ताजा अपडेट »

सामाजिक सद्भाव : आत्महत्या न्यूनीकरणको पहिलो उपाय

सोमबार, १५ असार २०७७, १७ : १४
22 Shares

विश्वको कतिपय मुलुकमा आत्महत्या सामाजिक दृष्टिमा पाप र कानूनका नजरमा अपराध मानिन्छ । हिन्दू धर्मग्रन्थ अनुसार आत्महत्या गर्ने सोझै नर्क जाने विश्वास छ । आत्महत्या किन र कसरी गर्याे भन्ने कुराको गहिरो अध्ययन अनुसन्धान नै नगरी हलुका तरिकाले बोल्नेहरुका जमात समाजमा बढी हुन्छ । त्यो ब्यक्तिले आत्महत्या गर्नुपर्ने कारणहरु के थियो ? किन आफूले आफैलाई समाप्त गर्न अग्रसर भयो ?आत्महत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? त्यसमा कस्ता अस्वस्थ्य सामाजिक दबावहरुको भूमिका रह्यो ? भन्ने विषयहरुको अध्ययन गरेर समाधानको खोजी नगर्दा आत्महत्या गम्भीर र घातक विषय बन्दै गएको छ । एउटा मान्छेले यो संसारबाट स्वयं सदाका लागि बहिर्गमन गर्नु ठट्टाको कुरा हुँदै होइन । आत्महत्यालाई हलुका मूल्याङ्न गर्नु घोर अबुझपन हो ।

अहिलेको विश्व समाजमा आत्महत्या एउटा महामारी जस्तैः गम्भीर समस्याका रुपमा फैलिरहेको छ । बढ्दो सहरीकरण र आधुनिकीकरणसँगै भित्रिएको विज्ञान र प्रविधिले मान्छेलाई एक्लो र परनिर्भर बनाउँदै लगेको छ भने मान्छे स्वार्थी बन्दै गएको छ । यसले सामाजिक एकता र सामुहिकताको भावनाहरु घट्दै जानेक्रमका साथै र समाजमा ब्यक्तिवादी चरित्र हावी हँुदै गएको छ । जसले गर्दा सोसियल हारमुनी जस्ता कुराहरु संकटमा पर्दै गएको छ । आत्महत्या जस्तो घटनाहरुले महामारीको रुप धारण गरेको देखिन्छ । यसको निराकरण न कुनै भ्याक्सिनको आविष्कार गरेर हुन्छ,न सामाजिक दूरी कायमले नियन्त्रणमा आउँछ न त लकडाउनले नै छेक्छ । सामाजिक सुरम्यता वृद्धि गर्न सक्दा आत्महत्या(सुसाइड)लाई न्यूनीकरण हुन्थ्यो होला कि ? भरखरै मात्र भारतको फिल्म इण्डष्ट्रिमा एउटा राम्रो संभावना बोकेका एक्टर सुशान्तसिंह राजपुतले सुसाइड गरे।

यो अनपेक्षित खबरले भारत मात्र होइन नेपाल लगायत पूरा एसिया नै हल्लियो । उनका लाखौं फ्यानहरु स्तब्ध भए । कतिलाई त पत्यारै लागेन कि उनले यस्तो कदम उठाए । सामाजिक सञ्जालहरुमा उनले सुसाइड गर्नुको पछाडि विभिन्न अड्कलबाजीहरु गरे । कसैले डिप्रेसनको कारणले सुसाइड गरेको अनुमान लगाए । कसैले प्रेम सम्बन्धमा आएको दरारलाई कारण ठाने । कसैले बलिउड फिल्म इण्डष्ट्रिज नै उनको सुसाइडको पूर्णजिम्मेवार रहेको ठोकुवा गरे । उनी जिउँदो हुँदा बालमतलब नगर्ने तर मृत्युपछि भावुक ट्वीटहरु गरी बिलाप गर्नेहरुलाई सक्दो गाली गरे । किनकि त्यो उसको कर्मस्थल थियो जहाँ उनको सपनाहरुले पालुवा हाल्दै थिए । उज्यालो भविष्यको दियो सल्किदै थियो । सपनाका सुन्दर पालुवाहरुले बैंस चुम्न नपाउँदै निमोठिनु पर्याे । दियोले ज्योति फैलाउनु नपाउदै निभ्नु पर्याे किनकि त्यहाँ उनको क्षमता र कलाको सम्मान गर्नेहरुभन्दा उनको सफलतामा जल्नेहरुको भिड बढ्यो ।

सायद उनले अदृश्य षड्यन्त्रको जालोभित्र आफ्ना लक्ष्यहरु अवशान भएको देखे । संकल्पहरु तुहियो । हुन सक्छ यही कारण उनलाई गहिरो मानसिक आघात पर्याे । क्षमता र कलाले आर्जन गरेको एउटा स्वाभिमान नराम्ररी घाइते भयो । जसलाई सहन गर्न जो कोहीलाई कठिन हुन्छ । त्यो संकटको अन्तिम घडीमा उनले भरोसाका हातहरु पाएनन् । दरिलो साथ भेटेनन् । अन्त्यमा आफ्नो ,परिवारको ,समाज र समुदायको सपनाहरुलाई अलपत्र पार्दै सयौं प्रश्नहरुको उत्तर रहस्य मै छोडेर सदाको लागि अस्त भए । सामाजिक सञ्जालहरुमा उनका प्रशंसकहरुले यो भने कि यो असमयको चीरनिद्राको पछाडि सुशान्त एक्लो जिम्मेवार छैनन् । त्यो सिंगो समाज जिम्मेवार छ । जहाँ उनले जीवनका ३४ वटा बसन्त जुगारे । त्यो समाजको प्रवृत्ति जिम्मेवार छ । जसले उनलाई सेल्फ डिस्ट्रोय गर्न बाध्य बनायो ।

बलिउड बुझेका आमदर्शकहरुका दाबी यो छ कि बलिउड फिल्म इण्डष्ट्रिजको ग्रुप्रिज्म , नेपोटिज्ज्म र सिन्डिकेट प्रणाली नै सुशान्तको सुसाइडको कारण हो । “ यो इण्डष्ट्रिमा मेरो कुनै गडफादर छैन । “ कुनै बखत सुशान्तको यो अभिब्यक्तिले यो अन्दाज गर्न सकिन्छ कि संघर्षको मैदानमा उनी एक्ला थिए । सुशान्तमा जीवनको कठिन घडीमा उनले पक्कै सामाजिक साथ, आड, भरोस, हौसला र जीवनवादी परामर्श पाएनन् । उनले आफूलाई नितान्त एक्लो र निसाहाय भेटे । त्यहाँबाट उनमा जीवन र भविष्यप्रति घोर निराशा पलायो । उनी मानसिक रोगी भए । त्यो फिल्म ओैद्योगिक समाजमा सामाजिक सद्भावको खडेरीले गर्दा एउटा होनहार प्रतिभालेबीच सगरबाटै सदाका निम्ति बिलाउनु पर्याे । सुशान्त मात्र यस्ता एक्ला सेलीब्रेटी होइनन् जसले आत्महत्यालाई सारा समस्या समाधानको विकल्प ठाने ।

हास्यब्यंग्यको दुनियाँमा चर्चित अमेरेकी कलाकार रविन विलियम देखि रंग अभिब्यञ्जनाका लागि विश्वले स्मरण गर्ने सुविख्यात महान चित्रकार भिन्सेन्ट भ्यान्गगसम्म र परविन बाँवीदेखि मार्लिन मुनरोसम्मले आफ्नो मूलसमस्या समाधानको विकल्पमा मृत्युलाई रोजे । यही असार ९ गते बझाङमा एकजना ३० वर्षिय युवकले क्वारेन्टिन मै आत्महत्या गरेको खबर छ । उनी सायद बाँच्न कै लागि भारतबाट असाार ६ गते आफ्नो देश आएका थिए । उनले आफ्नो परिवार भेट्न पाएका थिएनन् । न त आफ्नो सुख दुःख बिसाउने चौतारीनै भेट्टाए । भारत वा बाहिरबाट आउनेलाई यो समय यसै त शंकाको दृष्टिले हेरिन्छ । साथसाथै भावनात्मक दूरिबाट टाढा राखिन्छ । सायद त्यही नियम त्यी युवकमाथि लागू गरियो । हरेक तवरबाट क्षीण भैसकेको एउटा ब्यक्तिले पाउनु पर्ने जति सामाजिक सद्भाव र सही परामर्श सायद त्यहाँ पाएनन् र घोर निराशाबाट मुक्ति पाउन युवकले मृत्युलाई रोजे ।

