ताजा अपडेट »

१४ वर्षिय आयुषले गरे सरकारी बालगृहमा आत्महत्या

विहीबार, १८ असार २०७७, ०८ : ३६
4 Shares

बुटवल । रुपन्देहीको बुटवल-१३ जितगढीमा अवस्थित बाल कल्याण गृहमा अभिभावक नभएका, असहाय तथा विचल्लीमा परेका बालबालिकाहरु बस्ने गर्दछन् । बुधबार त्यस ठाउँमा पुग्दा फरक–फरक ठाउँबाट आएका ती बालबालीकाहरु एकै परिवारको जस्तो गरी रमाउँदै बसेको देखिन्थे । एक-आपस बीचको आत्मियता कति छ भन्ने कुरा प्रष्टै अनुमान लगाउन सकिन्थ्यो ।

बालगृहको ब्रण्डामै केही बालबालीका क्यारेम खेलीरहेका थिए भने केही आश्रमको भित्र रहेको टिभी रुममा फ्लिम हेर्दै थिए । सधै साथीहरुसँग रमाउने बालगृहकी आशाको अनुहार भने सधैको जस्तो खुसी देखिएन । बाहिरपट्टी ब्रण्डमा रहेको सिढीमा मलिन अनुहार बनाएर झोक्रिएकी थिइन् आशा वि.क. ।

बाबु आमाले छोडेर दुई जना भाइसहित विचल्ली परेकी आशा आश्रममा बस्न थालेको ४ वर्ष भयो । बाबुले अर्कै आमा लिएर हिँडेपछि आमाले पनि उनिहरुको साथ छोडिन् । आमा पनि अर्कै बुवासँग गएपछि उनिहरुलाई वास्ता गर्न छाडिन् । बिचल्लीमा परेपछि उनीहरुलाई बालगृहमा ल्याइयो । बालगृहमा आफ्ना दुई भाइसहित बस्दै आएकी आसाका ठूलो भाई आयुषले पनि आत्महत्या गरी साथ छाडेपछि उनी थप पिडामा परेकी छन् । उनको कान्छा भाई भने जीवन र मृत्यु बारे बुझिसक्ने उमेर नपुगेर पनि होला अनुहारमा त्यति धेरै परिवर्तन देखिएन ।

यो घटना गत असार १४ गते आईतबार रातीको हो । बाल कल्याण गृहमा वस्दै आएका १४ वर्षिय आयुषले आफ्नो केटी साथीको नाममा ‘सुसाइड नोट’ लेखि आत्महत्या गरेका थिए । गृहमा आयुषसहित २७ जना बालबालिका बस्दै आएका थिए । आईतबार साझ साथीभाईसँगै खाना खाएर अबेरसम्म गफिँदै बसेका आयुषले साथीहरुलाई सुताएर सिलिङ फेनमा झुण्डिए र संसार त्याग गरे । सो रात रातीको खाना खाएपछि अन्य बालबालीका, उनीहरुको रेखदेख गर्ने कर्मचारी छतमा बसी गफ गरेका थिए । ३० मिनेट जति बसेपछि उनीहरुलाई सुत्न भनी हेरालु पनि सुत्न गए ।

सँगै सुतेका आयुषका एक साथीले भने ‘रातको करिव साढे ९ बजेसम्म हामी गफ गर्दै बसेका थियौं, त्यसपछि हामिले रात पर्यो सुतौ भन्दा उसले केही लेख्नुछ, म केहिछिनपछि सुत्छु भन्यो ।’–घटनाको विवरण सुनाउँदै उनले भने ‘पछि म राती साढे १० बजेतिर सौच जानका लागि उठेँ, अँध्यारो कोठामा उसको खुट्टा मेरो निधारमा ठोकियो, मैले आत्तिदै बत्ती बाल्दा आयुष सिलिङ फेनमा तन्नाले घाँटि बाधेर झुण्डिएको थियो ।’

उक्त दृश्यले डराएका उनले हतारहतार हेरालु र अन्य सबैलाई बोलाए । हेरालुले कार्यालयका प्रमुखलाई खबर गरेपछि प्रमुखको जानकारीबाट प्रहरी घटनास्थल पुग्यो । घटनास्थलको अनुसन्धानमा आत्महत्या नै गरेको देखिएको र्ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीत सिंह राठौरले बताए । यद्यपी बालकको पोष्टमार्टम रिपोर्ट आउन बांकी रहेको राठौरले बताए । आयुषले लेखेको सुसाइड नोटमा केटी साथीका नाममा माया प्रेमका कुरा लेखिएको उनले बताए ।

आश्रममा बस्ने अन्य बालबालिकाहरुका अनुसार आयुषका स्वभावमा कहिल्यै नरिसाउने, सबैलाई हंसाउने र सबैसँग राम्रो बोल्ने गर्दथे । भाई अत्यन्तै मिलनसार, सबैसँग राम्रो व्यवहार गर्ने गथ्र्यो, आयुषका दिदीले भनिन्, मृत्युका कुरा गरिराख्ने, सोधीरहने भएपनि तिमीहरुलाई छोडेर जान्न भन्थ्यो । मजाक गर्ने बानी भएकाले भाईको कुरालाई आफूलगायत सबैले हांसोकै रुपमा लिने गरेको आसाले बताइन् । उक्त दिन बिहानैबाट सबैसँग बसी गफ गरेका आयुषले सबैलाई आफूसँग हाँसेर बोल्न भन्दै पटक-पटक आज मेरो अन्तिम दिन हो भन्ने वाक्य दोहोर्याइरहेको गृहका अन्य बालबालिकाले बताए ।

‘हेरालु अंकल, आशा र हामी सबैले सम्झाईरहन्थयौं ।’, उनीहरुले भने, मजाक धेरै गथ्र्यो, तर सांच्चैको मरेर गयो । मृतक आयुषले आफ्नी दिदी र साथीसँग आफू प्रेममा परेको र प्रेमीका विना बाँच्न नसक्ने कुरा गरिरहन्थे । दिदी आशाका अनुसार उनले चिनेकै साथीसँग भाईको प्रेम सम्बन्ध थियो । उनी बारम्बार केटीको कुरा गर्ने, नपाए मर्छु भन्ने गरिरहने आशाले बताइन् ।

यसअघि आयुष गृहबाट भाग्ने गथ्र्यो, आयुषका सोभावका बारेमा जानकारी गराउँदै बाल गृहकी निमित्त कार्यालय प्रमुख कमला ज्ञवालीले बताइन् ‘सम्झाई बुझाई गर्दासम्म ठीक व्यवहार गथ्र्यो, उसलाई सम्झाउन र जिम्मा लगाउन पटक–पटक अभिभावकलाई बोलाईएपनि कोही नआएपछि आश्रममै राखिएको थियो ।’ उनीहरु (आसाका दिदी भाई ) गृहमा ल्याईनुपुर्व जिल्लाकै एक आश्रममा बस्थे । त्यहाँको बसाई राम्रो नभएपछि उनीहरुलाई आमाको जिम्मा लगाउन प्रशासनमा डांकियो । आमालाई बच्चा लैजान र प्रती बच्चा ५ हजार रुपैयां मासिक दिने भनी प्रशासनले छलफल गर्दा समेत आमाले लैजान सक्दिन भनेर टारेपछि ती तीन दिदी भाइलाई बाल कल्याणमा राखिएको हो ।

आश्रममा रहेका उनकी दिदी, भाई र सबै बालबालीका त्रसित बनेका छन् । लकडाउनले विद्यालय बन्द छ । घटना घट्नु अगावै सबै कर्मचारी र साथीभाईले सम्झाईरहने गरेका आयुषले आफ्नो जिवन सानै उमेरमा आवेशमा सिद्ध्याएकाले मानसिक रुपमा बालबालीकामा यस्तो सोंच नआओस् भन्नका लागि सामाजिक विकास मन्त्रालयसँग आग्रह गरी मनोचिकित्सकसँग बालबालीकालाई परामर्श दिलाउने, योगा, ध्यान आदि सिकाउने जस्ता कार्य गर्ने प्रमुख ज्ञवालीले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।