ताजा अपडेट »

तालिम र व्यवहारिक सिकाई

विहीबार, ३१ जेठ २०८१, १४ : ५०
192 Shares
विहीबार, ३१ जेठ २०८१
192 Shares

नेपालमा सबैभन्दा फस्टाएको काम भनेकै तालिम हो । २०४६ सालको परिवर्तनपछि नेपालमा विभिन्न खालको तालिम सञ्चालन हुन थालेका हुन् । पञ्चायती व्यवस्थामा ठूलाबडालेमात्र तालिम लिने र तालिम लिन विदेशतिर जाने चलन हुन्थ्यो । बहुदल आएपछि सर्वसाधारणहरुले पनि तालिम पाउन थाले ।

लोकतन्त्र र गणतान्त्रिक व्यवस्थामा तालिम त भक्तपुरे मूलभन्दा पनि बढी सप्रिएकै छ । तालिमले सिकारुलाई नयाँ ज्ञान, सीप र व्यवहार सिकाउँछ । थोरै दिनमा धेरै कुरा सिकाउने तरिका नै तालिम बनेको छ । तालिम प्राप्त गरेपछि धेरै सहभागीहरुले आफूमा नयाँ कुरामात्र होइन, जीवनोपयोगी ज्ञान, सीप र व्यवहार प्राप्त हुन सकेको थाहा पाउन सकिन्छ ।

यतिबेला देशभरि नै सहकारीका तालिम चलेका छन् । वन, वातावरण र जैविक विविधता संरक्षणमुखी तालिम भइरहेकै छन् । छोटो तथा लामो खालको कृषि पाठशालाहरु चलेकै छन् । मौरीपालन, माछापालन, बंगुरपालन र कुखुरापालन तालिमकै कारणले जीविकोपार्जन सम्भव भएको छ । तरकारी खेती, अदुवा वा मूला खेतीले पनि किसानहरुको जीवनमा आर्थिक क्रान्ति ल्याएकै छ ।

विदेशीहरुले नेपालमा साबुनपानीले हात धुने तालिममात्र होइन विपदबाट कसरी बच्न सकिन्छ भनेर प्राटिकल्ली तालिम समेत दिँदै आएका छन् । उद्यमशीलता तालिम प्राप्त गरेपछि नेपालमा केही मानिसहरु उद्यमी समेत बनेका छन् । अचार बनाउने तालिम, मूडा बुन्ने तालिम, सिन्के धूप बनाउने तालिम, मैनबत्ती बनाउने तालिम र झोला वा सुइटर बुन्ने तालिमले समेत नेपाली ग्रामीण समाजमा रोजीरोटीको व्यवस्थापन सम्भव भएकै छ ।

तालिमले भएका ज्ञान, सीपलाई तिखार्दै जीवनमा बाँच्ने नौलो आधार र व्यवहार स्थापित गर्नेनै हो । तालिमले ब्यक्तिमा भएको खुवीलाई पहिचान गरी अघि बढ्ने ज्ञान, सीप थपिदिने वा तिखार्ने नै हो । कटरको काम नै तालिमको हो ।

तालिमको सिलसिलामा यसपालि पूर्वीपाल्पाको देवीनगर जाने अवसर मिल्यो । जेठको उखरमाउलो गर्मी बुटवलमा । गर्मी छलेर दुई÷तीन दिन भएपनि उता जान र चिसो हावा र पानी खान पाउने लोभले जेठ २४ गते विहानै ६ बजे बुटवलबाट तानसेनतिर सुइँकिएँ । इलेक्ट्रीक हाइस मिल्यो गुल्मी जाने । दुई सय नगद तिरेपछि पुगियो उतै ।

पाल्पाको आन्दोलनचोकमा देवीनगर जाने जीपले मलाई कुरिरहेको रहेछ । चढें । आठ बजे जीप हिड्यो । राइडाँडाहुँदै आर्यभञ्ज्याङ्ग जीप पुग्दा विहानको नौ बज्नै लागेको थियो । एक दुई थान मानिसहरु त्यहाँबाट पनि चढे । तानसेनबाट १७ किलोमीटरको दूरीमा रहेको आर्यभञ्ज्याङ्ग पुग्न जीपले करीव एकघण्टा समय लगाइदियो । सबैका सामान बोक्दै लैजाने जीपले गाउँलेहरुको खुबै सेवा गरेको हेक्का भयो ।

त्यहाँबाट जीप गुड्यो र देवीनगर पुग्दा विहानको १० बज्यो । त्यहाँ रहेको स्थानीय होटलमा रासनग्रहण गरें । पूर्वखोला वडा नंंं. ४ देवीनगरका वडाध्यक्ष मेहरसिं थापा आउँदा ११ बज्नै आँटेको थियो । मैले सञ्चालन गर्ने तालिम उद्घोषण तथा भाषणकला तालिम थियो । त्यसमा मिथ्या सूचनाको रोकथाम, फेसबुक र यसमा लेखिने सूचना वा जानकारीका बारेमा समेत ज्ञान, सीप सम्प्रेषण गर्नु थियो मैले ।

वडाको आर्थिक सहयोग रहेको उक्त तालिमको संयोजन तथा व्यवस्थापन गर्ने काम लक्षित वर्ग मूल समन्वय समिति, वडा नंं ४ देवीनगरको थियो । तालिममा विद्यालयका शिक्षक, सहकारी सञ्चालक, स्वाथ्यकर्मीहरु र जनप्रतिनिधिहरुको सार्थक सहभागिता रहेको थियो । उनीहरुले उद्घोषण त गर्दै आइरहेका थिए तर सिकाईपछि उनीहरुले भने–विधिसम्मत् गरेका रहेनछौं ।

तीन दिनसम्म सञ्चालित उक्त तालिममा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक कार्य वा अभ्यासलाई जोड दिइएको थियो । समान स्तर र हैसियत भएका सहभागीहरुका कारण तालिममा सिकाई र प्रभावकारिता उच्चस्तरको रहन गयो । हैसियत अनुसारका सिकाई बैयक्तिक गुण भएपनि सिक्न खोज्नु र सिकाइलाई जीवनमा प्रयोग गर्न खोज्नु सहभागीको विशेष गुण मान्न सकिन्छ ।

सहभागीहरुमध्ये विद्यालयका शिक्षकहरुको उद्घोषणकला प्रभावकारी र उपयुक्त देखिन्थ्यो । जनप्रतिनिधिहरु र सहकारीकर्मीहरुको भाषणकला राम्रो लागेको थियो । फरक पेसा, व्यवसाय र जिम्मेवारीका कारणले पनि काममा समेत फरकपना देखिने रहेछ भन्ने कुरा मैले सोही तालिमको अभ्यासको क्रममा महसुस् गरें ।

धनुमाया घर्तिमगर, लक्की सिंजाली लगायतका साथीहरु उद्घोषण गर्न माहिर थिए भने रेवती घर्तिमगर, रवीनकुमार श्रेष्ठ, चुनीसराहरु भाषणकलामा पोख्त भेटिए । पूर्वखोला गाउँ कार्यपालिका सदस्य समेत रहेकी रेवती घर्तिमगरले उद्घोषणकला आफूले सोचेंभन्दा माथिल्लो काम रहेछ भनिन् । त्यसका लागि आफूले धेरै मिहिनेत गर्नुपर्ने कुरा सुनाइन् ।  उनको आत्मविश्वास थियो–मैलै जसरी नि उद्घोषण सिक्नेछु ।

धनु र लक्कीले भाषणभन्दा उद्घोषण आफूहरुका लागि सजिलो लाग्ने गरेको सुनाए । भाषण गर्न नेताहरुले जस्तो आफूहरुलाई सहज नहुने तर्क सारे । सहकारीकर्मी चुनीसराको भाषणकला राम्रो भएपनि उद्घोषण कलालाई बढी नै मिहिनेत जरुरी रहेको उनले स्वीकारिन् । अम्बिका र भगवती रानाको उद्घोषण एवम् भाषणकला बराबरीको अवस्थामा रहेको पाउन सकिन्थ्यो तर पूर्णता भने दुबैमा भेट्न सकिएन । विधिसम्मत ज्ञानले उनीहरुलाई सीप र व्यवहारमा निख्खरता प्राप्त हुनेछ ।

कार्यक्रमलाई प्रभावकारी र आमदर्शक र स्रोताहरुलाई कार्यक्रममा टिकाइ राख्न उद्घोषकमा विशिष्ट कला हुनुपर्छ । त्यो कला नै उद्घोषणकला हो । कार्यक्रम राम्रो हुने कि नहुने भन्ने कुराको हदसम्म जिम्मेवार उद्घोषक नै हुने गर्छ । उद्घोषण र भाषणकला प्रभावकारी हुन सकेमा कुनैपनि किसिमका कार्यक्रमले सार्थकता प्राप्त गर्न सक्ने छन् ।

उद्घोषण तथा भाषणकला अभ्यासका क्रममा प्रत्येक सहभागीले माइक्रोफोन समाएर पोडियम बोर्डमा उभिएर नै आफ्नो कला प्रस्तुत गर्नुपर्ने व्यवस्था मिलाइएको थियो । उनीहरुको प्रस्तुतिपछि सहभागी साथीहरुबाट पृष्ठपोषण प्रदान गर्ने कार्यक्रम हुन्थ्यो । त्यसमा घरिघरि वडाध्यक्ष मेहरसिं थापा, हरिबहादुर सारुलगायतले आवश्यक राय, सुझाव र पृष्ठपोषण दिने काम गरिन्थ्यो । त्यसका कारण पनि आफ्ना कमजोरीको पहिचान हुने र सुधार्ने अवसर सहभागीहरुले प्राप्त गरेकै थिए ।

अचेल यस्ता खाले तालिमले व्यवहारिक सिकाईमा प्रभावकारी भूमिका निर्वाह गरेका छन् । सिकाईलाई स्थायित्व दिएका छन् । सिकाई दीर्घकालीन बनाउन प्रयत्न र प्रयास भइरहेका छन् । तालिमलाई कार्यान्वयन गर्न सकिएमा त्यसको नतीजा प्राप्त हुनेछ । तालिमपछि प्रभावकारिता परीक्षणका लागि अनुगमन र नियमन जरुरी देखिन्छ । मूल्याङ्कन जरुरी देखिन्छ । आवश्यकता अनुसार पुनर्ताजगी तालिमको समेत खाँचो पर्छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।