ताजा अपडेट »

स्टालिनवादको यात्रामा !

मंगलबार, १५ साउन २०८१, १५ : २३
330 Shares
मंगलबार, १५ साउन २०८१
330 Shares

जोसेफ स्टालीन बोल्शेविक कम्यूनिष्ट पार्टीका सर्वोच्च कमाण्डर थिए । उनले जीवनको पूर्वाधमा अत्यन्त नैतिकवान, उर्जाशील र क्रांतिकारी नेताको रूपमा छवि बनाएका थिए। कमरेड लेनिनको मृत्युपछि उनले नै सत्ता र पार्टीको नेतृत्व समालेका थिए। 

त्यतिबेलाको विश्व अन्तरविरोध र साम्राज्यवाद विरोधी धाराको नेतृत्व कमरेड स्टालीनले नै गरेका थिए। जर्मन र जर्मन तानाशाह हिटलर र उनको घमण्ड कमरेड स्टालीन कै कारण समाप्त भएको थियो। त्यस्तो क्रान्तिकारी इतिहास बोकेको नेतृत्व जीवनको उत्तरार्धमा कसरी डरलाग्दो तानाशाह बन्न पुगे । 

उनका दोस्रो र तेस्रो तहको नेतृत्व उनीसँग यति धेरै आतंकित थिए कि उनको मृत्युको अगावै उनलाई उपचार गर्न पनि लगिएन र उनको मृत्यु नहुँदासम्म कसैलाई सूचना पनि गरिएन। मानिसको स्वभाव र चरित्र सधैं एकनासको रहने गर्दैन। मानिसलाई तपाई सम्पन्नता र विपन्नतामा उसको स्वभाव मापन गर्नुहोस्। पदमा रहँदा र पद बाहिर रहँदा विचार गर्नुहोस्। सत्तामा रहँदा र सत्ता बाहिर रहँदा मानिसको स्वभाव, प्रस्तुती र व्यवहार फरक पाउनु हुने छ। 

मानविय स्वभाव विपन्नतामा, पदमा नरहँदा, सत्ता प्राप्ति नहुँदा बिग्रने सम्भावना न्यून रहन्छ भने सत्ता प्राप्तिमा, सम्पन्नतामा र पदवहालीको अवस्थामा मानिसको स्वभाव र चरित्र विपरित दिशामा अधिकांशतः रूपान्तरण हुने गर्दछ। यो कुरा कमरेड स्टालीन बारे पानी साँचो हो। उनले १९२९ मा भएको रसियन कम्यूनिष्ट पार्टीको १४ औं अधिवेशनमा भनेका थिए कि पार्टीभित्र भिन्न मत देखापर्नु असोभनीय कुरा हो। त्यही बिन्दुबाट उनले पार्टीभित्रको भिन्न मतलाई नष्ट गर्न थाले। उनले पार्टी र सत्ताको सम्पूर्ण अधिकार आफूमा केन्द्रित गरे। जसले उनका कार्यको विरोध गर्यो, उनीहरुलाई कारवाहीको प्रक्रियाको थालनी गरे। कैयौं पदाधिकारी, पोलिटब्यूरो र केन्द्रिय सदस्यहरू उनका कार्यकालमा कारवाहीमा परे। कोही देश निकालामा परे भने कैयौंको हत्या गर्ने काम भयो। त्यतिबेला केन्द्रिय कमिटीका नव्वेजना नेतृत्व उनका कारवाहीमा परे। 

कुल केन्द्रिय समितीको सत्तरी प्रतिशत नेताहरूलाई उनको कार्यकालमा कारवाही गरिएको थियो। कुनै पार्टीमा जब भिन्न मतको अस्तित्वलाई समाप्त पारिन्छ, तब त्यहाँ मृत शान्ति कायम हुन पुग्दछ । त्यहा चाकडी, चाप्लुसी र प्रशंसा संस्कृतिको प्रारम्भ हुन्छ। त्यहाँ कुनै गतिशिल पार्टी र भिन्न विचारहरूको एकत्वको पार्टी  रहदैन।  त्यहाँ कुनै समकक्षी भन्ने नै रहँदैन। जसरी पौराणिक कथाहरूमा देवताहरूको वर्णन गरिएको हुन्छ, ठीक त्यसरी नै पार्टीहरूमा एकल नेतृत्वको गुणगान, चाकरी र प्रशंसाको होडबाजी चल्ने गर्दछ। त्यो अवस्थामा नेतृत्व पार्टीभन्दा माथि, कमिटी भन्दा माथि हुने गर्दछ।

यतिबेला नेपालका प्रायः सबै पार्टीहरू, अझ खासगरी वामपन्थि भनिएका पार्टीहरू, सबै यही स्टालिनपथको यात्रामा अगाडि बढिरहेका देखिन्छन्।  सिपि मैनाली, नारायणमान, मोहनविक्रम, पुष्पकमल, माधव नेपाल र केपी ओली । यी सबै आजीवन नेतृत्व लिने दिशामा अगाडि बढेका छन्। उनीहरूलाई उमेर हदले छेक्ने जुन विधान बनाइएको थियो, त्यो सत्तरी वर्षे हदम्याद माओवादीले विधान अधिवेशनको समय हटायो भने एमाले र नेकपा यसले पनि आफ्ना अधिवेशनबाट हटाइ सकेको छ। 
प्रजातन्त्रवादी होस् वा वामपन्थी, पुरानो होस् वा नयाँ, यतिबेला स्टालिन पदको यात्रामा सबै पार्टीहरू किन अगाडि बढेका छन्?

यो प्रश्नमा केही विधिहरूको विकास नगर्ने हो भने यो प्रक्रियालाई सच्चाउन कठिन हुनेछ। खासगरी, हाम्रो कृषि उत्पादन प्रणालीबाट विकसित निम्न पुँजीवादी चेतना जसले नायक, महानायक वा हिरोइजमको खोजी गर्दछ, यसको चेतना अधैर्य हुन्छ र छिटो परिणामको अभिलाषा राख्दछ। यो विचारले जनता इतिहासका निमार्ता हुन भन्ने कुरा मान्दैन। यो विचारले प्रणाली मुख्य हो, विधि मुख्य हो, विचार मुख्य हो, पात्र त्यस्को अधिनस्त हो भन्ने कुरा मान्दैन। त्यो अवस्थामा हिरोइजमको विकास हुने गर्दछ।

त्यसलाई सच्चाउनको लागि नेकपा माओवादीले पारित गरेको दस्तावेज एक्काइसौं शताब्दीको जनवादमा  भनिएको छ कि अनुभवले सावित गरिसकेको  छ कि राज्यसत्ता कब्जा गरिसके पछि पार्टीका तमाम नेता कार्यकर्ता  राज्यसत्ता संचालनमा मात्र संलग्न हुदा भौतिक परिवेशले नै पार्टीलाइ क्रमशः नोकरशाहि, पदलोलुप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तिव्र र प्रवल बनेर जान्छ,यस प्रकारको खतरा र तिव्रताको प्रवलता पार्टीको जनसमुदाय सँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलग थलग बन्न जान्छ। 

यो प्रक्रिया आफ्नो विकासको एउटा निश्चित विन्दुमा पुगिसकेपछि  अनिवार्य रुपमा प्रतिक्रान्तिमा बदलिन पुग्दछ। प्रतिक्रान्तिको यस्तो खतरालाइ रोक्नको लागि स्थापित नेताहरुदेखी र्कायकर्तासम्म एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता संचालनमा लाग्ने तथा निश्चित अवधिको अन्तरमा कार्य बिभाजनमा हेरफेर गरी सिङ्गो पार्टीको जनसमुदाय सङ्गको सम्बन्धलाइ सजिव राख्न विशेष आवश्यकता छ।

विश्वमा प्रतिक्रान्तिहरू किन भए? यो प्रश्नमा त्यहाँ विश्लेषण गरिएको छ कि पार्टी र सत्तामा एउटै नेतृत्व निरन्तर रहनु नै प्रतिक्रान्तिको मुख्य आधार हो । त्यसैले पार्टी र सत्ताको नेतृत्व फरक फरक बनाउन सकेमा मात्र सरकारले गल्ती गर्यो, सरकारको नेतृत्व गर्ने व्यक्तिहरुले गल्ती गरे भने पार्टीले निर्देशन गर्न सक्दछ, नियन्त्रण र निगरानी गर्न सकिन्छ, गल्ती गर्ने पात्रलाइ फिर्ता बोलाउने हैसियत राख्दछ, पात्रहरु अदला बदली गर्न सक्दछ । 

जब सरकार र पार्टीको नेतृत्व अविछिन्नरुपमा एउटै ब्यक्तिमा केन्द्रित हुन पुग्दछ, त्यो अवस्थामा सर्वसत्तावादको चेतनाको जन्म हुने र हुर्कने अवस्थाको सृजना हुन पुग्दछ । त्यहाँ पार्टी हेड क्वाटरको स्थान ब्यक्ति हेड क्वाटरले लिने गर्दछ , ब्यक्ति  ब्यक्ति मात्र नरहेर संस्था बन्न पुग्दछ, व्यक्तिलाइ सत्ता फोवियाको रोगले यति धेरै ग्रसित गर्दछ कि उ सत्ता प्राप्तिको निम्ति जुन हदसम्म पनि  गिर्न सक्दछ । आदर्श, मुल्यमान्यता, विधि, विधान सबैलाई कुल्चेर उ अगाडि बढ्दछ, यो रोगको यतिबेला देशमा महामारी नै चलेको छ ।  

जनताले एउटा राजतन्त्र फालेर के भयो र ! पचासौं राजाहरु जन्मिन पुगे भन्ने कुरामा सत्यता छ किनकि जनताले चुनेका प्रतिनिधि नै जनताका हुन सकेनन् । त्यसैले प्रतिक्रान्तिलाइ रोक्न, सर्वसत्तावादलाइ रोक्न, स्टालिनपथको यात्रालाइ रोक्न, पार्टी  समिक्षा भनेर  मात्र पुग्दैन, अरुको सत्तोसराप गरेर मात्र  प्रतिक्रान्ति रोकिदैन, साच्चै नै प्रतिक्रान्तिलाई  रोक्ने हो, साच्चै नै स्टालिन हिडेको  बाटो रोक्ने हो भने विधिको विकास गरौं ।

पार्टी नेतृत्व र सरकारको नेतृत्व फरक फरक गरौं । जसरी राष्ट्रपति दुई कार्यकाल, मेयर दुई कार्यकाल, पार्टीको जिल्ला अध्यक्ष दुई कार्यकाल, प्रदेश अध्यक्ष दुई कार्यकाल हुन सक्दछ भने  प्रधानमन्त्री पनि दुई कार्यकाल भनौं, पार्टी प्रमुख पनि दुई कार्यकाल बनाउने विधिको विकास गरौं र नेतृत्व  नयाँमा हस्तान्तरण गरौं, आफू प्राधिकरण बनौं  । पार्टी नेतृत्व वा सरकारको नेतृत्व गलत दिशामा जान थाल्छ भने जनता र कार्यकर्ताको साथ लिएर खबरदारी गरौं । 

जब तपाईं प्राधिकार बन्नुहुन्छ, जब तपाईं जनताको मन जित्नुहुन्छ त्यो अवस्थामा तपाई कुर्सीमा बस्ने अवस्थाको  भन्दा पनि अझ वढी शक्तिशाली हुनुहुनेछ । जब हामी सत्ता नै सबथोक हो, नेतृत्व नै सबथोक हो , कुनै पनि हालतमा नेतृत्व छाड्नु हुदैन भन्ने चेतनामा पुग्छौं, त्यही बिन्दुबाट हाम्रो विनासको थालनी हुन थाल्दछ । 

घटनाबाट हेरौं, रवि लामिछाने पार्टीको पनि नेतृत्व सत्ताको पनि नेतृत्व, पुष्पकमल दाहाल पार्टीको पनि नेतृत्व, सत्ताको पनि नेतृत्व, शेर बहादुर देउवा, पार्टीको पनि नेतृत्व सत्ताको पनि नेतृत्व, केपी ओलि पार्टीको पनि नेतृत्व सत्ताको पनि नेतृत्व , यहि परम्परा नै हो जो हामिलाइ विनाशतर्फ जानको लागि मलजल गरिरहेको छ । यसर्थ यदि हामी प्रतिक्रान्तिलाइ रोक्न चाहान्छौ, स्टालिन पथको यात्रामा जान चाहदैनाँै भने यि कुराहरुमा ध्यान पुर्याउन पर्दछ कि ?
 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार