ताजा अपडेट »
सन्दर्भ : विश्व वातावरण दिवस

गफाडीका गफ नबनोस् : विश्व वातावरण दिवस

बुधबार, २३ जेठ २०८१, ०८ : ३८
108 Shares

विश्व पर्यावरणप्रति वैश्विकस्तरमा राजनीतिक  र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ मा विश्व वातावरण दिवस मनाउने निर्णय भएको थियो । पहिलो पटक सन् १९७४ को जुन ५ मा भव्य तरिकाले विश्व वातावरण दिवस मनाइएको पाइन्छ । संसारभरिका देशले यो दिवस आआफ्नै तरिकाले मनाउँदै आएका छन् । विश्व तापमान बढ्दै जाँदा र वातावरण प्रदूषित हुँदै गएकोले यो दिवसको दिनप्रतिदिन महत्व बढ्दै गइरहेको पाउन सकिन्छ ।

विश्वभरिको स्वच्छ वातावरणमा क्षयीकरण हुँदै गइरहेको वर्तमान परिवेशमा वातावरण जोगाउनुपर्छ भन्ने देशहरु र जोगाउन प्रयत्न गर्ने देशहरु अति नै न्यून छन् । ठूला औद्योगिक राष्ट्रहरुका कारण विश्वको वातावरणमा प्रदूषण बढीरहेको पाउन सकिन्छ । वातावरण जोगाउने काम गरीव र निमुखा देशहरुकै जिम्मेवारीमा रहेको जस्तो प्रमाणित हुन थालेको छ । कार्वन व्यापारको नाममा आज यही तथ्यलाई पुष्टि गर्दैछ ।

कोप २८ मा समेत वातावरणीय मुद्दालाई प्राथमिकता दिएको पाइन्छ । विकसित तथा सम्पन्न राष्ट्रहरुले वातावरण संरक्षण र अक्सिजन बढी उत्पादनमा जोड दिने मुलुकहरुलाई क्षतिपूर्ति स्वरुप सहयोग गर्ने योजना बनाएता पनि हात्ती आयो हात्ती फुस्साको कहानीलाई पुष्टि गर्दैछ । संसार, पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण छ तर यसको प्रयोग गलत तरिकाले हुँदै गर्दा विनाश र क्षतिको गणना सम्भव नहुने अवस्था सिर्जना हुन थालिसकेको छ । प्राकृतिक रुपमा आउने सबै जोखिम वातावरणको असन्तुलन नै हो भन्न सकिन्छ ।

नेपालले पनि आफ्नै तरिकाले विश्व वातावरण दिवस मनाइरहँदा वातावरण संरक्षण र सदुपयोगको कुरा अति नै न्यून उठ्ने गरेको छ । नेपाल सरकारले २०७६ सालमा वातावरण नीति ल्याएपनि कार्यान्वयन पक्ष अति नै फितलो देखिन्छ । नेपालको संविधानको धारा ३० ले प्रत्येक नेपालीलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको छ । वातावरण संरक्षण बहुआयामिक राष्ट्रिय तथा अन्तरदेशीय विषय रहेको हुँदा नेपालले वातावरण सम्बन्धी र अन्तरपुस्ता समन्यायका लागि वातावरणीय स्रोतमाथि न्यायोचित पहुँच र तिनको बुद्धिमतापूर्ण उपयोगको प्रत्याभूति गर्नु राज्यको दायित्व हुन्छ । यसका लागि नेपालका तीनै तहका सरकारको अपसी सम्बन्ध जरुरी देखिन्छ ।

अब्यवस्थित सहरीकरण, पूर्वाधार विकास, वातावरणीय असन्तुलन, एकीकृत र योजनावद्ध विकासमा कमजोरी, औद्योगिक, व्यापारिक एवम् अस्पतालबाट निस्कने विभिन्न प्रकारका फोहोर तथा प्रदूषणको सही व्यवस्थापन हुन नसक्दा वातावरण दैनिकरुपमा बिग्रिदो छ । प्रत्येक नागरिकको कर्तव्य वातावरण संरक्षण गरी स्वच्छ वातावरणमा रम्न पाउनु हो । वातावरण नीति,कानून,मापदण्ड निर्माण र यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा आज हाम्रो देशमा वातावरण संरक्षणका कुरा गफाडीको गफ सावित हुँदैछ ।

भएका वनजंगलको संरक्षण र सही सदुपयोग गर्न नसक्दा र वनप्रतिको निर्भरता घटाउन नसक्दा संसारभर वातावरणमा असर पुगिरहेको पाउन सकिन्छ । नयाँ बिरुवा रोप्ने कामको अभाव र वृक्षरोपण गरेका विरुवाहरुलाई जोगाउन नसक्दा आज संसारभर वातावणीय जटिलता थपिदैछ । घरबाट निक्सिने फोहोर मैला, प्लाष्टिको अत्यधिक प्रयोग र व्यवस्थापनको समस्याले गर्दा वातावरण सन्तुलनमा क्षति पुगेको छ । कार्वन उत्सर्जन बढी भइरहेको अवस्थामा अक्सिन धेरै फाल्ने विरुवाहरुको संरक्षण र रोपण हुन सकिरहेको छैन ।  

वातावरणमैत्री नीति, योजना, कार्यक्रमहरु तयार हुन नसक्नु पनि एउटा मुख्य समस्या हो भने वातावरणमैत्री योजना तयार भएरपनि कार्यान्वयनमा जाटिलता आउनु अर्को विकराल समस्या हो भन्न सकिन्छ । विकासे कामहरु वातावरणमैत्री हुन नसक्दा समस्या देखिएको छ । आज हाम्रा खोलानालामा ढल मिसाइएको छ । खेतका गह्राहरुमा प्लाष्टिका पोकाहरु थुप्रिएका छन् । धान रोप्ने बेलामा हस्पिटलबाट निक्लिएका सूइहरु हातमा रोपिएका छन् । वातावरणलाई हानी गर्ने रासायनिक औषधीहरु प्रयोग धेरै भएका छन् ।

हामीले हाम्रो क्षेत्रको वातावरण सुरक्षित गरौं । स्वस्थ र हराभरा बनाऔं । वातावरण सुन्दर बनाउने अभ्यास आफ्नै ठाउँबाट गरौं । सडकपेटीमा बसेर संरक्षणको गफ होइन, आफ्नै गाउँठाउँमा रहेर संरक्षणमुखी र संरक्षणमैत्री काम गरौं । वातावरणमैत्री समाज बनाउने अभियानमा लाग्ने विश्व वातावरण दिवसले सबैलाई सन्देश र प्रेरणा प्रदान गरोस् । (लेखक : सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पाका अध्यक्ष हुन् । )

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार