ताजा अपडेट »

वनमा लकडाउनको सकारात्मक प्रभाव, डढेलोका घटना शून्य

शनिबार, ०३ जेठ २०७७, १९ : २०
4 Shares

बुटवल । विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण मानवीय गतिविधिमा कमी आएपछि त्यसको प्रत्यक्ष तथा सकारात्मक प्रभाव प्रकृतिलाई परेको छ । उद्योग कलकारखाना ठप्प हुनुका साथै मानवीय क्रियाकलापका कारण हुने प्राकृतिक दोहनमा कमी आएपछि त्यसको सकारात्मक असर वायुमण्डल तथा मौसममा समेत पर्ने गरेको छ । यसैगरी कोरोना संक्रमणका कारण मुलुक लकडाउनमा हुँदा मानवीय गतिविधिमा कमी आएपछि पाल्पामा यस वर्ष डढेलोका घटना झण्डै शून्यमा झरेको छ ।

विगतका वर्षहरुमा फागुन चैत्रदेखि नै चुरे क्षेत्रहरुका वनमा डढेलो लाग्ने गरेका अनुभव सुनाउँदै डिभिजन वन कार्यालय पाल्पाको प्रमुख डा. मोहनप्रसाद पौडेलले यस वर्ष भने डढेका घटना नघटेको बताए । कार्यालयको विगत ३ वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा जिल्लाका १ सय २७ ठाउँमा गरी कूल ८ हजार ८३ दशमलव ७३ हेक्टर क्षेत्रफलको वनमा आगलागीका घटना भएका थिए भने वर्ष ०७४/७५ मा डढेकोका घटनामा कमी आएको थियो । सो वर्ष २० स्थानका १ सय ५० हेक्टर क्षेत्रफलमा आगलागीका घटना भएका थिए । यसैगरी पछिल्लो वर्ष ३५ स्थानका ३ सय हेक्टर वन क्षेत्रफलमा आगलागीका घटना भएको डिभिजन वन कार्यालय पाल्पाको तथ्याङ्कमा उल्लेख गरिएको छ । यो वर्ष कोरोना महामारीका कारण मानवीय क्रियाकलापमा कमी आएका कारण डढेलोका घटनामा कमी आएको कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए । यो वर्ष डढेका घटना नहुनुमा बेला बेला पर्ने गरेको वर्षा प्रमुख कारण हो भने कोरोनाका कारण मानवीय गतिविधिमा कमी आउनु दोस्रो कारण रहेको उनले बताए । यसैगरी सचेतनाका कारण पनि वन डढेलोका घटनामा कमी आएको उनले बताए । जिल्लामा ५१ हजार हेक्टर बढी वन रहेको छ ।

यसैगरी रुपन्देही, नवलपरासी तथा कपिलवस्तु लगाएतका जिल्लाहरुमा समेत यो वर्ष डढेलोका घटनाहरु घटेका छैनन् । वनमा डढेको लाग्ने समय अहिले नै नसकिएको बताउँदै डिभिजन वन कार्यालयका प्रमुख बोधराज सुवेदीले अझै एक डेढ महिना सजगता अपनाउनु पर्ने बताए । डिभिजन वन कार्यालय रुपन्देहीका अनुसार गत वर्ष जिल्लाका २ हजार ६ सय ४० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । स्थानीय तहहरुले वन संरक्षणमा देखाएको तदारुकता तथा मौसमका कारण यो वर्ष अहिलेसम्म डढेलोका घटनामा नभएपनि चुनौती कायमै रहेको उनले बताए । यसैगरी लकडाउनको अवधिमा मानवीय गतिविधिमा कमी आउनाले पनि केही मात्रामा सहयोग गरेको उनले बताए । रुपन्देहीमा करिब २५ हजार हेक्टर मात्रै वन क्षेत्र रहेको छ । सुवेदीका अनुसार रुपन्देहीको तराई भेगमा ३/४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ भने अन्य वन चुरे क्षेत्रमा पर्दछ । यसैगरी कपिलवस्तु तौलिहवा डिभिजन वन कार्यालयका प्रमुख इश्वरीप्रसाद पौडेलले पनि यो वर्ष आगलागीका घटना शून्य जस्तै भएको छ । समय समयमा वर्षा हुने मौसमका कारण तथा लकडाउनले मानवीय गतिविधिमा कमी आएपछि यो वर्ष डढेलोका घटनामा कमी आएको उनले बताए । तौलिहवा वन डिभिजन कार्यालय अन्तरगत २४ हजार हेक्टर वन क्षेत्र रहेको छ । यसैगरी कपिलवस्तुकै गौतमबुद्ध वन डिभिजन कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले पनि लकडाउनले डढेलोका घटना नहुनुमा भूमीका रहेको बताउँछन् ।

यो वर्ष डढेलोका घटना शून्यजस्तै हुनुको पहिलो कारण मौसम भएको बताउँदै उनले लकडाउनका कारण मानवीय गतीविधीमा कमी आउदा पनि फाइदा भएको उल्लेख गरे । गौतमबुद्ध वन डिभिजन कार्यालय अन्तरगत ३५ हजार हेक्टर वन क्षेत्र रहेको छ । उनका अनुसार गत वर्ष करिव १ सय ५० हेक्टर वन क्षेत्रमा आगलागीका घटना घटेको थियो । सामान्यतस्याःजेठ महिनाको १५ गतेसम्म तथा कतिपय अवस्थामा जेठ मसान्तसम्म नै डढेलोको जोखिम हुने गर्दछ । डढेलो जोखिम नसकिएको हुँदा अझै सचेत रहने पर्ने विज्ञहरुको सुझाव छ । वन डढेलोको समयमै कोरोनाको महामारी र यसको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण यस वर्ष वनक्षेत्र भने आगजनीबाट हालसम्म सुरक्षित छ । तर,पूूरा जोखिम भने टरेको छैन । विगतका वर्षहरुमा जस्तो आगलागी हुन नपाउँदा पन पैदावार पनि सुुरक्षित छन् । यसबाट मानवीय गलत गतिविधिलाई रोक्ने हो वनविनास र डढेलोबाट बच्नुका साथै प्राकृति हस रोक्न सकिन्छ भन्ने पुष्टि हुुन्छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।