त्यस्तैगरी असारको पहिलो हप्ता उदयपुर बेलका घर भई बिराटनगरलाई कर्मथलो बनाउँदै आएकी स्वेता पोखरेलले सुसाइड गरिन् । नारीको जीवनको एक महत्वपूर्ण मोडको रुपमा लिइने विवाहको टुंगो लागेपछि उनले रोजेको यो दर्दनाक मृत्युवरणको कारण पास्ट लभ अफेयर्स भनिए पनि त्यसको पछाडि सिंगो समाज जिम्मेवार छ । त्यो समाजको प्रवृत्ति जिम्मेवार छ । किनकि उसले बाँच्दै आएको समाज वा अब बाँच्नु पर्ने समाजको प्रवृत्तिले भविष्यमा उनको पास्ट लाइफप्रति धारिलो प्रश्न उठाउने थियो । जसको सामना जेनतेन हिम्मतले थेग्दैन । के निस्वार्थ प्रेम गर्नु नै स्वेताको गल्ती थियो त ? या पूर्वप्रेमी समान हैसियत नहुनु उनको कसुर हो ? आजपनि समाजमा महिलाप्रति जुन किसिमको साँगुरो सोच छ त्यो लाखौंको मृत्युको कारण बन्दै आएका समाचारहरु भेटिन्छन् ।

मनग्य दाइजो नल्याएको निहँुमा परिवारबाट पाएको पीडा र प्रताडना सहन नसकेर कपिलबस्तुमा सुनिताले आत्महत्या गरिन् । सुनिता एक्ली महिला होइनन् । दाइजोको कारण परिवारबाट प्रताडित हुन् । उनी जस्ता हजारौं महिला हाम्रा समाजमा भेटिन्छन् । जसले दाइजोको कारण ज्यान गुमाउनु पर्छ । दाइजो प्रथा यही समाजको उपज हो । जसको कारण हजारौं छोरीहरुले जीवन बलिदान दिनु परेको छ । यता कोरोना भाइरसका कारणले मुलुक पूर्णरुपमा लकडाउन भएदेखि जेष्ठ २७ सम्म नेपालमा आत्महत्या गर्नेको संख्या अहिलेसम्मकै उच्च रहेको नेपाल प्रहरीको तथ्याङ्क बाहिर आएको छ । जव कि त्यो समय कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या जम्मा ६ जना थियो भने सुसाइडरहरु एक हजार एक सय पाँच पुगेका थिए ।

देशको यो तथ्याङ्क निश्चय नै चिन्ताको विषय हो । यो विभिन्न घटना र यो तथ्याङ्कले यति कुरा अन्दाज गर्न सकिन्छ कि मान्छे रोगले भन्दा शोकले धेरै गल्दो रहेछ । चितामाभन्दा मान्छे धेरै चिन्तामा जल्दोरहेछन् । जब कि त्यो सोच वा त्यो चिन्ताको सम्बन्ध कहिं न कहि समाजसँग अवश्य जोडिएको हुन्छ । हरेक ब्यक्ति उसको परिवारसँग जोडिएको हुन्छ । परिवार समाजसँग जोडिएको हुन्छ । जहाँ उसको मनोकांक्षाहरुका धरातलसँग संवेदना, भावना, प्रेम, नाता सम्बन्ध, धर्म परम्परा, संस्कार ,संस्कृति, प्रथा, रीतिरिवाज, शिक्षा, राजनीति, अर्थ, ब्यापार, इज्जत, मानप्रतिष्ठा, मूल्य र मान्यताका प्रत्येक हिस्सा समाजसँग जोडिएको हुन्छ । कुनैपनि समाजको सामाजिक ब्यवहारहरुले ब्यक्तिका यावत विषयहरुमा अवश्य प्रभाव पार्छ । जुन कुराहरुले हरेक ब्यक्तिको जीवनमा विशेष अर्थ राख्छ । यसैको सन्तुलनमा ब्यक्तिहरु चलायमान हुन्छन् र समाज चल्छ ।

जब यी मध्ये कुनै कुरामा असन्तुलन आउँछ,मान्छेमा निराशा बढ्छ । मानसिक आघात पर्छ र मनोरोगी हुन्छन् । जसले गम्भीर दुर्घटनाहरु निम्त्याउँछ । आत्महत्याहरु हुन्छन् भन्नुको तात्पर्य के हो भने ब्यक्तिको कुनै पनि समस्याको पहिलो उठान समाजबाटै हुन्छ । लकडाउनको अवधिमा सुसाइडको दर ह्वात्तै वृद्धि हुनुमा सामाजिक दूरि बढ्नु नै हो । कोरानाको त्रासले जब मान्छेहरु घर घरमा थुनिए । सामाजिक संघुलनतामा समस्या आयो । आर्थि , सामाजिक समस्याहरु बढ्दै गए । त्यसलाई सम्बन्धित ठाउँ, आफन्त, साथीभाइ र सहयोगीहरु माझ शेयर गर्न सकेनन् । मान्छेहरुमा घोर निराशा छाउन थाल्यो । आफूलाई एक्लो र उपायहीन महसुस गर्न थाले । उनीहरुलाई साथ, आड भरोसा सान्त्वना दिने कोही भएनन् । समस्या समाधानको मार्गहरु देखेनन् । आफूलाई निर्विकल्प भेटेपछि आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

फ्रान्सका विख्यात समाजशास्त्री इमाइल दुर्खिमका अत्यन्त नजिकका साथी भिक्टर होमेले जब आत्महत्या गरे । उनलाई गहिरो चिन्ता पर्याे । जसले गर्दा दुर्खिम सुसाइडको आनुभाविक अनुसन्धान गर्न समाज भ्रमणमा निक्लिए । विश्वको विभिन्न समाज चहारे ,खोतले र विभिन्न तथ्यहरु पत्ता लगाए । सुसाइडको सम्बन्धमा उनले भनेका छन् की “ आत्महत्या जस्तो निजी परिघटना केवल ब्यक्तिको सोचको संचित परिणाम मात्र नभइ त्यसलाई निर्माण गर्ने सामाजिक व्यावहारको आधारमा निर्भर हुन्छ ! किनकि हरेक ब्यक्तिको ब्यक्तिगत भावना मूल्य मान्यता र विचार उसले बाँचेको समाज र सामाजिक सहभागिताबाटै उब्जिने हो । ” उनले समाजमा भेटिने फरक फरक प्रकृति र परिस्थितिमा हुने आत्महत्या सम्बन्धि गहिरो खोज र अनुसन्धान गरी यो निचोड निकालेका हुन् । यस विषयमा ’ सुसाइड ’ नामक प्रख्यात पुस्तक नै लेखे । दुर्खिमका अनुसार समाजमा भेटिने आत्महत्या चार प्रकार हुन्छन् । जसको उद्भव समाजबाटै हुन्छ ।

१ परोपकारबादी आत्महत्या ( Altruism Suicide)
२ अहमबादी आत्महत्या (Egoism Suicide)
३ भाग्यबादी आत्महत्या ( Fatalism Suicide)
४ मान्यताबिहीन आत्महत्या (Anomic Suicide )

