ताजा अपडेट »

‘हाकिम’ नहुँदा कामबिहिन भैरहवाको मालपोत

आइतबार, २८ असार २०७७, २० : ३४
36 Shares

भैरहवा । अख्तियारको नजर मालपोत कार्यालय भैरहवामा परे पछि अहिले कार्यालयको काम नै ठप्प रहेको छ । चैत्र महिनामा अख्तियारको बुटवल कार्यालय टोलीले १७ लाख घुससहित ६ जनालाई पक्राउ गरेयता भैरहवा मालपोत कार्यालयमा कर्मचारी बस्नै मानेका छैनन् । सरुवा भएका कर्मचारी पनि यहाँ नआउँदा सेवाग्राहीले सास्ती ब्यवहोर्नु परेको छ ।

चैत्र देखी नै प्रभावित रहेको मालपोतको काम आईतबारबाट ठप्प बनेको छ । कार्यालयमा अधिकृत स्तरका कुनै पनि कर्मचारी छैनन् भने काम गर्दै आएका एक जना नायब सुब्बा पनि बिरामी भएपछि अहिले मालपोतको काम ठप्प बनेको हो । अख्तियारले काम गरिरहेको कर्मचारीलाई मालपोत कार्यालयबाटै लगेर अन्य स्थलबाट घुस सहित पक्राउ गरेको देखाएपछि कार्यालयमा अधिकृत स्तरका कर्मचारीहरु त्रासका कारण आएका छैनन् । अधिकृत स्तरका कर्मचारीहरु कार्यालयमा नआउँदा मालपोत कार्यालय भैरहवा ‘खाली’ हुन पुगेको छ । जस कारण कार्यालयको सेवा पूर्ण रुपमा प्रभावित भएको छ ।

मालपोत कार्यालय भैरहवामा एक जना उपसचिवसहित ३ जना शाखा अधिकृत, २० जना नायब सुब्बा, ५ जना खरिदार, १ जना लेखा अधिकृत, १ जना लेखापाल, ३ जना कम्प्युटर अपरेटर, ७ जना कार्यालय सहयोगी र १ जना हलुका सवारी चालक गरि ४२ जनाको दरबन्दी रहेको छ । कार्यालयमा उपसचिवसहित ४ जना अधिकृतको दरबन्दी रहेको कार्यालयमा अहिले १ जना पनि अधिकृत छैनन् । २० जना नायब सुब्बा मध्ये कार्यालयमा ६ जना मात्र आएका थिए । अधिकृत नहुँदा मालपोतमा पारीत हुनुपर्ने बिभिन्न कागजातहरु पूर्ण रुपमा रोकिएका छन् । करिब ४ महिना देखी मिसिल सम्बन्धि सम्पूर्ण कागजातहरुको काम हुन सकेको छैन ।

लकडाउनपछि खुलेको मालपोतमा अहिले काम नहुँदा सेवाग्राही मर्कामा परेका छन् । असार मसान्तको कारण कारोबार मिलाउन जिल्ला र जिल्ला बाहिरका बिभिन्न ठाउँबाट आएका सेवाग्राहीले कार्यालयप्रति आक्रोश पोखेका छन् । सुर्यपुराबाट राजीनामा पारीत गराउन आएका नवराज पंगेनीले चार दिनसम्म मालपोत धाए पनि काम हुन नसकेको गुनासो गरे । “मालपोतको आजको अवश्था हेरेर सचेत नागरिकको नाताले लाज लागेको छ ।” पंगेनीले भने “लकडाउनले प्रताणित छौ, सार्वजनिक यातायातका साधन चलेका छैनन् यस्तो अवश्थामा जेनतेन कार्यालय आउँदा कार्यालयको अवस्था यस्तो छ ।”

कार्यालय समयमा मोवाईलमा व्यवस्त कर्मचारी

यस्तै बिगत ७ दिन देखी मालपोत धाए पनि काम हुन नसकेको लुम्बिनीका अजमल चुरिहारले गुनासो पोखे । “आमाको औषधी गराउन केहीँ जग्गा बिक्रि गर्नु पर्नेछ ।” अजमलले भने “सिकिस्त बिरामी रहेकी आमाको जेनतेन औषधी गराईरहेको छु, कार्यालयको अवस्था यस्तै रहे कसरी जोगाउन सकिन्छ ?” अजमल र नवराज पंगेनी जस्ता जिल्लाका अधिकांश सेवाग्राहीहरु कार्यालयप्रति रुष्ट रहेका छन् । तर उनिहरुको माग र रुष्टताप्रति स्थानीय प्रशासनले पनि चासो दिएको छैन ।

मालपोत कार्यालयका उपसचिव कुमार आचार्य मालपोत कार्यालय साँखुमा काजमा गए देखी नै कार्यालय लथालिङ बनेको छ । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपसचिव हिक्मत जंग शाहीलाई प्रमुख मालपोत अधिकृतको रुपमा गत बैशाख १० गते नै मालपोत कार्यालय भैरहवामा पदस्थापन गरेपनि उनि अहिलेसम्म कार्यालयमा हाजिर हुन आएका छैनन् । यस्तै कार्यालयका शाखा अधिकृत ईश्वर चन्द्र अर्याल आफैले आफ्नो रमाना पत्रमा हस्ताक्षर गरि सरुवा भई गएका छन् । अर्का शाखा अधिकृत भुमिश्वर ढकाल पनि कार्यालयमा उपस्थित हुदैनन् ।

काम नभएपछि गुनासो व्यक्त गर्दै सेवाग्राही

कार्यालयमा मिसिल र कागजतामा सहि गर्ने अधिकृत नहुँदा अहिले काम ठप्प रहेको छ । फुर्सदिला देखिएका कर्मचारीहरु मोबाइलमा टाईम ब्यतित गर्ने गरेका छन् । भिडभाड हुने कार्यालयका कर्मचारी कोही मोबाईलमै फेसबुक चलाईरहेका हुन्छन भने कोही मोबाईलमै बिभिन्न खेलहरु खेलीरहेको भेटिए । लकडाउन पछि कार्यालय सञ्चालन गरिए पनि अधिकृतहरुको अभावको कारणमा काम नहुँदा सेवाग्राही मारमा परेको नेपाल लेखापढी कानून ब्यवसायी एशोसिएसनका अध्यक्ष भागवत प्रसाद उपाध्यायले बताए । यस बिषयमा पटक पटक बिभागको ध्यनाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको उपाध्यायको भनाई छ ।

यस बिषयमा प्रतिक्रिया लिन खोज्दा जिम्मेवार कर्मचारी कोही नभएको बताउँदै मालपोत कार्यालयका कर्मचारीहरु बोल्न मानेनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।