ताजा अपडेट »

भर्चूअल नेटवर्कमा सिर्जना विमर्श

सोमबार, ०८ असार २०७७, २० : १८
14 Shares

कोरोना कहर । अर्थात् यसलाई गाउँघरतिर ‘कोरोला’ वा ‘कोरोन्दा’ पनि भन्छन् । ‘क्वारेन्टीन‘लाई ‘कुरिनटार’ भन्छन् । गाउँघरतिर उतिबेला चर्पीमा प्रयोग गरिने ‘साइफन’लाई ‘सुइबिन’ भन्थे । टिभीमा फिल्म हेरेर घर फर्किएपछि ‘फिलिङ्गो’ हेरेर आएँ भन्थे । कतिपय नयाँ शब्दहरु जनजिब्रोमा सजिलै बस्दैनन् । कहिल्यै नसुनिएका शब्दहरु बसिहाल्ने कुरा पनि भएन । विश्व यही ‘कोराना’, ‘कोरोला’ वा ‘कोरोन्दा’को ‘फिलिङ्गो’ले आक्रान्त छ । अर्थात् नेपाल पनि यो रोग, भोक र आतंकले थलिएको छ ।

कतिपय क्वारेन्टीन ‘बधशाला’ वा ‘मृत्यकक्ष’ जस्तै बन्यो । मानव सभ्यताको इतिहासमा मान्छेलाई पिञ्जराभित्र थुन्यो । आफूलाई मानव सभ्यताको उत्कृष्ट सामाजिक व्यवस्था भन्ने पूँजीवाद नै सबैभन्दा हायल–कायल बन्यो । पूँजीवादी विश्व अर्थव्यवस्था टाट पल्टियो । प्रकृति र मानवजातिको जीवन रक्षा गर्न पूँजीवाद पूर्णतः असफल भयो । पूँजीवादले आफूलाई नयाँ–नयाँ रोग र मृत्यु उत्पादन गर्ने कारखाना भएको पुष्टि गर्यो । सत्ताको मात र दम्भको पर्खालभित्र बाँचिरहेको सहर यसबाट निकै थिलो–थिलो बन्यो । यी सबै घटनाक्रमहरुले के पुष्टि गर्यो भने जनताका लागि कोरोना भन्दा पूँजीवादी व्यवस्था बढ्ता घातक र खतरनाक भाइरस देखियो ।

कोरोनाको सबैभन्दा ठूलो कहर मजदुर वर्गमा प¥यो । मजदुरहरु हप्तौं दिनसम्म भोकै पैदल हिँडेर घर पुगे । दशगजामा थुनिएका नेपालीहरुको हृदयविदारक रोदनले सरकारलाई दुखेन । भारतबाट १८ किलोमिटर हिँडेर दशगजा आइपुगेका धनुषाका वीरेन्द्र गुर्मैता यादव र अर्घाखाँचीका युवा कृष्णबहादुर गैरेले दशगजामा नै जीवन गुमाए । इन्द्रबहादुर खत्रीहरु महाकालीमा फाल हालेर जसो–तसो देश त छिरे तर, दुव्र्यवहार भोग्नुपर्यो। सिंहदरवारको नाकैमुनि सूर्यबहादुर तामाङहरु भोकले ढले । अछामका सिद्धार्थ आउजुले आत्मदाह गर्न बाध्य भए । पूँजीवादी सरकार जनताको जीवनप्रति असाध्यै निष्पृह र संवेदनहीन देखियो ।

जनतालाई लकडाउनको पर्दाभित्र थुनेर माफियाहरुको गिरोहले ठूलो धन्दा चलायो । त्यो औषधि खरिद प्रक्रियामा गरिएको करोडौं भ्रष्टाचार होस् वा राहत वितरणमा गरिएको अर्बौ अनियमितता । यो अवधिमा घिनलाग्दो सांसद अपहरणकाण्ड, रूकुम नरसंहारदेखि देशभर नृशंस हत्या, आत्महत्या, बलात्कारको शृङ्खला चल्यो । एमसीसी र भ्रष्ट सरकारविरूद्ध जनआक्रोश चुलियो । विद्रोही नेकपाले सरकारी दमनको प्रतिरोधात्मक सङ्घर्ष बाहेक आक्रामक कारवाही नगर्ने घोषणा गरेपनि धरपकड र गिरफ्तारी जारी राख्यो । यी घटनाहरूले वली नेतृत्वको नक्कली ‘कम्यूनिष्ट’ र कथित ‘समाजवादी’ सरकार नाङ्गैभुतुङ्गै भयो ।

