ताजा अपडेट »

सडकको बेहाल : गाडी गुडाउने सपना तर खच्चड हिँड्न मुस्किल

शनिबार, १३ असार २०७७, २३ : ४०
6 Shares

जाजरकोट । भिरालो जमीन र बलौटे माटोका कारण जाजरकोटलगायत कर्णाली प्रदेशका अधिकांश जिल्लामा विकास निर्माणको काम छिनभरमै विनाश हुने गरेको छ । जथाभावी डोजर प्रयोग गरेर निर्माण गरिएका सडकहरु वर्षायामको झरीसँगै छिनभरमै बग्ने गरेका छन् । असार महिनामा मात्र बढी डोजरहरु प्रयोग गरी सडक तथा अन्य विकास निर्माणका काम हुँदा वर्षाको झरीसँगै अधिकांश सडक बग्ने गरेको छ ।

जाजरकोटको बारेकोट, शिवालय, जुनिचाँदे, कुशे गाउँपालिका, छेडागाड, भेरी र नलगाड नगरपालिकाभित्रका अधिकांश नयाँ सडकहरु वर्षाको झरीसँगै सडकहरु बगेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै डोजर चालकले आफैँ इन्जिनीयर भएर गाउँपिच्छे लगिएका सडकहरुमा अहिले खच्चडसमेत चल्न मुस्किल भएको छ । गाउँगाउँमा सडक लिएर हिँड्ने दुःखबाट उन्मुक्ति पाउने आशा व्यक्त गरेका स्थानीयवासी सडकले नै खेतीयोग्य जमीन बगाउँदा हैरान भएका छन् । जथाभावी सडक लिएर धानबाली लगाएको खेत पुरिदिएपछि शिवालय गाउँपालिका–५ की पानसरी रेग्मीले पहिराले पुरिदिएको खेतमा गई निराश भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै दुःख गरेर खेतमा धान रोपियो, तर अहिले सडकबाट आएको पहिरोले पुरिदिएपछि कसलाई के भन्यौँ र ।” उहाँका अनुसार गाउँगाउँमा खनिएका सडकले घरहरु समेत जोखिममा परेका छन् ।

गाउँको टाठाबाठाहरुले डोजर चालकलाई आफू अनुकूल बिनाप्राविधिक स्टिमेट सडक घुमाउन लगाउँदा समस्या भएको हो । गाडी गुड्ने सपनाका साथ खनिएका सडकहरुमा खच्चड नै चल्न नसक्ने अवस्था आएपछि गाउँगाउँका स्थानीयवासी हैरान भएका छन् । जुनिचाँदे गाउँपालिका–१ काप्रा, बेसीपाटा, पन्चाला हुँदै जुनिसडक खण्डको लोड्नेलगायत दर्जन ठाउँमा मापदण्ड विपरीत सडक निर्माण हुँदा गाडी चल्न सक्ने अवस्था नरहेको स्थानीयवासी रेशम खड्काले जानकारी दिनुभयो । निर्माण व्यवसायीको चरम लापरवाही र सरोकारवाला निकायले चासो नदिँदा यो सडकखण्डमा यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल भएको हो । यही ठाउँमा हप्ता दिनअघि जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका थिए । त्यस्तै भेरी नगरपालिका–२ रिसाङबाट बाहुनथानासम्मको सडकमा दैनिक यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल हुँदै आएको छ ।

नलगाड नगरपालिकाको नलगाड जलविद्युत् आयोजनाले निर्माण गरेको कालीमटी–सिर्के सडकखण्डमा पानी पर्ने बित्तिकै यातायातका साधनहरु चल्न सक्ने अवस्था नरहेको स्थानीयवासी नरेन्द्र ओलीले जानकारी दिनुभयो । जथाभावी ठाडो डाँडामा (काल्लो) सडक खन्दा यातायातका साधनहरु सञ्चालन गर्न मुस्किल भएको हो । त्यस्तै बारेकोट गाउँपालिकाले निर्माण गरेका आन्तरिक सडकहरुमा समेत यातायातका साधनहरु चल्न सक्ने अवस्था कमजोर रहेको छ । यहाँ निर्माण भएका सडकहरु डोजरबाट खनिएका कारण ठाउँठाउँमा पहिरो जाँदा यातायातका साधनहरु, (खच्चड) चल्न सक्ने अवस्था कमजोर भएको हो । छेडागाड नगरपालिकामा समेत आन्तरिक रुपमा निर्माण गरिएका सडकहरु दुई हप्तादेखि परेको अविरल वर्षाले सबै क्षतविच्छेद पारिसकेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट दिनमा निर्माण गरिएका सडकहरु बेलुकी परेको पानीले बगाउँदा, निर्माण गरिएका सडकहरु निर्माण नगरे झैँ भएको रोजगार संयोजकहरुले बताएका छन् । दैनिक खटिएर सडक निर्माण गरिएको छ तर झरीसँगै गएको पहिरो र भलले सबै बगाउँदा प्रतिफल दिन नसक्दो रहेछ शिवालय गाउँपालिकाका रोजगार संयोजक प्रकाश पौडेलले बताउनुभयो ।

बर्सेनि खडक खन्दै, पुर्दै

जाजरकोटलगायत कर्णाली प्रदेशका अधिकांश स्थानीय तहमा निर्माण भएका सडकहरु बर्सेनि निर्माण गर्दै र वर्षायाममा पुर्दै गर्दा करोडौँको आर्थिक नोक्सान हुँदै आएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी निर्माण गरिएका सडकमा हिउँदयाममा समेत मुस्किलले जीपहरु सञ्चालन हुने गरे पनि वर्षायाममा पूरै ठप्प हुने गरेका छन् । विभिन्न स्वार्थका कारण जथाभावी र माटो जाँचबिना नै खनिएको सडकले अधिकांश ठाउँमा विनाशसमेत ल्याएको छ । भारी जमीनमा पहिरो तथा भूक्षयसमेत गएको छ । जसले गर्दा धेरै खेतीयोग्य जमीन मासिएको पाइएको छ ।

प्रदेशबाट निर्माण गरिएका सडक तथा विकास निर्माणका अधिकांश ठाउँमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पहुँचको भरमा योजना दिँदा लथालिङ भएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले पठाएको योजनाभन्दा अर्कै योजना स्वीकृत भएर आउँदा काम गर्न गाह्रो भएको कार्यालयका कर्मचारीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।