ताजा अपडेट »

जीवन भोगाई सिकाई

सोमबार, १४ असोज २०८१, १५ : ०४
150 Shares
सोमबार, १४ असोज २०८१
150 Shares

शिक्षक भएपछि कोटपाईन्ट सिलाएँ । २० वर्षको ठिटो केटो झिल्के देखिएँ । धेरैले अब मास्टर पनि भईस बिहे गर्नुपर्छ भनेका थिए । त्यतिबेला ईन्टर पढ्दैथिएँ । मेरो रहर धेरै पढ्नु थियो । त्यतिबेला मेरा माईला दाइले समेत बिहे गरेका थिएनन् । पालो कुर्नुपनि थियो मैले । सात कक्षासम्म पयन्ट (पाइन्ट) नलगाएको मान्छे म । सानामा एउटै जाँगे सात पटकसम्म टालेर लगाएको आमाले घरिघरि सुनाउँथिन् । गरिवीले  र नयाँ नलगाउने रहर पनि । दुवै कुरा थिए । 

स्कूलमा मास्टर भएपछि आफूभन्दा बढी उमेरका विद्यार्थीलाई पनि कक्षामा पढाईयो । साँझ प्रौढशिक्षा पनि पढाएँ । ट्यूसन पढाएर तलब दोब्बर पैसा कमाउँथें । मास्टरी तलब आमालाई र ट्यूसटनको पैसाले उच्च शिक्षामा खुबै काम लाग्यो । स्कुल छुट्टी भएपछि अरु साथीहरु आआफ्ना काममा लाग्थे । मभने किताब समाएर खोला किनार,  डाँडातिर वा कोठामा चुकुल लगाएर घुँडाधसेर पढ्थे । परीक्षा दिन सहर पुग्थें । साथीहरुलाई नारायणघाटको सप्तगण्डकी बहुमुखी क्याम्पसमा भेट्दा धेरै खुसी लाग्यो । पाल्पाका भास्कर आत्रेय, लेपनबहादुर बुढा, रोल्पाका र अर्घाखाँचीका खगराज पोखरेल थिए । गोरखा, तनहुँ र लमजुङका साथीहरु पनि थिए ।
 
हाम्रो पालादेखि बिएड् तीन वर्षे भयो । स्वास्थ्य र जनसंख्या मूल विषय लिएर पढियो । अन्तिम वर्ष जनसंख्या शिक्षाको हिसाबले स्नातकोत्तर पढ्न तगारो लगाई दियो । हुन त आफू टुरिष्ट विद्यार्थी भनेर मन बुझाईयो । दोभान माविमा २०६१ देखि २०६४ सम्म साविकको पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लाभित्र पर्ने पाल्पा जिल्लाको दोभान माविमा कक्षा ९/१० मा ऐच्छिक दोस्रो विषयका रुपमा पत्रकारिता विषय पढाएँ । सो विषयको प्रमाणपत्र त थिएन । तर, मसँग रेडियो मणिग्रामको लुम्बिनीमा सम्वाददाता बनेर पत्रकारिता विषयमा हासिल गरेका ज्ञान, सीप र स्वाध्ययन थियो । २०५५ सालतिर रेडियो, टीभी र छापा पत्रकारिता सम्बन्धि विषयमा तालिम लिएको थिएँ । त्यो तालिमले मलाई स्कूलमा पत्रकारिता पढाउन सजिलो भयो । पाँच वर्ष मैले पत्रकारिता विषयमा एसएलसीमा सतप्रतिसत् विद्यार्थी उत्तीर्ण गराउन सफल भएँ । विद्यार्थीको मिहिनेत, विद्यालय प्रशासनको सहयोग र समर्थन अनि मेरो निरन्तरको प्रयास खेर गएन । पत्रकारिता पढ्ने  पहिलो व्याचका मेरा विद्यार्थी विपना, सुनिता, शान्ति, दुर्गा, हरि, सनमलगायतका भाइबहिनीलाई कहिले बिर्सिने छैन । उनीहरु यतिबेला स्वदेश तथा विदेशमा राम्रै ठाउँमा पुगेका छन् । 

