ताजा अपडेट »

मुकुल ढकालको प्रतिवेदन

सोमबार, १७ असार २०८१, १५ : ३७
254 Shares
सोमबार, १७ असार २०८१
254 Shares

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीले आफ्नो पार्टीको बारेमा जनताको मुल्याङ्कन कस्तो रहेको छ ? भनी बुझ्नको लागि महासचिव मुकुल ढकालको नेतृत्वमा समिती बनाएको थियो। त्यो समिती करिब चार हप्तामा ७७ जिल्ला मध्ये झण्डै आधा जिल्लाहरुमा पुगेर जनताको मत सर्वेक्षण गरी प्रतिवेदन तयार गर्यो। 

उक्त प्रतिवेदन हालै पार्टीका अध्यक्ष रवि लामिछानेलाई बुझाइएको समाचार प्रकाशित भयो। प्रतिवेदनका मुख्य अंश र शारांश बाहिरिएको छ। त्यसबारे राजनितीक वृतमा केही बहसहरु उठेका छन्। प्रतिवेदनका सबै विषय वस्तुहरूमा सहमत हुन सकिदैन तर अहिले रास्वपा जुन बाटोबाट  अगाडी बढिरहेको छ, त्यो बाटो गलत छ । यदि त्यो बाटो परित्याग नगर्ने हो भने हाम्रो पनि विवेकशिल साझा जस्तै अवस्था हुनेछ भनेर प्रतिवेदनमा जुन कुरा लेखिएको छ, त्यो कुरा वस्तुसंगत छ। त्यो मुल्यांकन यथार्थता संग मेल खान्छ।

यसबारे केही चर्चा गरौंः पुराना पार्टीहरु राष्ट्र र जनताको हित विपरीत आफ्नो स्वार्थमा केन्द्रित भएको अवस्था, देशको अर्थतन्त्र ओरालो लागेको अवस्था, पार्टी र तिनका नेतृत्वहरु भ्रष्टाचारमा केन्द्रित रहेको अवस्थामा, सत्तामा देखा परेका बेथिति, विसंगति, कमिशनतन्त्र, बेरोजगार युवाहरूको तिव्ररुपमा विदेश पलायनको अवस्था माथि रवि लामिछानेजी र रास्वपा सम्मिलित नेताहरुले धाराप्रवाह प्रहार गरे। 

पुराना पार्टीहरुको जनविरोधी चरित्रबाट आक्रोशित बनेका जनता, नयाँ पार्टीहरु जसले पुरानाको विरुद्धमा प्रहार केन्द्रित गरेका थिए । जनमत त्यस दिशामा आकर्षित हुन पुग्यो। गएको निर्वाचनमा रास्वपा मात्र होइन, नयाँ उदाएका जनमत पार्टी र नागरिक उन्मुली पार्टीलाई पनि जनताले विस्वाश गरेका थिए। यी पार्टीहरूको निर्वाचनको समय जिल्ला र नगरस्तरमा कुनै संगठनात्मक आधार थिएन। उनीहरूलाई जे जती मत खसेका थिए, ती सबै कांग्रेस, एमाले र माओवादीका मतदाता थिए।

बुटवलमा कांग्रेस, माओवादी, नेकपा (एस)ले समर्थन गरेको उम्मेदवारले मात्र पाँच हजार मत पाउनु जबकी रास्वपाको उम्मेदवारले पच्चीस हजारभन्दा बढी मत पाउनु त्यसैको परिणाम थियो। पहिलो संविधान सभाको समयमा माओवादी प्रतिको जुन आकर्षण देखा पर्यो, अप्रत्याशित र अकल्पनीय जुन परिणाम आएको थियो । ठीक त्यसरी नै यो निर्वाचनमा रास्वपा प्रति जनता आकर्षित भएको थियो। जसरी पहिलो संविधान सभाको समय जनताले कांग्रेस, एमालेका विरुद्ध मत जाहेर गरेका थिए । ठिक त्यस्तै यो गएको निर्वाचनमा कांग्रेस, एमाले र माओवादीका विरुद्ध जनताले मत जाहेर गरेको देखिन्थ्यो। यो कुराले के संकेत गर्दछ भने जनता परिवर्तनको पक्षमा छन्। जनताले यी पुराना पार्टीहरुले गरेको व्यवहार मन पराएका छैनन्।

निर्वाचन पछि यी नयाँ भनिएका पार्टीहरु, निर्वाचनको बेला पुरानाको विरुद्ध धावा बोलेका पार्टीहरु जसको कारण उनीहरूले निर्वाचनमा मत प्राप्त गरेका थिए । निर्वाचन पछि उनीहरू पनि पुरानैमा सहवरण गर्न पुगे। पुरानाले गरेका सबै कुकर्महरुको साथमा सम्मिलित हुन पुगे। नयाँ र पुराना मिसिएर अहिले जुन सत्ताको ककटेल बनेको छ । त्यहाँ अब यो राम्रो र यो नराम्रो भनेर फरक छुट्टाउने ठाउँ रहेको छैन। यो अवस्थामा जनमत, उन्मुक्ति वा रास्वपाले पचासौं तर्क दिएर उनी भन्दा हामी सुन्दर छौं, उनी भन्दा हामी भिन्न छौं भने पनि त्यो भिन्न देखा पर्दैन। जसरी मेरा सातजना साथी सबै मदिराका पारखी छन् भने म त्यो पार्टीमा उनीकै साथमा केही दिन गिलासमा पानी राखेर मदिराको चुस्की लिएको अभिनय गर्नेछु ।

क्रमशः त्यो संगतले केही महिना मै म पनि मदिराको पारखी बन्नेछु किनकी यो संगतको कुरा हो। यो सहकार्यको कुरा हो। त्यसैले पुरानो सत्तामा, पुरानैसँगको एकाकारको बीचबाट म नयाँ र भिन्न छु भन्ने कुरा आफैलाई छक्याउने कुरा हो।

महासचिवको प्रतिवेदनमा जनताले जुन मुल्यांकन गरेका छन्, त्यो कुरा सही छ। जनताले यो नयाँ पार्टीलाई पुरानासँग, दुई, तीन, चार, सीटको साथमा पुरानैसँग लुटपुटीन राम्रो हुँदैन भनेर संकेत गरेका छन्। यदि तिमीहरू आउने निर्वाचनसम्म उनैसँग सहवरण गरी रहन्छौं भने दोस्रो संविधान सभामा जनताले माओवादीको जुन हाल बनाएका थिए । तिमीहरूको पनि हालत त्यस्तै हुनेछ भनेर जनताले भनेका छन्। हामी विवेकसिल साझा जस्तै हुने छौं भनेको कुरा त्यही हो।

शासकीय स्वरुपको सन्दर्भमा कार्यकारी राष्ट्रपतिको जुन कुरा उठाएको छ, त्यो एकदम अपरिहार्य छ। त्यो बाटो न पछ्याउँदासम्म, देशमा स्थायी सरकार बन्न सक्दैन। अहिलेको शासकीय स्वरुपबाट एकल सरकार बन्ने संभावना देखिदैन। मिलीजुली सरकारले राम्रो परिणाम दिन सक्दैन। राम्रै मान्छेलाई नेतृत्व दिए पनि उसले परिणाम दिन सक्दैन किनकि उसका हात खुट्टा बाधिएका हुन्छन्। त्यसैले देशलाई अग्रगामी दिशामा लैजान, स्थायी सरकारको निर्माण गर्न र चुनावमा हुने खर्च रोक्न कार्यकारी प्रमुख जनताले निर्वाचन गर्ने विधिको विकास गर्न जरुरी छ। जुन कुरा प्रतिवेदनमा उठाइएको छ। जनताले पुराना संगको सहकार्य छाड्न र नयाँ बैकल्पिक विचार बोकेकाहरु जो, देखा पर्नेछन् उनीहरुसंगको सहकार्यमा जोड दिएका छन्।

अहिले यथार्थ चित्रण गर्ने जुन हिम्मत मुकुल ढकालले गरेका छन् । त्यसको लागि उनी धन्यवादका पात्र छन्। अब हेरौं रास्वपाले त्यो प्रतिवेदनद्वारा संकेत गरेको इशारालाई बुझेर अगाडि बढ्दछ वा मुकुल ढकाललाई नै बलिको बोको बनाउँछ, त्यो समयले बताउँला। तर सत्य कुरा यो हो कि यदि आउने निर्वाचनसम्म रास्वपा सत्ताको चास्नीमा टासीइ रह्यो, मन्त्री र नियुक्तिको लालच गरी रह्यो भने प्रतिवेदनले भनेजस्तै विवेकशील साझा कै अवस्थामा गिर्ने कुरा निश्चित छ।

तर पुराना पार्टीहरु जती सुकै बदनाम भएपनि उनीहरूसगँ वर्षौ पुरानो संगठनात्मक संजाल छ। नेतृत्वले जस्तोसुकै अपराध गरे पनि नेतृत्वलाई महान ठान्ने एकात्मक चेतना बोकेको ठुलै जमात रहेको छ। उनीहरूले संगठनात्मक खलो टक टकाए पनि बीस, तीस, पचास सिट उनीहरूलाई प्राप्त हुन्छ नै, त्यो सुविधा नयाँलाई छैन। नयाँमा त्यस खालको सिमेन्टेड चेतना भएको लेयर बनिसकेको छैन। त्यसैले नयाँले निकै सोच विचारका साथ अगाडी बढ्नुपर्दछ।

हाम्रो विचारमा रास्वपा र अन्य नयाँ उदाएका पार्टीहरूले सत्ताबाट बाहिरीएर सरकारले गरिरहेका सबै भ्रष्टाचार, बेथिति, र अनियमितताको विरुद्धमा मोर्चा बनाएर कार्यकारी राष्ट्रपतिको एजेण्डा सहित अगाडी बढेमा मात्र पुरानालाई विस्थापित गर्न सकिनेछ, विजयमा पुग्न सकिने सम्भावना रहन्छ। यो कुरा रास्वपाले कार्यान्ययन गर्ला कि नगर्ला! त्यसैमा उसको भविष्य निर्धारण गर्नेछ।
 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार