ताजा अपडेट »

के पाईस नेपाली केरा ?

शनिबार, ३१ जेठ २०७७, १६ : ०५
112 Shares


स्वस्फूर्त भनिएको आन्दोलनमा युवाहरुले बोकेको प्लेकार्डमा यस्तो लेखिएको थियो–के पाइस नेपाली केरा ? आन्दोलन गर्न पाउनु लोकतान्त्रिक अधिकार हो । आन्दोलनकै कारण नेपालमा राणा,पञ्चायत,राजाको प्रत्यक्ष शासन ढलेकै हो । कोही द्विविधामा पर्नुपर्ने कारण नै छैन । सडक तताउनेले सडक,सदन तताउनेले सदन तताउनु कुनै नौलो कुरै होइन । नेपालको इतिहासमा सडकदेखि सदनसम्म आन्दोलन चलेकै हो । यही आन्दोलनको परिणाम नै आजको लोकतान्त्रिक गणतन्त्र हो ।

तर युवाहरुले गरिएको भनिएको आन्दोलनमा लेखिएको उक्त नाराले के सन्देश दिन्छ ? एकपटक घोरिएर सोचौं त ? के पाइस नेपाली केरा ? उसो भए उक्त प्लेकार्ड बोकेका युवा नेपाली थिएनन् ? नेपाली भए नेपालीलाई नै यसरी प्रश्न त गरिन्थेन होला ? अनि के पाइस नेपाली केरा भनिरहँदा सोधिएको प्रश्न कसका लागि थियो ? आन्दोलनकारी वा सरकारमा बसेका वा सर्वसाधरणलाई सोधिएको प्रश्न थियो ?

युवाहरुले तातो घाममा सोधिएका अनेक प्रश्नहरु थिए । शलीलदेखि अश्लीलसम्मका प्रश्नहरु थिए । भविष्यका कर्णधारहरुले सोध्ने प्रश्नहरु यस्तै हुनु पर्दोरहेछ ? स्वस्फूर्त युवाहरु भन्नाले कुनै पार्टीमा आवद्ध नभएका युवा भन्ने अर्थ लाग्ने हो ? वा पार्टीसँग सामीयता भएपनि यस कार्यक्रममा स्वस्पूmर्त आउन इच्छा गरेका युवा भनिएका हुन् ? वा पार्टीभन्दामाथि उठेका युवाहरु हुन् ? के पाइस के भनि सोधिरहँदा केरा भन्ने उत्तर समेत आएको छ । केरा नराम्रो फल हो र ? संसारका आधा देश अर्थात् सयबढी देशहरुमा केरा खेती गरिन्छन् । केराकै कारण लाखौं घरपरिवार धानिएका छन् । आम्दानीको मुख्य बाटो केरा समेत मान्न सकिन्छ । यही केरा खेती गरेर टीकापुरमा कालु हमालले बनाना रेष्टूरेण्ट खोलेका छन् । कृषिमा स्नातक उनले सोही व्यवसायबाट मनग्य नाम र दाम समेत कमाएका छन् ।

केराबाट जुस,घरेलु मदिरा,वाइन,मःम,चप,चुकौनी,भुजिया,रोटी,तरकारी,सलाद,केराका बोंगाबाट अचार,केराका पातमै राखेर खाने चलनले केराको महत्व बढेकै छ । शुभकार्यमा समेत केराको थाम बनाएर स्वागत तुल टाँग्ने चलन पुरानै हो । यस्तो राम्रो केरालाई उल्लाएर सचेत युवाहरुले किन नराम्रो मानेका हुन् भन्ने मेरो मनमा प्रश्न जाग्यो र लेख्दै छु केराका बारेमा ।वन केरा र घर केरा गरी दुई प्रकृतिका पाइन्छन् हाम्रातिर । वन केरा खान उपयुक्त मानिदैन । यसको कोसामा गिर्खा वा गेडा हुने भएको हुँदा खान उपयुक्त मानिदैन । बोंगा ,पात र थामको भने प्रयोग गर्न सकिन्छ । घर केरा हाम्रा खेतबारीमा लगाउने घरेलु केरा हो । मालभोग,हरिसाल,फुस्रे,गोन्द्रे लगायत थुप्रै प्रजातिका केराहरु किसानहरुले लगाउँदै आएका छन् । पछिल्लो समय नेपालमा केरा खेतीबाट नाम र दाम कमाउने किसानहरु थुप्रै छन् ।

केरामा विभिन्न पोषिला पदार्थहरु पाइन्छन् । केरामा खास पाइने सुगर हो । त्यो बाहेक रेसा पनि हो । कार्वोहाइड्रेटको मात्रा केरामा बढी पाइन्छ । दुईवटा केरा ड्याम्म पारेर खाने हो भने डेढघण्टा शारीरिक परिश्रम सजिलै गर्न सकिन्छ । खेलाडीको रोज्जा फल नै केरा हो । केरालाई खेलाडीहरुले नम्बर वान फल मान्दछन् ।नेपालमा धार्मिक एवम् सामाजिक शुभकार्यहरुमा बेसी प्रयोग हुने केरालाई नै युवाहरुले खिसिट्यूरीको विम्व बनाएर प्लेकार्डमा देखेपछि म भने दङ्ग परें ।अनुसन्धानकर्ताहरुले केराको खोज,अनुसन्धान र अध्ययनपछि अनेक प्रकारका नतीजा निकालेका छन् । अर्थात् उनीहरुले केराका अनेक प्रयोग बारेमा बोलेका छन् । लेखेका छन् ।

स्वस्फूर्त आन्दोलनमा आएका युवाहरुलाई देशका बारेमा छाती पोलेर नै चर्को घामको पर्वाह नगरी आएका होलान् ! यही छाती पोल्ने समस्यालाई सबैभन्दा राम्रो फल केरा हो । यस्तो छाती पोलेमा वा छातीको जलन हुँदा केरा खाएमा निको हुन्छ । शितलता दिन्छ र आराम हुन्छ । मस्तिष्कको स्मरण क्षमता बढाउँछ । सायद केरा नियमित खाइ रहनेहरुका स्मरण क्षमता बढेर नै तार्किक र क्षमतावान भएका हुन् नेपालीहरु । आन्दोलनमा आउने युवाहरुले नियमित केरा खाने गरेका भए केरालाई यति होच्चाएर प्लेकार्डमा लेख्ने थिएनन् कि यो मेरो आफ्नै तर्क हो ।

चिलाएको ठाउँमा वा सुन्निएको ठाउँमा केराको बोक्राभित्र टाँस्सिएर रहेको भाग निकालेर दल्नाले निको हुने गर्दछ । गाउँलेहरुले वनजंगल जाँदा कीराहरुले टोक्दा वा कुनै विरुवाका पातहरुले पास्दा बोक्राभित्र टाँस्सिएको भाग दलेर एन्टिसेप्टिक वा एन्टिएलर्जिक दबाईका रुपमा प्रयोग गर्छन् र गर्दै समेत आएका छन् । स्थानीयहरुको बहुमूल्य ओखती हो । विशेष गरेर लकडाउनका बेला नेपालमा हजार बढीले आत्महत्या गरे । यो सरकारी वा अन्य संघसंस्थाहरुले निकालेको प्रतिवेदन हो । कोरोनासँगै निर्देशित लकडाउनकै कारण आत्महत्या भएको हो या अन्य कुनै कारणले यति धेरैले आत्महत्या गरे ? सायद डिप्रेसन कै कारण धेरैले ज्यान फाले कि ? यो खोज अनुसन्धानको विषय हुन सक्छ ।

केराले यस्तै डिप्रेसनबाट मुक्त गराउन सहयोग पुराउँछ भनेर अुनसन्धानकर्ताहरुको प्रतिवेदनले बताएको छ । लक डाउनका बेला राहत बाँड्दा केरा समेत बाँडेको भए जाती पो हुने थियो कि ? केराले रक्तअल्पता हुन दिदैंन । हाम्रो शरीरमा रगतमा आइरनको मात्रा कम हुँदा रक्तअल्पता हुने गर्छ । दैनिक केरा खानेहरुलाई रक्तअल्पता हुँदैन । दिसामा गोटा पर्नुलाई कब्जियत हुनु भनिन्छ । यो समस्या भएकाहरुलाई केरा रामवाण सावित हुने धेरैलाई थाहा भएकै विषय हो । पेटमा हुने घाउलाई अल्सर भनिन्छ प्रायः । अल्सर भनेको आन्द्रामा हुने घाउ पनि हो । केरा सधैं खाएमा यो समस्या दूर भएर जान्छ । नपत्याय गाउँघरमा दैनिक केरा खाएर अस्पताल जान नपर्नेहरुलाई सोधे फरक पर्दैन ।

तौल घटाउन पनि आएका हैनन् होला युवाहरु आन्दोलनमा ? साँच्चिकै केराले तौल घटाउँछ । वजन घटाउन कुनै व्यायामशाला जानु नै पर्दैन । केरा खाएमा स्वतः तौल घट्दै जान्छ । मिर्गौला फेल हुनबाट केराले सहयोग पुराउँछ । किनकि दैनिक केरा खानेलाई मिर्गौलामा पानीको मात्रा कमी हुन दिन्न अनि कसरी मिर्गौला फेल हुन्छ त !

हाम्रो देशका त्यागी प्रधानमन्त्रीले १४ वर्ष जेल बस्दा जेलले दिएको सीदाभन्दा अरु के खाए होलान् र ? उनलाई केरा कसले लगेर दियो होला र ? अनि उनले कहाँबाट केरा पाए अनि खाए होलान् ? नत्र उनलाई मिर्गौलाको समस्या हुन्थ्यो र ? दुई–दुई पटक मिर्गौला पैचो मागेर उपचार गर्नु पथ्र्यो र ?केरा खाऔं युवाहरु । बहुगुणी केरालाई आन्दोलनका नाममा न हेपौं । न राणा हटाउँदा न पञ्चायत फाल्दा न राजाको प्रत्यक्ष शासन सुइँक्याउँदा केराको यतिविघ्न अपमान भएको थियो । के छैन केरामा– भिटामीन ए,बी,,फसफोरस,कार्बोहाइड्रेट,आइरन आदि । त्यसैले भनिएको रहेछ– अ बनाना अ डे,किप्स डक्टर अवे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।