भर्चूअल विमर्श र सिर्जना
कोरोनाको त्रासदपूर्ण परिवेश, क्षण–क्षणमा सङ्क्रमित र मृत्युको समाचार, सहरका मजदुर तथा श्रमजीवीहरु कैदीजस्तै बन्द कोठाभित्रको मानसिक र शारीरिक यातना खपेर बसिरहेको समयमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीले फेसबुक भर्चूअल संवाद सुरू गर्यो । हामीले यसलाई सिर्जना र छलफलको चौतारी बनायौं । यो ज्ञानको आदान–प्रदान र विमर्श गर्ने स्कूल बन्यो । विमर्शमा १९ वटा शृङ्खला सम्पन्न भए । १६ वटा पुस्तकमाथि टिप्पणी र समीक्षा र २० वटा सामयिक शीर्षकमा विमर्श भयो । यसवीचमा २ वटा समीक्षा भयो । छलफलमा सुष्मा, विहानी, ममता, संयोग, आत्मा, पारश, लिला, देवराज, चाहना, रेष्माले बिषयको जिम्मा लिएर सक्रियतापूर्वक भाग लिनुभयो । करिब २ दर्जन साथीहरु छलफलमा जोडिनुभयो । मोडियटरको मुख्य भूमिका विहानीले गर्नुभयो । विमर्शमा प्रस्तुत गरेका बिषयहरु निकै महत्वपूर्ण रहे ।

पहिलो चरणको विमर्शमा हामीले माक्सिम गोर्कीको जीवनी, आमा उपन्यासको चर्चा, ‘कविता र नयाँ पुस्ता’, ‘जनयुद्धकालिन सिर्जना अनुभूति’, कृष्णसेन इच्छुकको जीवनी र रचना, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, लालतारा सांस्कृतिक परिवार, बडिघात सांस्कृतिक परिवार, रेसुङ्गा सांस्कृतिक परिवार हुँदै क्षितिज परिवारको इतिहासदेखि वर्तमानसम्मको चर्चा र डायस्पोरा साहित्यसम्मको चर्चा गर्यौं । हामी कार्यक्रममा निकै उत्साहित भएर सहभागी भयौं । हामीलाई कविता, गीत, नृत्यकला, सङ्गीत, सिर्जना अनुभूति र पुस्तकमाथिको छलफलले आकर्षित गर्यो । हामीले भर्चूअल विमर्शलाई सिर्जनात्मक संवाद चौतारीको रुपमा उपयोग गर्यौं । सिर्जनालाई हृदयमा महसुस गर्यौं। हरेक सिर्जनामा आफ्नै जीवनका अनुभव र अनुभूति पायौं । प्रत्येक कविताको नदीसँग सँगसँगै बग्यौं, संस्मरणको स्मृति सँगसँगै यात्रा गर्यौं । गीतहरुले मस्तिष्कहरु झङ्क्रित भएपछि हाम्रा ओँठहरु सँगैसँगै गुनगुनाए । गीत–संगीतको लय र मुच्र्छनाहरुमा हाम्रा कुर्कुच्चाहरु हल्लिए । अर्थात् हामीले ती सिर्जनाहरुमा जनताका दैनिकी र आफ्नै जीवन जोडिएको अनुभूत गर्यौं ।

दोस्रो चरणको विमर्शमा हामीले ‘रक्तरञ्जित परिवारको इतिहास र वर्तमान’, ‘गाउँमा लकडाउन र सिर्जना’, ‘झुल्केघाम साहित्यिक पत्रिकाको समीक्षा’, ‘बुटवलको साहित्यिक अनुभूति’, ‘नृत्यकला र सङ्गीत’, ‘क्षितिज परिवारसँग साङ्गितिक कार्यक्रम’, ‘लकडाउनमा सिर्जना’ शीर्षकमा १३ वटा गीत, १० वटा कविता, ‘माओको जीवनका रोचक प्रसङ्ग’, निकोलाई ओस्त्रोभस्कीको ‘अग्निदीक्षा’, फेङ्ग चिहको ‘दुश्मनको अखडाभित्र’, लो कुआङ्ग–पिन/याङ्ग यि–येनको ‘रातो चट्टान’, याङ् मो को ‘युवाहरुको गीत’, न्यून न्होकको ‘अजम्बरी गाउँ’, मोहनविक्रम सिंहको ‘पेमालामा प्रश्नोत्तरमाला’, लि शिन–तियनको ‘चम्किलो रातो तारा’, मोहनविक्रम सिंहको ‘धरतीको पूर्व इतिहास’ आदि पुस्तकमाथि चर्चा गर्यौं । त्यसैगरी ‘पार्टी स्कूलिङ र सिर्जना यात्रा’, ‘प्रतिबन्धपछि क्षितिज परिवारको साङ्गितिक यात्रा’, कोरोना कहर, लिपुलेक र राष्ट्रियता आदि शीर्षकमा चर्चा गर्यौं ।

तेस्रो चरणमा ‘सामना परिवारसित साङ्गितिक यात्रा’, ‘चे ग्वेभाराको जीवनी र सङ्घर्ष’, ‘कम्युनिस्ट घोषणापत्र’, ‘लुम्बिनीमा जनसांस्कृतिक यात्रा’, ‘पारिजातको जीवनी र सिर्जना’, जुलियस फ्युचिकको ‘झुण्ड्याउँदा झुण्ड्याउँदै’, अनिल बार्बेको ‘थ्याङ्क्यु मिस्टर ग्लाड’, चुनु गुरूङको ‘बेलिसरा’, सहिद डिबी थापाको जीवनी र सङ्घर्ष, योगमायाको जीवनी, ‘सिर्जना दलित आन्दोलन’, राष्ट्रघाती एमसीसी सम्झौता, अमेरिकी जर्ज फ्लोएडको हत्या र रूकुम पश्चिमको नरसंहार आदि बिषयमाथि छलफल गर्यौं ।

हामीले विमर्शमा इतिहासदेखि वर्तमानसम्मको सिर्जनात्मक समीक्षा, पुस्तक चर्चा, सामयिक बिषयहरुमाथि परिचर्चा गर्यौं । सिर्जना सम्प्रेषण र अन्तरङ्ग गर्यौं। फ्रान्सिस वेकनको एउटा प्रेरक भनाइ छ–“केही पुस्तक चाख्न लायक हुन्छन्, केही पुस्तक चपाउन लाइक हुन्छन्, केही पुस्तक निल्न लायक हुन्छन् र केही पुस्तक पचाउन लायकका ।” वेकनले भनेजस्तै यो विमर्शको क्रममा हामीले केही चाख्न लायक, चपाउन लायक, निल्न लायक र पचाउन लायक बिषय र पुस्तकहरुमा छलफल गर्यौं । हामीले असारको २ गते विमर्शको औपचारिक समापन गर्यौं । हाम्रा सिर्जनाको स्रोत भनेका श्रमजीवी वर्गको पसिना, आँधीमय सङ्घर्ष र बलिदानीपूर्ण इतिहासहरु थिए । वर्गविहीन र शोषणमुक्त मानवसभ्यता सहितको सुन्दर समाजको परिकल्पना थियो । ती सिर्जनाहरु स्वभाविक रुपमा आफैमा एउटा विचार हो । मैले विमर्शको गुण, दोष र उपलब्धीबारे सङ्क्षिप्त बुँदागत चर्चा गर्दछु –

विमर्शका गुण पक्ष–
१.प्रविधि आफैमा असल र खराब हुँदैन । यसको प्रयोग कसरी गरिन्छ ? त्यसरी नै यसको असल र खराबको प्रभाव देखिने हो । हामीले कोरोना कहर र बन्दाबन्दीको समयमा फेसबुके चिन्तनबाट माथि उठेर ज्ञानको विमर्श गर्यौं । अर्थात् भर्चूअल दुनियाँमा समय र प्रविधिको उच्चतम प्रयोग गर्यौं।

२. भर्चूअल विमर्शले हाम्रो भौतिक र भावनात्मक दुरीलाई कायम राख्यो । हामीलाई विमर्शले निकै व्यस्त बनायो । विस्मृतिमा गइसकेका पुराना घटनाको स्मृति गरायो । हामीले इतिहासका पन्नाहरु पल्टायौं । पुस्तक अध्ययन, लेखन र सिर्जनामा जोड दियौं । आफैलाई समीक्षा गर्ने अवसरका रुपमा लियौं । विमर्शले ज्ञानको आदानप्रदान गर्यो। यसले सिक्ने र सिकाउने अर्थात् प्रशिक्षित हुने अवसर दियो । हामी कहिले ज्ञानको जटिल गहिराईमा डुबुल्की मार्यौं । कहिले रोचक प्रसङ्गहरु सुनेर उद्देलित भयौं ।

३. गाउँको दुरदराजमा बसेर डाटाको महङ्गो खर्च र नेटवर्कको समस्याका बावजुद पनि विमर्श सम्पन्न भयो । अर्थात् पूर्व निर्धारित योजना पुरा गर्यौं। विमर्शले थप नयाँ ज्ञानको खोजीतर्फ उत्सुक बनायो । हाम्रा मस्तिष्कहरु अझ सक्रिय भए । विगतमा छुटेका अध्ययन, लेखन र सिर्जनाका कामहरु यसक्रममा सम्पन्न भए ।

विमर्शका दोष पक्ष–
१. बिषयगत क्षमता र रूचि हुँदाहुँदै पनि विविधि कारणले विमर्शमा थुप्रै साथीहरुलाई सहभागी गराउन सकिएन । अहिलेको भिन्न र प्रतिकूल परिवेश नै यसको मुख्य कारण रह्यो । विमर्शमा लकडाउनले अध्ययन सामग्रीको अभाव हुन पुग्यो । अर्थात् पुस्तकहरु पनि बन्दाबन्दीमा परे । जसका कारण थुप्रै बिषयहरु छुट्न गए ।
२. सिर्जनाका लागी भर्चुअल नेटवर्क पर्याप्त छैन । यसका लागी भौतिक अन्तरक्रिया र क्रियात्मक हुन जरूरी छ । किनकी सिर्जनाको स्रोत भनेको श्रम हो । अर्थात् व्यवहारबाट प्राप्त हुने सिर्जनालाई फेरि व्यवहार वा श्रमसित जोड्न जरूरी छ ।

विमर्शमा सिर्जनात्मक उपलब्धि
१. हाम्रा कविता, गीत, अनुभूति, सङ्घर्ष र पुस्तकमाथि टिप्पणीमा अत्याचारी इतिहास र वर्तमानप्रति भयङ्कर क्रोध र आक्रोश अभिव्यक्त भयो । अर्थात् हाम्रा सिर्जनामा इतिहासका गौरवमय दिन, सपना ढलेको चित्कार र नयाँ आशाका क्षितिजहरुको मिश्रित स्वरहरु अभिव्यक्त भए ।

२. हाम्रो सिर्जनाका पछाडी आफ्नै पृष्ठभूमिहरू जोडिएका छन् । हामी दुःख, कष्ट र सङ्घर्षको इतिहास बोकेर आएका हौ । हामी धेरैथोरै जनयुद्धको रापतापमा हेलिएर अर्थात् वर्गसङ्घर्षको त्यो मनोविज्ञान बोकेर हुर्किएका पुस्ता हौं । हामी शान्ति प्रक्रियापछिको धोकाघडी र प्रतिक्रान्तिको तितो क्षण भोग्दै जनयुद्धका सपना क्षतविक्षत भई ढलेर लडेका घाइते पुस्ता हो । शान्तिप्रक्रियाको नाममा जनयुद्धका गौरवमय आदर्श, बलिदानीपूर्ण इतिहास र सम्पूर्ण सपनाहरुमाथि गद्दारी गर्ने ती पाखण्डीहरुको अपराधपूर्ण धुरीमा ढुङ्गा हानेर नयाँ क्रान्तिको झण्डा उठाएका पुस्ता पनि हौं । हामीसित तिनै सपनाहरु छन् जसलाई हिजो प्रतिक्रियावादीहरुले घृणा र अपमानले दुत्कार्थे । हाम्रो छलफल र सिर्जनामा यही भाव उद्वेलित भएर आए । सिर्जनामा क्रान्तिप्रतिको चिन्ता, विश्वास र प्रतिबद्धता सँगसँगै घोलिए ।

३. हामी प्रतिक्रियावादीहरुको दृष्टिमा सफल मान्छे होइनौं । किनकी हामी उनीहरुको भक्तिगान गाएका छैनौं, न त चारणगीत नै गाएका छौं । कहिले हामी भोको बसौंला, कहिले हामी मैलो तर विचार वा क्रान्तिप्रति प्रतिबद्ध छौं । त्यही कारण हाम्रा विरुद्ध गुप्तचर खटाइएको छ, विचारमा प्रतिबन्ध छ र हाम्रा सहयोद्वाहरु अहिले जेल हिरासत हुनुहुन्छ । तर हामी सपनाहरुबाट विचलित छैनौं । हामीलाई सहिदको रगतले भिजेको झण्डालाई झुक्नदिने छुट छैन । हामीले सपनाहरुलाई सिंहदरवारको सरकारी फाइलसित साटेका छैनौं । सहिद, घाइते, अपाङ्ग, बेपत्ता योद्वाहरुको रगत र सपनालाई पेरिसडाँडाको मसानघाटमा सेलाएका छैनौ । न त कुनै भट्टी पसलसित साट्यौं । हामीलाई आफ्नै पसिना र सपनाप्रति गौरव छ । हाम्रा सिर्जना र अनुभूतिहरुमा यही भाव अभिव्यक्त भएका छन् ।

म फेरि पनि भन्छु– भर्चूअल विमर्श हाम्रो सिर्जना, अनुभूति, पुस्तकमाथि छलफलको चौपारी बन्यो । विचार सम्प्रेषण, ज्ञान र अनुभूतिको आदानप्रदान र नयाँ कुरा सिक्ने स्कुल बन्यो । सिर्जनाको नयाँ कारखाना बन्यो । कोभिड १९ को त्रासदी र लकडाउनको कैदीबाट मुक्त हुने प्रयास बन्यो । तर, सिर्जनाका लागी भर्चुअल नेटवर्क पर्याप्त छैन । अझ भौतिक अन्तरक्रिया वा सिर्जनालाई क्रियात्मक बनाउन जरूरी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।