ताजा अपडेट »
आप्रवासन नीति

पोर्चुगलमा आप्रवासन नीतिमा कडाइ, हजारौं नेपाली प्रभावित हुने

बुधबार, २३ जेठ २०८१, ०८ : ४२
208 Shares
बुधबार, २३ जेठ २०८१
208 Shares

काठमाडौं । पोर्चुगल सरकारले आप्रवासीहरूका लागि नयाँ नीति पारित गरेको छ । सरकारले विभिन्न ४१ वटा बुँदाहरूमा समेटिएको नयाँ नीतिमा आप्रवासीहरूलाई पोर्चुगल भित्रिनको लागि थप कडा गरिएको छ । यसबाट नेपालीहरू मात्र होइन पोर्चुगलमा आप्रवासीको रूपमा बस्न चाहने विश्वभरीका नागरिकहरू प्रभावित हुने भएका छन ।

यसअघि युरोपेली संघ बाहिरका मानिसहरूले पोर्चुगलमा एक वर्षसम्म ‘सामाजिक सुरक्षा’ कर तिरेपछि त्यहाँको आवास अनुमति प्राप्त गर्न निवेदन दिन पाउँथे । तर, त्यो अब बन्द हुने भएको छ । पोर्चुगलले आप्रवासीको रूपमा भित्रन चाहनेहरूका लागि अध्यागमनको कानुन परिवर्तन गर्दै अनुमति नदिने नीति लिएको छ ।

सोमबार पोर्चुगलको संसदमा पेश भएको प्रस्ताव मंगलबार राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले पारित गरेपछि पोर्चुगलमा आप्रवासीहरूका लागि नयाँ नीति लागू भएको हो । आप्रवासीका रूपमा पोर्चुगलमा बसोवास गर्न चाहनेहरूको विचाराधीन मुद्दालाई ध्यानमा राख्दै यो नीति लिइएको राष्ट्रपतिको वेवसाइटमा उल्लेख गरीएको छ ।

नोटमा भनिएको छ ‘हजारौं विचाराधीन आवासिय अनुमति प्रक्रियाहरू नियमित गर्ने अवस्थालाई ध्यानमा राख्दै गणतन्त्रका राष्ट्रपतिले एक विशिष्ट डिप्लोमा जारी गर्नुभएको छ । आजको अवस्थालाई सम्मान गर्दै त्यसलाई व्यवस्थित गर्न र नयाँ प्रक्रियाको भार कम गर्न नयाँ नीति लिइएको छ ।’

सरकारले आप्रवासी प्रवेशको नीतिलाई परिवर्तन गर्दै विदेशीहरूलाई प्रवेश दिएपनि तत्काल आवासीय सुविधा दिन नसक्ने जनाएको छ । यसअघि नै दर्ता भएका ४० लाख भन्दा बढि आवासीय अनुमतिका लागि दिइएको आवेदनको काम सकिएपछि मात्र नयाँ नीति लिइने पनि जनाएको छ ।

‘अब नियम विना प्रवेश गरेकालाई आवासीय अनुमति दिने कार्यको अन्त्य भएको छ’मन्त्रिपरिषदद्वारा अनुमोदित आप्रवासन कार्य योजनामा भनिएको छ ‘अबदेखि पर्यटक भिसा भएका विदेशीहरूले पोर्चुगलमा आवासीय अनुमतिका लागि निवेदन गर्न पाउने छैनन् । रोजगारी सम्झौता वा पोर्चुगल कन्सुलर नेटवर्कबाट आएकाहरूले मात्र आवासीय अनुमतिका लागि आवेदन दिन सक्नेछन् ।’

यो घोषणापछि हजारौं नेपाली प्रभावित हुने आकलन गरिएको छ । आप्रवासी सम्बन्धि नीतिमा कडाइ गर्ने नयाँ योजनाले पोर्चुगलको सपना बुनेका हजारौं नेपाली प्रभावित बन्ने भएका हुन् नयाँ व्यवस्थाले हालसालै पोर्चुगल पुगेर पनि आवास अनुमतिको प्रकिया सुरु गरिनसकेका नेपालीहरू पनि समस्यामा पर्नेछन् ।

पोर्चुगल सरकारले रेसिडेन्सी कार्डको लागि आवेदन दिने प्रक्रिया ‘एक्सप्रेशन अफ इन्ट्रेस्ट’ बन्द गरिसकेको छ । पोर्चुगल सपना देखेर नेपालदेखि माल्टा, रोमानिया, क्रोएशिया जस्ता देशहरूका भिसा प्रक्रिया थालेका हजारौं नेपाली पनि प्रभावित बन्ने भएका छन् । अब पर्यटक बनेर वा अवैधानिक रूपमा पोर्चुगल  प्रवेश गरेर कार्ड बन्ने कुनै सम्भावना भने सकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।