ध थियो । एकैछिन पैदल हिडेर झोलुङ्गे पुल तरेर गाउँको पुछारमा पुगियो । स्मार्ट कृषि गाउँका विशेषताहरु लेखिएको प्mलेक्स बोर्डलाई पृष्ठभूमिमा राखेर फोटो खिचियो । तालिमहल सहितको होमस्टे, अर्गानिक खेतिमा जोड, माछा पकेट क्षेत्र, मगर संस्कृति, सिंचाई सुविधा, सिमसार क्षेत्र संरक्षण, उन्नत प्रविधिबाट तरकारी खेती र पशुपालन, वाईफाइको सुविधा, लोकल कुखुरा पालन स्मार्टउन्मुख कृषि गाउँका विशेषता हुनेछन् भन्ने लक्ष्य रहेछ ।

दुई वर्ष अघि सुरु गरिएको रहेछ स्मार्ट कृषि गाउँ कार्यक्रम । प्रदेशको कृषि मन्त्रालय, कृषि ज्ञानकेन्द्र पाल्पा र तिनाउ गाउँपालिकाको आर्थिक सहयोग रहेछ । अहिलेसम्म सरकारको ८० प्रतिशत र स्थानीयको २० प्रतिशत गरेर करिब ४९ लाखको योजना रहेछ । गतवर्ष संचालित कार्यक्रमको समीक्षा र आगामी वर्षको योजना तय गर्ने औपचारिक कार्यक्रम रहेछ । उहीं पुगेपछि बल्ल थाहा पाएँ मैले । ५ नम्बर प्रदेश सरकारका भूमि व्यवस्था, कृषि एवम् सहकारी मन्त्री आरती पौडेल हाम्रो पछिपछि आइरहेकी थिइन् ।

गाउँलेहरु स्थानीय पञ्चेबाजा गाजा र पूmलमालाले स्वागत गर्न गाउँको पुछारमा रहेको झोलुङ्गे पुलको मुखसम्म आएका थिए । गणतन्त्र आएपनि पञ्चायती शैलीको स्वागत सत्कारमा साँस्कृतिक परिवर्तन किन नआएको होला भन्दै उकालो लाग्यौं । चुरे पहाडको काखमा रहेको गाउँ वास्तबमै रमणिय लाग्यो । बाटोको बायाँतिर सामुदायिक जङ्गल, दायाँतिर सानासाना गरामा लहलहाइरहेको हरियो धानखेती कलकल बगिरहेको पानीको संगीत काला अक्षरका शब्दमा के अभिव्यक्त गर्न सकियोस् र ?

औपचारिक कार्यक्रम शुरु भयो करिब ३ बजेबाट । पहाडी भूभाग भएतापनि गर्मि उखरमाउलो थियो बुटवलको जस्तै । समुदायिक वनको भवनमा कार्यक्रम राखिएको थियो । पङ्खाको व्यबस्था भएतापनि विद्युत आपूर्ती अनियमित थियो । गाउँलेहरुको उल्लेख्य सहभागिता थियो । १०-१२ वर्ष उमेर समूहका केटाकेटीहरु आफ्नै धुनमा गुच्चा खेल्न व्यस्त थिए । सामाजिक दूरी कायम गर्ने र मास्कको प्रयोग थिएननै भन्दा हुन्छ । साना केटाकेटीहरु हातहातमा बिस्कुट, चाउचाउ लिएर ओहोर दोहोर गरिरहेका देखिन्थे ।

मिन राना यिनै साना नानीबाबुहरुसंग रमाइरहेका थिए । दलबहादुर गुरुङ, अमर प्रधान सर र म भने असल स्रोता बनेर पछाडिको लहरमा बस्यौं । लम्बेतान भाषण चलिरहेको थियो । ५ बजे भन्दा अगाडि सकिने छाँटछन्द थिएन । गर्मीले गर्दा लुगा भिजे पसिनाले ।हल बाहिर निस्कियौं पानि पिउन । आयोजकले मास्क वितरण गरे उपस्थित सबैलाई । एकैछिनपछि भाषण गर्ने पालो आयो दलबहादुरको । मिन राना म र कान्तिपुरका पाल्पा संवाददाता माधव अर्याल बाहिर बसेर गफियौं ।

विहान सबेरै खाना खाएको हुँदा पेटमा मुसा दौडिन थालिसकेका थिए । इमान सिंह थापाको घरमा खाजाको प्रबन्ध रहेछ । सेलरोटी, चुकाउनी, माछाको फ्राई एक पिस र बटुकको खाजा खाइयो मिठागरी । साथमा एक एक गिलास स्थानीय कोदाकोे विजुली पानी पनि । अन्य आगन्तुक पाहुनाहरु ५ बजेपछि आए । खाजा खाँदै अनौपचारिक छलफलमा बसियो मन्त्री आरती पौडेल, प्रदेश सभा सदस्य तुलाराम घर्ति (वसन्त), चोपलाल गिरी, राजेश श्रेष्ठ लगाएतसँग । वसन्त दाईले मन्त्रीसँग मेरो परिचय गराइदिनुभयो । बिदा हुनेबेलामा माइती हुनुहुदोरहेछ भन्दै आत्मियता देखाइन् । कोशेली स्वरुप स्थानीय जङ्गलमा प्रशस्त पाइने तामा सबै पाहुनाको हातमा दिए गाउँलेहरुले ।

सभासद वसन्त घर्तिको आग्रहमा त्यहीं बास बस्ने निधो भयो । अगुवा महिलाहरुसंग अन्तरक्रिया भयो सांसद र वडा अध्यक्षको । अन्तरमुखी स्वभावका गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती भने औपचारिक कार्यक्रम सकिएपछि उतैबाट बाटो लागेछन् । हुकुम बहादुर जि सी सरले कोरोना गीत सुनाए । मिन रानाले मादल बजाए ।

झ्याङ्ला प्रवेश गरेपछि कसैकोपनि मोबाइलको घण्टी बजेको थिएन । मोबाइल नेटवर्क राम्रो रहेनछ । सरकारी स्वामित्वको नेपाल टेलिकमको सेवामुखी व्यबहार दुर्गम ग्रामिण क्षेत्रमा प्राय यस्तै नै छ । ग्रामिण दुरसञ्चार कोषको अरबौं रकम केका लागि होला ? भन्ने लागिरह्यो मनमा । प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा तार बिस्तार गरि ०७६ साल माघबाट इन्टरनेट सुविधा पुगेको रहेछ । स्मार्ट कृषिका लागि सुचना र प्रविधि अपरिहार्य हुन्छ । राति करिब आठ बजेतिर हामी बास बसेको इमानसिंह थापाको घरमा वाइफाई थाहा पाएँ ।

कोठा वरपर भन्दा टाढा नटिप्ने रहेछ । दिउँसो खिचेका फोटो राखेर दलबहादुर गुरुङले आज हामी यता छौं, वाइफाई छ मोबाइल नेटवर्क छैन भनेर आफ्नो फेसबुक वालमा पोस्ट गरिसकेका रहेछन् । मैलेपनि अनौठो मान्दै उक्त स्टाटस आप्mनो वालमा श्येयर गरें । यति भएपछि घरमा खबर पुग्यो भनेर ढुक्क भएँ । चोपलाल जी सँग बसेर थप भलाकुसारी गरियो । खाना खाइवरी ११ बजेतिर दलबहादुर र म एउटै खाटमा सुत्यौं ।

विहान उठेर भिरालो पहाडका गराहरुमा लगाइएको धानबाली अवलोकन गरियो । गाउँलाई ६ वटा सेक्टरमा विभाजन गरिएका रहेछ । बसन्त दाई प्रत्येक किसानका घरघरमा पसेर धानखेतीको अवस्था बुझिरहेका थिए । धानमा जराबाट नै बोट सुक्ने रोग लागेको गुनासो सुनियो, देखियो । नजिकैको गाउँपालिका भवनमा कृषि प्राविधिकहरु भएपनि स्मार्ट कृषि गाउँमा उनिहरुको सेवा पुगेको रहेनछ । नेकपाका प्रदेश स्तरीय युवा नेता चक्रव्यूह थापाको घर रहेछ गाउँको पुछारमा । उनको माछा पोखरी अवलोकन गरियो । कञ्चन एफ एम र कञ्चन खबर डट कमका जगिलाल थापाले फोटो खिचे ।

बैदेशिक रोजगारीबाट फर्केका युवा दम्पतिको टनेल खेती अनुभव सुन्यौं । चक्र जी हामीलाई छोड्न पुल सम्म आए । खोला तर्न सघाए । अमर सर र वडा अध्यक्ष मित्र राजेश श्रेष्ठकहाँ चिया पिउन आउँछौं भनेर गरेको वाचा पुरा गर्न सकिएन । संचार सम्पर्क सहज नहुँदा घर पुग्न मन आत्तिइरहेको थियो । एकदिन र रातको छोटोमिठो बसाइ सकेर करिब ९ बजेतिर बुटवल प्रवेश गरियो । सिद्धबाबा नजिक ढुंगा खसेको रहेछ राति । बाटो भने अबरुद्ध थिएन ।

स्मार्ट कृषि गाउँ भनेर परियोजना शुरु भएको छ । गरा सुधार भएका छन् । मिनी टिलर अथात् हाते ट्याक्टरको प्रयोग गर्दा उत्पादन लागत घटेको छ । उत्पादकत्वमा वृद्धि भएकोछ । साँच्चिकै स्मार्ट बनाउन अझै धेरै कुरा गर्नुपर्ने हुन्छ । हजारौं माइलको यात्रा पहिलो पाइलाबाट नै प्रारम्भ हुन्छ । झ्याङ्लाबासीहरुको गाउँ वास्तबमा स्मार्ट बन्नेछ । होमस्टेले आन्तरिक र बाह्य पर्यटक तान्नेछ । मौलिक संस्कृतिको संवद्र्धन हुनेछ । गाउँलेहरुको जीवन समृद्ध बन्नेछ । खुशी छाउनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ: योगेश भट्टराई