दुर्खिमले यी चार प्रकारका Suicide मा सामाजिक एकताको अवस्थाको उच्चता र न्यूनताका तथ्यहरु प्रस्तुत गरी आत्महत्याको समाजशास्त्रीय सिद्धान्त नै प्रतिपादन गरे । यी सबै प्रकारका सुसाइड सामाजिक सोच र ब्यवहारबाटै निर्मित मानसिकताका अलग अलग चित्र हुन् । यदि हामीले दुर्खिमको सिद्धान्तलाई मान्ने हो भने आत्महत्या केवल मानसिक रोग मात्र नभई सामाजिक ब्यवहारको उपज हो । जसलाई सामाजिक सद्भावकै उपचारले निदान गर्न सकिन्छ ।मनोचिकित्सक डा. सरोज प्रसाद ओझा भन्छन् “ डिप्रेसनकै कारण मान्छेले आत्महत्या गर्छ तर डिप्रेसनको सुरुवात् भने कुनै न कुनै घटनाबाटै हु्न्छ । जसले उसको सामाजिक जीवन र ब्यक्तिगत आकांक्षामा सिधै प्रभाव पारेको हुन्छ ।”

समाज साँच्चै बलियो छ तर त्यही बलवान समाजमा सोसियल हारमुनी कमजोर रहँदा अनेक दुर्टनाहरु घट्ने गर्दछ । यही जेष्ठमा घटेको रुकुम जाजरकोटको जातीय प्रथालाई लिएर भएको घटना एउटा उदाहरण हो । असमानतामूलक सोचबाट निर्मित सामाजिक ब्यवहारको डरलाग्दो एउटा चित्र हो । समाज कै डरको कारणले आजभन्दा करिव १५ वर्ष अघि नेपाली नायिका श्रीषा कार्कीले पर्सनल भिडियो प्रकरणका कारण आत्महत्या गर्नुपर्याे । तर त्यसको ठिक १२ वर्ष पछि त्यस्तै प्रकृतिको सेक्स भिडियो भाइरल हुँदा समाजको र अधिकारकर्मीहरुको दरिलो साथ पाएर नेपाली चलचित्र क्षेत्रकी नायिका नम्रता श्रेष्ठले सुसाइड गर्नु परेन । अहिले उनी एउटा राम्रो र सेलेक्टेड नायिकाको रुपमा स्थापित भएकी छिन् ।

समयका विभिन्न कालखण्डहरुमा सभ्यताका र सामाजिकताको विभिन्न चरणहरु पार गर्दै आएको समाजले विश्वमा अनेकौं सुन्दर र कुरुप ईतिहासहरु रचेको पाइन्छ । आत्महत्याका बिभिन्न घटना र विषयहरु केलाउँदा के भन्न सकिन्छ भने सुसाइट सामाजिक घटना हो । मानव जीवनमा प्रभाव पार्ने वृहत् तथा सूक्ष्म सम्पूर्ण सामाजिक संस्था र तिनैको सामाजिक ब्यवहारले मान्छेको मनस्थितिलाई फेरबदल गरिदिन्छ । त्यसमा देश कालपरिस्थितिको थोरबहुत भूमिका रहन्छ । यी कुराहरुमा ब्यापक असन्तुलनको अवस्था आयो भने मान्छेमा घोर निराशा र त्रास जाग्न सक्छ । त्यसलाई सन्तुलनमा ल्याउन नसक्दा वा विकल्पहरु नपाउदा मानव आत्महत्याको बाटो तिर अग्रसर हुन्छ ।


समग्रमा यो भन्न सकिन्छ कि मान्छेलाई आत्महत्याको तहसम्म पुराउने कारक तत्व नै उ बाँचेको समाज हो । समाजको विभिन्न चरित्रहरुले मानिसको मानसिकतामा गम्भीर असर पुर्याएको हुन्छ । हरेक सुसाइडका घटनाहरु घट्नुमा सामाजिक प्रवृतिको नै उत्प्रेरक भूमिका रहन्छ । यसको निराकरण सामाजिक प्रयासबाटै सफल हुन्छ । त्यसको सर्वोत्तम उपाय सोसियल हारमुनी हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।