ताजा अपडेट »

बुटवलमा रात्रिकालिन बजारको आवश्यकता र अवसर

सोमबार, २८ जेठ २०८१, ०९ : २०
200 Shares
सोमबार, २८ जेठ २०८१
200 Shares

विषय प्रवेश
कुनै पनि देशको भौगोलिक सिमाना भित्र प्रचलित कानुनको मातहतमा रहेर दिवाकालिन समयमा जस्र्तै गरि उत्पादनका सम्पूर्ण साधान तथा खुला अर्थतन्त्रका क्षेत्रहरुले एक आपसमा व्यवसायिक कारोवार तथा आर्थिक कारोवार गर्ने शहरलाई रात्रिकालिन शहरका रुपमा बुझिन्छ । यस्तो प्रकृतीको बजार मुख्य रुपमा पर्यटन उद्योगसँग सम्बन्धित गतिविधिलाई प्राथमिकताका साथ सञ्चालन गर्न एवम् गति प्रदान गर्नका लागि सञ्चालन गरिन्छ । उपभोग्य वस्तुको कारोबार भन्दा धेरै कारोबार रात्रिकालिन शहरमा होटल, रेष्टुरेन्ट, बार, नाचघर, दोहोरीघर लगायत पर्यटन उद्योगसँग प्रत्यक्ष व्यवसायीक सम्बन्ध राख्ने क्षेत्रको हुने गर्दछ ।

रात्रिकालिन शहरको अवधारणा मध्यकालीन चिनियाँ ताङ राजवंशबाट सुरुवात भएको पाईन्छ । सन् ८३६ मा ताङ सरकारले रात्रि बजार र तिनीहरूको सञ्चालनमा कडा प्रतिबन्ध लगाएको थियो । जुन अभिलेखका आधारमा विश्वमा यस प्रकारको शहरको अभ्यास नवौँ शताब्दी भन्दा पहिले नै रहेको बुझ्न सकिन्छ । नेपालमा रात्रिकालिन शहरको सुरुवात सन् १९७४ मा काठमाडौंको दरबारमार्ग, ठमेल बजार र सन् १९८० मा पोखराको लेक साईडमा प्रारम्भिक स्तरका पूर्वाधार विस्तार भएको पाईन्छ । नेपालमा रात्रिकालिन शहरको अभ्यास बढाउनका लागि सन् १९७० बाट थाई एयरले हप्तामा तीन पटक उडान गर्न सुरु गर्नु र राजा महेन्द्रले सन् १९६९ मा दरबारमार्गमा यस प्रकारको बजारको परिकल्पना गर्नुलाई महत्वपूर्ण प्रयासका रुपमा लिन सकिन्छ । यो शहरको वास्तविक अभ्यास पोखरामा सन् २००० बाट भएको कुरा लेकसाईट पर्यटन विकास परिषद्ले बताएको छ ।

बुटवलको संङ्क्षिप्त परिचय
नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप–महानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्दछ । देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगम स्थलमा रहेको यस उप–महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप–महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेको छन् र दक्षिणपट्टिको सीमानाको रुपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाँउपालिका रहेका छन् ।

तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअससम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअससम्म पुग्ने गरेको रेकर्ड गरिएको छ । साविक लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ । विक्रम सम्बत २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुल जनसंख्या १,९४,३३५ रहेको छ  जसमध्ये ९४,८४९ जना पुरुष थिए भने ९९,४८६ जना महिला छन् । ९१.३१ प्रतिशत जनसङ्ख्या साक्षर रहेको बुटवलमा शिशु कक्षादेखि स्ताकोत्तर तहको अध्यापन गराउने शिक्षालयहरुको बाक्लो उपस्थिती रहेको छ ।


बुटवलमा रात्रिकालिन शहरको आवश्यकता किन ?
बुटवल पछिल्लो समयमा औद्योगिक उत्पादन, व्यापार, वाणिज्य,  शिक्षा र वित्तिय संस्थाहरु सञ्चालन, विकास तथा विस्तारको उत्कृष्ट गन्तव्यको रुपमा स्थापित शहरका रुपमा प्रमाणित भएको छ । उनका अनुसार बुटवलमा देशकै उत्कृष्ट नीजी, सामुदायिक विद्यालय र क्याम्पसहरु छन् । बुटवलमा केन्द्रीय कार्यालय रहेको एक बैंक र २ लघुवित्तसहित एक सय बढी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु छन् ।

बुटवलको ऐतिहासिक पृष्ठभूमीका बारेमा अध्ययन गर्दा नेपाल एकीकरण हुनु पूर्व पश्चिम नेपालमा बुटवल राज्यका रुपमा बुटवल रहेको जसको सिमाना पूर्वमा पाल्पा र नवलपरासी क्षेत्र र पश्चिमा प्युठान सम्म विस्तारित भएको पाईन्छ । ती सिमाना भित्रका नागरिकहरुको आर्थिक केन्द्रका रुपमा प्राचिन समय देखी आर्थिक क्रियाकलापलाई सञ्चालन गरेको थियो । यस्तो प्रकारको बुटवल राज्य वि.स. १६१० मा स्थापना भएको थियो । बुटवलको आर्थिक ईतिहास नेपालको आर्थिक ईतिहास जतिकै पुरानो रहेकको पाईन्छ । सन १८१६ को सुगौली सन्धी पछि बुटवल पश्चिम नेपालको मुख्य आर्थिक केन्द्रका रुपमा सञ्चालित भएको थियो । जसको नेतृत्व वर्तमान समयको पुरानो बटौली शहरले गरेको हो ।

बुटवल ११ औं शताब्दीदेखि नै प्रमुख व्यापारीक, आर्थिक तथा वाणिज्यका क्षेत्रमा  नमुना शहरका रुपमा प्रसिद्ध रहेको थियो । यहाँ पहाडका मानिसहरुले घ्यू, सुठो, तेल, जडिबुटी, आदि कृषि उपजहरु ल्याई बिक्री गर्ने तथा आफूहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरुको खरिद गरेर लैजाने गरेका जीवित ईतिहासहरुले पनि बुटवल प्राचिन समयदेखि आर्थिक केन्द्रका रुपमा रहेको प्रमाणित भएको छ । बुटवलको औद्योगिक ईतिहासमा वि.स. २०२० मा सञ्चालनमा आएको शिब बिडी उद्योग र २०३२ सालमा सञ्चालन भएका कृष्ण साबुन उद्योग र बुटवल घ्यू उद्योगलाई लिन सकिन्छ ।

वि.स. २०३२ मा बुटवल औद्योगिक क्षेत्रको निर्माण र लगतै सञ्चालनमा आउनु र वि.स. २०७२ सालमा मोतिपुरमा अर्को औद्योगिक क्षेत्र स्थापना भई सञ्चालनका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढ्नुले बुटवल अव देशको मुख्य आर्थिक शहरका रुपमा स्थापित हुदै गएको पुष्टि भएको छ ।

‘समानता स्वाभिमान र अवसर बस्न योग्य बुटवल शहर’ भन्ने मुख्य नाराका साथ बुटवल उपमहानगरपालिकाले आवश्यक पूर्वाधार विकास तथा बिस्तारका क्षेत्रमा आफ्नो वार्षिक नीति तथा कार्यक्रमलाई केन्द्रित गरिरहेको छ । जसको परिणामस्वरुप पश्चिम नेपालका थुप्रै लगानीकर्ताहरुको लगानी अहिले बुटवल केन्द्रित भएर छिमेकी पालिकाहरुमा बिस्तारीत भईरहेको छ । कोभिड १९ पछि व्यापार व्यवसायमा भित्रिएको खुला बजार तथा उपभोक्ताको सोचमा आएको परिवर्तनका कारणले अनलाईन बजारको समेत विकास भईरहेकोछ ।