मलाई रेडियो लुम्बिनीले धेरै सिकायो । पत्रकारिताका बारेमा सिक्ने अवसर रेडियोले दियो । आजपनि अर्जुन ज्ञवाली, लेखनाथ गुरु, भरत भुसाल, मीना, सारदा, गुरुदत्त, प्रदीप, विष्णु, रमेश डायलसनलगायतका अग्रज तथा साथीहरुलाई सम्झिरहन्छु । मुटुको व्यथा सुनाउने दीपकदमलाई भुल्छु भनेपनि भुलिने छैनन् । त्यतिबेला एफएम रेडियोको क्रेज अति नै थियो । पाण्डव सुनुवार, डा. नवराज लम्साल, धना लामा, बासुदेव मुनाल लगायतसँग तालिम लिएपछि छुट्टै हौसला मिलेको थियो । रेडियो सुन्न रुचाउनेहरुमात्र होईन, रेडियोमा कार्यक्रम चलाउनेहरु सबै जाँगरिला थिए पहिला । कार्यक्रम प्रस्तोताहरुको शानै अर्कै । भेट्न मुस्किल । आज ती दिनहरु सम्झिदा अनौठो लाग्छ । 

पत्रकारिता गरिखाने विषय हो । यसले दुनियाँलाई नयाँ सूचना, सन्देश प्रवाह गर्छ । जाँगरण ल्याउँछ समाजमा । आफू भोको रहेर पनि समाजलाई सूचनाको माध्यमबाट अघाउन हाल्ने गर्छन् पत्रकारहरुले  । न्यूनतम वेतनले परिवार पाल्ने, खोज पत्रकारिता गर्ने, सन्तानको शिक्षादीक्षामा लगानी गर्ने काम पत्रकारहरु कसरी गरेका होलान् ? सोचनीय विषय छ । दिनरात नभनी खटिने पत्रकारहरुलाई राज्यको चौथो अङ्ग त भनियो तर व्यवहारत उनीहरुलाई राज्यले दिने सेवा, सुविधामा त्यस्तो सकारात्मकपना भेट्न सकिएन । न पत्रकारहरु न राज्य पक्ष नै पत्रकारिताप्रति सक्षम र सचेत हुन सके । 

शिक्षक बनिरहँदा म पत्रकार भएँ औपचारिक रुपमा । पत्रकार महासंघ, पाल्पाबाट दुईपटक केन्द्रीय पार्षद समेत भएँ । पत्रकारितासम्बन्धि पुरस्कार पनि फेला पारें । पत्रकारिता विषयमा पढाउने, रेडियो र पत्रिकामा सम्वाददाता बन्ने अवसर मिल्यो । केही अनलाईनहरुमा नियमित स्तम्भकार बन्ने अवसर समेत जुरेको छ । केही जर्नल, अनलाईनहरुको सम्पादकको जिम्मेवारी समेत लिएको छु । शिक्षक बन्नु, पत्रकार बन्नु, समाजलाई सूचना र जानकारी दिन पाउनु खुसीको कुरा हो । तर यो दुबै अन्खटिया पेसाजस्तै लाग्छ । जस् मिलेको कम छ (विद्यार्थी फेल हुँदा होस् शिक्षकलाई । समयमा वा पूर्णसूचना प्राप्त नहुँदा पत्रकारलाई । 

तैपनि शिक्षकहरु मैनबत्तीजस्तै बलेका छन् । उज्यालो दिन । पत्रकारहरु खटिएकै छन् (कपिपेष्टवाला बाहेक) । सही र पूर्णसूचना प्रवाह गर्नका लागि । समयले सबैलाइ सधैं एउटै जिम्मेवारी नदिदो रहेछ । समय, परिस्थितिअनुसार चल्न सक्नु जीवन रहेछ । चल्न खोज्नु अभ्यास रहेछ । कतिपय समयमा जिम्मेवारीले व्यक्तिको पहिचान दिन्छ र नयाँ परिचय बनाई दिने गर्छ । आज म निवृत्त शिक्षक हुँ । तर, गतिशील पत्रकारिता गर्न रुचाउँछु । पत्रकारिता सेवा निवृत्त नहुने रहेछ । मेरो भोगाई र सिकाई यहि छ ।

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार