ताजा अपडेट »

बुटवलमा शनिबारदेखि ए डिभिजन क्लब छनोटका लागि जिल्ला लिग हुँदै

शुक्रबार, ११ जेठ २०८१, १७ : २३
1.15K Shares
शुक्रबार, ११ जेठ २०८१
1.15K Shares

बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा जिल्ला स्तरीय ए डिभिजन लिग सुरु हुने भएको छ । जिल्लाका ९ वटा क्लबहरु बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–११ स्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिताका लागि ए डिभिजनमा रहेका ७ वटा क्लब तथा बी डिभिजन लिगबाट छनोट भई बढुवा भएका २ वटा क्बल गरी ९ टिम बीच प्रतिस्पर्धा हुन लागेको खेल संयोजक तथा एन्फा रुपन्देहीका महासचिव हिमाल गौचनले जानकारी दिए । जिल्लामा रहेका ८ समूह ए डिभिजनमा रहे पनि एक समूह सहभागी हुन टुङ्गो नलाग्दा ९ समूह बीच मात्रै प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गौचनले पहिलो दिन एक मात्र उद्घाटन खेल तथा त्यसपछि प्रत्येक दिन २ वटा खेल हुने बताए ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कूल ३६ वटा खेल हुने छन् । प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले ५० हजार, तेस्रो हुनेले ३० तथा चौथो स्थान हासिल गर्ने क्लबले २० हजार नगद राशी प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको एन्फा रुपन्देही उपाध्यक्ष मुकेश कुंवरले जानकारी दिए ।

जिल्लामा ए डिभिजन क्लब छनोटका लागि आयोजना गरिने यो लिगबाट अंक तालिकाका आधारमा पुच्छारका २ वटा क्लब डिभिजन बी मा घटुवा हुने छन् भने अन्य क्लब डिभिजन ए मा कायम रहने छन् । प्रतियोगितामा यो वर्ष समुह एमा बढुवा भएका हिमाल युथ क्लब र सिम्रीक युथ क्लबसँगै साविक विजेता सुनौलो संगम युवा क्लब, गोर्खा ब्वाईज, बुटवल युनाइटेड, सौभाग्य युवा क्लब, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब र डिएमसी रहेका छन् । कार्यक्रमका अवसरमा बोल्दै एन्फा रुपन्देहीका अध्यक्ष लोक पुनले जिल्ला लिगबाट नयाँ खेलाडी उत्पादन हुने विश्वा व्यक्त गरे । प्रतियोगिताको उद्घाटन खेल शनिबार दिउँसो साढे ३ बजदेखि एन्फा मैदानमा साविक विजेता सुनौलो संगम र हिमाल युथ क्लब बीच हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।