ताजा अपडेट »

अँग्रेज फौजलाई घुँडा टेकाउने एक मात्र किल्ला जितगढी

आइतबार, ०७ बैशाख २०७७, ०९ : ०१
98 Shares

बुटवल । आजको दिन नेपाली फौजले कुशल रणकौशल प्रदर्शनगर्दै अंग्रेज फौजमाथि जित हासिल गरेको दिन । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले वि.स. १८७२ वैशाख ७ गते अर्थात आजकै दिन बुटवलको जितगढी किल्लामा अंग्रेजहरुलाई घुडा टेकाएको थियो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुटवलको जितगढी किल्लाले विजय प्राप्त गरेको २ सय ४ वर्ष पुरानो इतिहास अझै पनि गर्व गर्न लायक छ । अंग्रेजहरुलाई हराउन सफल जितगढी किल्ला इतिहासका बहादुर नेपालीहरुका लागि मात्र होइन वर्तमान र भावि सन्ततिहरुका लागि पनि गर्व गर्ने र शाहस प्रदान गर्ने किल्ला हो ।

२१ पुस १८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन । कुमाउ-गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढ्यो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भयो तर नेपाली सेनालाई हराउन सकेनन् । त्यो समय युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर युद्धका लागि तयारी नपुगेको ठानी फिर्ता गएको थियो ।

जनरल उडकै नेतृत्वमा तीन महिनापछि तयारीकासाथ फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो । इतिहासका जानकारहरुका अनुसार पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले अग्रेजविरुद्धको युद्धमा वि.सं. १८७२ मा विजय हासिल गरी विजय पटाका फहराएका थिए ।तत्कालिन समयमा जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

तिनाउ नदीको दायाँ किनारमा अवस्थित पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ । करीव बाह्र लाखदेखि पन्ध्र लाख ईटा प्रयोग भएका र ईटाहरुका कोही १० इन्च वर्गाकारका तथा केही ईटाहरुको लम्बाई चौडाई क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरुको निर्माण गरिएको छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ ।

वि.सं. २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरु संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघि देखि नै गढीको अस्तित्व रहेको बताइएपनि यसको पुष्टि भने हुन सकेको छैन । यो गढीको प्राचीन स्वरुप कस्तो थियो यकिन साथ भन्न सकिदैन । उजिरसिंह कै समयमा यो गढीको स्वरुप कस्तो थियो त्यो पनि भन्न नसकिने यसबारेमा अध्ययन गरिरहेकाहरुले बताउछन् । संभवत उजिरसिंहको समयसम्म यो गढी पूर्ण रुपमा थियो र वि.सं. १८७३ पछि क्रमशः यो गढीको महत्व र प्रयोग नभएकोले उपेक्षित हुदै गएको हो कि भन्न सक्ने अवस्था रहेको जानकारहरु बताउँछन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ तिनाउ नदीपारिको किनारमै पूर्वपश्चिम राजमार्गसँगै जोडिएर जितगढी किल्ला रहेको छ । सामान्य तारवारले सुरक्षा दिइएको यो किल्ला क्षेत्र केही समय अघिसम्म गाईबाख्रा चर्ने थलो बनेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यसको संरक्षण थालिएको छ । बुटवल उपमहानगरपालिकाले यसको गुरुयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीय थलोका रुपमा विकास गर्ने योजना बनाएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।