ताजा अपडेट »

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

मंगलबार, १३ कार्तिक २०८१, ०५ : ५६
54 Shares
मंगलबार, १३ कार्तिक २०८१
54 Shares

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । 

दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताए । उनका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् ।

मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिन्छ । कागबेनीमा बडादसैँ र चैते दसैँको औँशीमा हजारौँको सङ्ख्यामा पितृतर्पण गर्नेहरुको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिए । यस वर्ष बाढी पहिराका कारण सोह्रश्राद्धको समयमा उल्लेख्यमात्रामा तीर्थयात्री आउन सकेका थिएनन् । 

“बाढी, पहिरोले सडकमार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो सङ्ख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैँपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ”, पुजारी सुवेदीले भने । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ ।

परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ ।कागबेनीमा भगवानको दैवीशक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुगेका शालिकराम रिजालले बताए । 

विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट सङ्कलन भएका शालिग्राम शिलालाई भगवान्का रुपमा भक्तजनले लैजाने गरेका छन् । भक्तजनको आगमन बढेसँगै शालीग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले  बताए । उनका अनुसार, शालीग्राम शिलालाई भक्तजनहरुले विष्णु भगवान्को अवतारका रुपमा मुस्ताङको चिनोका रुपमा लैजाने गर्छन् । 

कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । भक्तजनको सङ्ख्या बढेसँगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन भने व्यापार व्यवसायसमेत चलायमान भएको छ । दसैँ तिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रने गरेका छन् । बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।