ताजा अपडेट »

राजनीतिको उँधमुन्टो अवस्था

विहीबार, २४ जेठ २०८१, १० : ५३
98 Shares
विहीबार, २४ जेठ २०८१
98 Shares

महेन्द्र बहादुर सिंह

शोषित, पीडीत जनताहरू न्याय माग्दै सडकमा, जनप्रतिनिधि सांसदहरू परस्पर संसदमै  घम्साघम्सीमा, ठगहरू फरारको अवस्थामा र आरोपितहरू नेताहरूको टाङ्मुनी ओति रहेको अवस्था छ। बालमन्दिर जग्गा काण्ड छानबिनको क्रममा जारी पक्राउ पुर्जी राजनीतिक रापबाट लल्याकलुलुक परेको छ। राजनीतिमा ढलीमली गरिरहेका तीन दलका नेताहरू आफ्नाहरूलाई बचाउन बार्गेनिङगको अवस्थामा र जनताको प्रतिनिधित्व गरिरहेका अन्य दलहरू पर्ख र हेरको अवस्थामा छन्। संविधान प्रदत्त वाक् स्वतन्त्रताको उपयोग गर्दा सामाजिक संजालबाट हुने थ्रेटको कारण राष्ट्रिय कलाकारद्वयले सार्वजनिकरूपमा माफी मागेको र सहकारी ठग्ने ठूला ठगहरू मूलतः तीन ठूलो दलहरूमा आवद्ध रहेको अवस्था छ।

बुढीगण्डकी हाईड्रोपावर प्रोजेक्टमा ओली, देउवा र प्रचण्डले ९ अर्ब बाँडी खाएको र त्यो पुष्टी गर्न आफू तयार रहेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक खुलासा गर्नु भएको वर्षौ बितिसक्यो तापनि हालसम्म चाइँचुइँ केहि नभएको अवस्था छ। पहिलो पटक विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहाललाई प्रतिपक्षको वेञ्चमा रहेर पनि २०७९ पुस २६ गते पक्षमा मतदान गरेर  नेपाली कांग्रेसले प्रजातान्त्रीक मूल्य मान्यता र परम्पराको क्रमभङ्ग गरेको थियो।

भूतपूर्व प्रधानमन्त्री ओली राष्ट्रिय राजनीतिको शहंशाह बन्न प्रपञ्च  रचिरहेको, नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालमा इमान नभएकोले राजनीतिक धोखेबाज, बेइमानी ठहर गरेको मुख्य सचेतक रमेश लेखकले संसदको रोस्टम बाट (२४ फागुण २०८०) गर्जनको साथ उद्घोष गरेको र सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री लामीछानेले संसदमा बोल्दै गर्दा देशको गोप्य सुचना विदेशी लाई बेच्ने ऐजेन्ट र ऐजेन्टहरू लाई पनि बाहिर पठाउ संसद बाट हटाउ ती जतिसुकै शक्तिशाली होस् देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस् भन्दै एकाधिकारवादी सोचको प्रतिनिधित्व गरिरहेका थिए ।

२०८१ जेठ ७ गते संसद भित्र विरोधमा नाराबाजी गरिरहेको कांग्रेस सांसदहरूलाई मर्यादापालकहरूको धेराबन्दीमा पारेर विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसको लागि मूल्य चर्को पर्ने भन्दै ललकारेको जनतालाई स्पष्ट जानकारी छ। संसदमा रिकर्डेट छ । ‘आफू नमर्दासम्म देशमा उथलपुथल  भइरहन्छ’ भनि भाषण गर्ने प्रधानमन्त्री हामीले पाएका छौ।

संघ मात्र होईन् प्रदेशहरू पनि जथाभाबीको अवस्थामा रहेका छन्।निश्चयपनि राजनीतिमा सम्भावना प्रचुर रहन्छ।तर राजनीतिमा जेपनि सम्भव हुन्छ भन्ठान्नू गलत बुझाई हो। विडम्बना यही गलत बुझाई र बुझपचाही कै कारण जताततै दुर्व्यवस्था र अस्वाभाविकता व्याप्त छ। नेताहरू खुट्टाको बलमा हिँडि रहेका छैनन् अपितु टाउकाको बलमा धिस्रिरहेका छन्। किनकी राजनीतिको अवस्था उँधमुन्टो (अप साईड डाउन) छ।

सर्वत्र व्याप्त दुर्दशाको कारकको सवालमा प्रत्यक्ष परोक्ष जोडिएका मूलतः तीन ठूला दलहरूले बार्गेनिङ्, सेटिङ्ग् र फिक्सीङलाई हतकन्डाको रूपमा प्रयोग गर्दै आएको अनगन्ती उदाहरणहरू छन्। भ्रष्टाचारको जरो उखेल्न, भ्रष्टाचारीलाई कानूनको कठघरामा उभ्याउन, जहाँतहीँ व्याप्त ठगी विचौलिया दलाल माफीया सबैलाई ठेगान लगाउन् दृढ रहेको, जनता माझ अत्यन्त लोकप्रिय दल रास्वपा र त्यसको सभापति स्वयं बार्गेनिङ, सेटिङ्ग् र फिक्सीङको  हतकन्डाको जालमा अल्झदै गएको ताजा राजनीतिक परिदृश्यले देखाउद छ। हेक्का रहोस् त्यो जाल सजिलै फारिने  छैन्।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।