नेपाली अर्थतन्त्रमा काठमाण्डौँ, विरगञ्ज , पोखरापछि सशक्त प्रभाव पार्ने शहरका रुपमा पछिल्लो समयमा बुटवल आईरहेको छ । जनगणना २०७८को नतिजाले पनि रुपन्देही बसाइ सराइका लागि आन्तरिक रुपमा पहिलो गनतव्य प्रमाणित गरेको परिवर्तित सन्र्दभमा बुटवलमा उपभोक्ताको मागलाई समेत हृदयगम गर्दै रात्रिकालीन शहरको आवश्यकता रहेको महशुस हुन्छ ।

वर्तमान समयमा बुटवलमा रात्रिकालिन शहरका लागि आवश्यक पर्ने सबै प्रकारका भौतिक पूर्वाधारले समपन्न कालिका पथ तयारी अवस्थामा रहेको छ । कालिका पथमा रातभर नै व्यवसाय सञ्चालन गर्न सकिने तवरको भौतिक र मानविय जनशक्ति बुटवल रहेको कुरालाई यहाँका व्यवसायीक सस्थाहरुले बताईरहेको छन् । यद्यपी रातभर नै सञ्चालन गर्दा स्थानीय बासिन्दालाई असर पर्ने भएकाले पहिलो चरणमा राति १२ बजे सम्म र बजार क्षेत्रको बस्तीसँग आवश्यक सहकार्य र समझदारी शान्त तवरमा सञ्चालन हुने व्यवसायलाई दीर्घकालमा रातभर नै सञ्चालन गर्न सकिन्छ ।

सूर्यास्तपछि सामान्यतया मुख्य तथा व्यापारीक सडकको दायाँबाया रहेका स्थानीय बिक्रेताहरुले आफ्नो मौलिक परम्परा एवम् घरेलु उद्योगका उत्पादन सँगै राष्ट्रिय र अन्र्तराष्ट्रिय उद्योगका उत्पादनहरुलाई बिक्री वितरण गर्ने बजार नै रात्रिकालिन शहर हुन् । वर्तमान समयमा बुटवलमा यसप्रकारका सबै वस्तु तथा सेवा उपलब्ध हुनुको साथै यसका लागि आवश्यक पर्ने स्थानीय मौलिक कला तथा भौतिक पूर्वाधारको अनुकुल व्यवस्थापन रहेकोछ । रात्रिकालिन शहरहरु दैनिक उत्सवमय तरिकाले उपभोक्ताहरुलाई सेवा उपलब्ध गराउने गर्दछ । जुन कुरा बुटवलको कालिकापथ केन्द्रित व्यवसायले पछिल्ला दुई आर्थिक वर्ष देखि उपलब्ध गराउँदै आएका छन् ।

रात्रिकालिन शहरको अन्र्तराष्ट्रिय मापदण्डका अनुसार २४ सैँ घण्टा अत्यवश्कीय सेवा प्रवाहमा कुनै पनि प्रकारको अप्ठयारो नभएको शहरलाई रात्रिकालिन शहर सञ्चालनका लागि कानुन सम्मत तरिकाबाट स्वीकृती दिन सकिने कुरा उल्लेख गरिएको छ । रात्रिकालिन शहर सञ्चालन गर्नको लागि सुरक्षा व्यवस्थापन पहिलो चुनौती रहन्छ । बुटवलको सन्र्दभमा भारतसँगको खुला सिमानाले प्रत्यक्ष प्रभाव पार्न सक्ने दरिलो सम्भावना रहेता पनि विज्ञान र प्रविधिको उच्चतम् प्रयोगबाट यो समस्या समाधान गर्न सकिन्छ । वर्तमान समयमा वैकल्पिक आम्दानीको उचित स्रोत प्राप्त गर्न नसकि स्नातक अध्ययन गर्ने उमेरका धेरै युवा वैदेशिक रोजगारीमा जान बाध्य भईरहेका छन् । जसका कारण नेपालको पुँजी निर्माण प्रक्रिया आसातित गतिमा अगाडी बढ्न सकिरहेको छैन ।

अर्थतन्त्र विषम परिस्थितीमा सञ्चालित भएको छ । कोभिड १९ र प्रदेश राजधानीको स्थानान्तरण ,बुटवल अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र, पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल, अव्यस्थित औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रका कारण रुपन्देहीमा नीजि क्षेत्रको १० खर्ब भन्दा धेरै लगानी जोखिममा परेको अवस्थामा गुमेको बुटवलको आर्थिक चलायमानलाई लयमा फर्काउने बलियो शुत्र र आवश्यकता नै रात्रिकालिन शहर हो ।

रात्रिकालिन शहर सञ्चालनमा बुटवलको अवस्था
कोभिड १९ को विश्वव्यापी प्रभावमा क्रमिक रुपमा कमि आईसकेपछि २०७८ सालदेखि बुटवलमा रात्रिकलिन शहरको सञ्चालनका बारेमा वहस सुरु भएको छ । यस बहसलाई व्यवहारीकतामा रुपान्तरण गर्न सक्ने रात्रिकालिन बजार सञ्चालन गर्न प्रस्ताव गरिएको कालिकापथमा न्यूनतम आधारभूत पूर्वाधारहरु तयार गएिका छन् । जसका कारणले वर्तमान समयमा सो क्षेत्रका व्यवसायीक गतिविधिहरु बढिरहेका छन् ।

बजारको व्यवस्थापनका सन्र्दमा स्थानीय सरकारले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न नसक्नु नै हो । यातायातको सहज पहुँच स्थापना, सबै प्रकारका व्यवसायीको सामुहिक उपस्थिती, इनटरनेट र सञ्चारका अन्य माध्यको गर्विलो बाक्लो उपस्थिती, सानादेखि तारे तहका होटल लजको व्यवस्थापन, सुविधा सम्पन्न मनोरञ्जन गृहका सेवामा बिस्तार, बैकं तथा वित्तीय कारोबारका लागि शाखा कार्यालयहरुको सहज पहुँच, प्रशस्त पार्किङ्ग सुविधा सहितको खुला सडक, मुख्य राजमार्ग र भित्रि सडकहरुबाट सजिलै पुग्न सकिने, निजीक्षेत्रले व्यवस्थापन गर्नु पर्ने जनशक्ति सजिलै व्यवस्थापन गर्न सकिने आधारहरु, आपतकालिन अवस्थामा सबै सहायक मार्गहरुबाट सजिलै राहत र उद्धारका कार्य गर्न सकिने गरि सडकको प्रयाप्त व्यवस्थापन भएको , निजी क्षेत्रले यस क्षेत्रलाई रात्रिकालिन शहर बनाउनका लागि अहिले सम्म ४१ अर्ब बराबरको लागानी गरेको छ ।

बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि तयार गरिएको वार्षिक नीति तथा कार्यक्रमको रोजगार प्रवद्र्धन तथा सहकारी शिर्षक अन्तरगतको बुदा २४० को वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गर्ने र विद्यार्थीहरुका लागि कमाउँदै पढ्दै गर्ने कार्यक्रमलाई निरन्तरता दिनको लागि रात्रिकालिन बजार उपयुक्त विकल्प हो ।


रात्रिकालिन शहरको लागि बुटवलमा गरिएका प्रयास
क.बुटवल उपमहानगरपालिकाले गरेको प्रयास
१.बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९/८० का लागि तयार गरिएको वार्षिक नीति तथा कार्यक्रमको उद्योग, वाणिज्य तथा पर्यटन प्रवद्धन शिर्षकको बुदा नम्बर ६ यसप्रकारको प्रयास गर्ने उल्लेखित थियो– ‘बुटवलको आर्थिक गतिविधिलाई थप चलायमान बनाई बजारलाई गुल्जार गर्न आवश्यक र समयको माग समेत भएको हुदाँ कालिकापथ, अमरपथ र राममन्दिरपथ लगायतको क्षेत्रमा प्रशासनिक निकायहरुसँगको समन्वय र साझेदार संस्थाहरुको सहकार्यमा रात्रिकालिन बजार सञ्चालनको व्यवस्थापन मिलाईनेछ ।’
२.बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि तयार गरिएको वार्षिक नीति तथा कार्यक्रमको उद्योग, वाणिज्य तथा पर्यटन प्रवद्धन शिर्षकको बुदा नम्बर २२९ मा  यसप्रकारको प्रयास गर्ने उल्लेखित छ –‘बुटवलको आर्थिक गतिविधि थप चलायमान एवम् गुल्जार बनाउन कालिकापथ, अमरपथ लगायत स्थानमा रात्रिकालिन बजार सञ्चालन गरिनेछ ।’

ख. व्यवसायीक संघ संस्थाको अगुवाईमा भएको प्रयास
१.होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुटवल उपमहानगरपालिका प्रमुखको उपस्थितीमा मिति २०७९ पौष १ गते सरोकारवालाको बीचमा रात्रिकालिन बजार व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको सोही कार्यक्रममा मेयरले आजकै मितिबाट बुटवल कालिकापथमा रात्रि ११ बजे सम्म कारोवार सञ्चालन गर्न स्वीकृती दिएको थियो । उक्त सार्वजनिक स्वीकृती कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिकाको कार्यालयमा पटक पटक डेलिगेसन र पत्राचार गरिएको अवस्था छ ।
२. रात्रिकालिन शहरको सुरक्षा व्यवस्था व्यवस्थापन गर्नका लागि प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधिको बीचमा मिति २०८० कात्तिक १ गते बुटवलमा अन्तरक्रिया गरिएको थियो । सोही कार्यक्रममा रात्रिकालिन शहर आवश्यक रहेको र छिटो सञ्चालन गरिने निष्कर्ष निकालिए पनि कार्यान्वयनमा आउन सकिरहेको छैन् ।

अबको कार्ययोजना
    रात्रिकालिन बजार सञ्चालनका लागि आधार निर्माणमा नकारात्मक प्रभाव पारेको स्पा व्यवसायको गतिविधिलाई प्रशासनको सहयोगमा नियन्त्रण गर्नु आवश्यक छ ।
    पुगौँ रुपन्देही, घुमौँ दिनभरी आराम र मनोरञ्जनका लागि बुटवलमा रात्रि सफारी अभियान सञ्चालन गर्नु पर्नेछ ।
    रात्रिकालिन शहरको अवधारणा अभ्यस्त भईसकेको कालिकापथमा सुरक्षाका लागि स्थानीय सरकार, जिल्लाका सुरक्षा निकाय, स्थानीय बासिन्दा र व्यवसायीक संघ सस्थाको लगानी र निगरानीमा अत्याधुनिक सिसिटिभि क्यामेराको जडान हाईमास्ट बत्तिको जडान, स्टीट लाईटको प्रयोग तथा ड्रोन र प्रट्रोल गस्तीको व्यवस्थापन गर्ने ।
    बाह्य पर्यटकको बसाइ अवधि बढाउनका लागि साँस्कृतिक डबली तथा विशेष प्याकेज, बुटवलको मौलिकता झल्काउने कार्यक्रमहरु स्थानीय सरकार र निजी क्षेत्रका विभिन्न संघ सस्थाहरुबाट संयुक्त साझेदारीमा बनाई अभ्यासमा लैजानु पर्ने ।
    नजिकैको पालिकाबाट आउने आगन्तुकहरु रात्रिकालिन शहरको आनन्द लिन आउने आन्तरिक पर्यटकका लागि सुरक्षित , मर्मादित यातायात सुविधाको व्यवस्था स्थानीय व्यवसायिक सस्था र प्रशासनको समन्वयमा सञ्चालन गर्ने ।
    रात्रिकालिन व्यवसायमा देखिएको लगानी जोखिम न्यूनीकरण गर्नका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले परियोजनामा आधारित पुँजी प्रवाह कार्यक्रम सञ्चालन गर्नु पर्ने ।
    कोभिड १९ र प्रदेश राजधानीको स्थानान्तरणबाट बिस्तारै खुम्चिएको बुटवलको आर्थिक कारोवारको गतिलाई पुनःउत्थानका लागि आन्तरिक पर्यटनका कार्यक्रममा सबै नागरिकको पहुँच बिस्तार गर्नका लागि जिल्लाका १६ पालिकाका सँग सहकार्यको वातावरण सिर्जना गरिनु आवश्यक छ ।
    जग्गावाला तथा घरवालाहरुबाट पिडित हुने क्रम वढिरहेको कारणले गर्दा सरकारका निकायको प्रत्यक्ष रोहवरमा कानुन व्यवसायी सहित करार सम्झौता गरिनु पर्ने ।
    व्यवसायिहरु श्रमिकको सामाजिक सुरक्षा कार्यक्रमका लागि प्रतिबद्ध हुनु पर्ने ।
    तिनै तहका सरकारको संयुक्त प्रयासमा रात्रिकालिन व्यवसायसँग सम्बन्धित प्राविधिक, व्यवसायिक सीप प्रदान गर्ने पाठशाला स्थापना र सञ्चालन हुनु पर्ने ।
    प्रहरी प्रशासनबाट आगन्तुकको मनोवलमा नकारात्मक प्रभाव पर्ने गरिने चेक जाच कार्यक्रमलाई रोक्नु पर्ने । बुटवललाई मनोवैज्ञानीक रुपमा सुरक्षित विश्रामस्थलका रुपमा विकसित गर्न सरोकारवाला सबैको सामुहिक प्रतिबद्धता हुनु पर्ने ।
    रात्रिकालिन बजारमा नेपाली खानालाई ब्राण्डका रुपमा विकसित गर्दै लैजानको लागि कृषकहरुको मनोवल बढाउने कार्यक्रमहरु सञ्चालीत हुनु पर्ने । यसका लागि छपिँयाको माछाहरुको मौलिक परिकार उपलब्ध गराउन सकिन्छ ।
    पदयात्रा पर्यटनका लागि हिलर्पाक , बसन्तपुर , नुवाकोट, चारापाला सामुदायिक वन परिसर, सैनामैना डाडा लगायतका ठाँउमा पदमार्ग निर्माण सञ्चालन गरि रात्रिकालिन शहरको आनन्द लिन साझ बुटवलमा आगन्तुक ल्याई सुरसिक्षत बसोबासको व्यवस्था गर्नु आवश्यक छ ।

निष्कर्षः
दीवाकालिन समयमा जस्तैँगरि रातको समयमा पनि उत्पादन र उपभोगका सबै प्रकारका आर्थिक कारोवारहरु सहज तरिकाले सञ्चालन हुने बजार नै रात्रिकालिन शहर हो । रुपन्देहीको परिवर्तित आर्थिक सामाजिक पूर्वाधार विस्तारको गति र यसले सिर्जना गरेको आर्थिक वातावरणका आधारमा बुटवल उपमहानगरपालिकाको कालिकापथमा रात्रिकालिन शहर सञ्चालनका लागि आवश्यक सबै आधारहरु तयारी अवस्थामा रहेको छ । यसलाई दीगो, मर्यादित एवम् व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि सरकारवालाहरुका बीचमा साझा प्रतिबद्धता र सामूहिक नेतृत्वको जरुरी छ ।

सन्दर्भ सामग्री :

- Adhikari, J. Singh, R., & Bhatta U. (2017), Hospitality Management, Basics & Beyond, LCCI Books.

- Dahal, R. & Paudel, S. (2015), Travel & Tourism, Kathalya Publication, Nepal.

- Economy  Servey (2020/21). Ministry   of  Fianance, Nepal.

- Economy  Servey (2021/22). Ministry   of  Fianance, Nepal.

- International Bank for Reconstruction & Development,(1979) Nepal: Development Performance & Propects. Washington D.C. World Bank.

- Nepal Tourism Board Statistics (2020), MoCTCA ,Nepal Government.

(लेखक आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुन् ।)

 

 

 

 

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल