ताजा अपडेट »

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

सोमबार, २४ बैशाख २०८१, १० : १२
130 Shares
सोमबार, २४ बैशाख २०८१
130 Shares

न्युयोर्क, अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले 'सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता' विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ । मे ४, २०२४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन वातावरणको जननी बिरुवामा पानी राखेर गरिएको थियो ।   

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले समुदायमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । प्रमुख अतिथि थापाले समुदाय र प्रेसको सुमधुर सम्बन्धपश्चात् मात्र स्वतन्त्रतालाई पूर्ण रुपमा अगाडि बढाउन सक्ने बताउनुभयो । थापाले मिडियामा ठूलो चुतौती आएको बताउँदै हिजो जोसँग सूचना हुन्थ्यो त्यो शक्तिसाली हुने गरेको थियो भने आज सूचनाको स्पष्टता नहुँदा समाजमा कन्फ्युजनको वातावरण बढेको बताउनुभयो । 

‘विश्वमा बढ्दै गएको सोसल मिडियाले पनि समुदायमा सूचनासम्बन्धी विभिन्न कन्फ्युजन उत्पन्न गर्ने गरेको छ,’ प्रमुख अतिथि थापाले बताउनुभयो । थापाका अनुसार गलत समाचारले समाजमा गलत धारणा उत्पन्न गर्ने हुँदा समाज गलत बाटोतिर गएको पाइने गरेको छ । समाजमा व्याप्त गलत सूचनामार्फत चुनौती सिर्जना गरिरहेको हुँदा यसलाई चिर्नका लागि नेजालाई युएनको मिसनसँग मिलेर अगाडि बढ्नसमेत आग्रह गर्नुभयो । नेपालको विकास, राजनीति, जलवायु परिवर्तन, स्वास्थ्य क्षेत्र, शान्ति स्थापनालगायतका क्षेत्रमा मिडियाको ठूलो भूमिका रहेको हुँदा यूएनसँग मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो । साथै, अहिले यूएनले नेपालमा जलवायु परिवर्तनबाट पर्न सक्ने असरका बारेमा विभिन्न कार्यक्रम गर्दै आएको छ बताउँदै यस्ता खाले कार्यक्रममा नेपालको मुद्दालाई अभिव्यक्त गर्नका लागिसमेत आग्रह गर्नुभएको थियो । प्रमुख अतिथि थापाले प्रवासमा रहेका पत्रकारहरूलाई समग्रमा नेपाल र डायस्पोरालाई जोड्ने कार्यमा सक्रिय रुपमा अगाडि बढ्नसमेत आग्रह गर्नुभयो । 

नेजा अध्यक्ष सुरज भण्डारी अध्यक्षता एवं महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा विषयवक्ताको रुपमा अमेरिकाको ओहायो राज्यमा रही पत्रकारिता विषयमा विद्यावारिधि गरिरहनुभएका पत्रकार प्रकाश आचार्यले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’  को बारेमा प्रकाश पार्नुभएको थियो । आचार्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालबीच ठूलो भिन्नता रहेको बताउनुभयो । साथै, आचार्यले समाचार प्रकाशन गर्ने तरिका फरक-फरक हुने हुँदा समाजमा असर पर्ने खालका विषयवस्तुलाई समाचार बनाउनु उपयुक्त नहुने बताउनुभयो । साथै, विषयवक्ता आचार्यले समाजमा विकृति ल्याउने खालका समाचारलाई प्राथमिकता नदिनसमेत आग्रह गर्नुभयो । 

सो कार्यक्रममा सामुदायिक पत्रकारिताका चुनौतीका सन्दर्भमा बोल्दै नेजाका पूर्वमहासचिव किरण मरहट्ठाले प्रवासमा रहेका पत्रकार र नेजाले सामुदायिक पत्रकारिताको नमुना पेस गर्न सफल भएको बताउनुभयो । यस्तै, समुदायले पत्रकार र पत्रकारले समुदायलाई सम्मान गर्न सक्दा मात्रै दुवै पक्षलाई फाइदा पुग्ने बताउनुभयो ।  

नेजाका अध्यक्ष सुरज भण्डारीले कार्यक्रमको उद्देश्य, नेजाका योजना एवं समुदाय र पत्रकारितालाई जोड्न नेजाको भूमिकाका सन्दर्भलाई जोडेर आफ्ना धारणा राख्नुभएको थियो । अध्यक्ष भण्डारीले नेजा उत्तर अमेरिमा रहेका पत्रकारहरूको संस्था नेजा भएकाले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै नेजाले आफ्नो योजना तथा कार्यक्रम अगाडि बढाएको बताउनुभयो । यसैगरी, नेजाका महासचिव बाबुराम दाहालले नेजाले समुदायमा भएका कार्यक्रम एवं गतिविधिका बारेमा प्राप्त समाचार एवं समुदायलाई आवश्यक पर्ने सूचना नेजाले अमेरिकाबाट प्रकाशन हुने सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने गरेको बताउनुभयो । महासचिव दाहालले समुदायमा गरिने गतिविधिका बारेमा विस्तृत जानकारी समेटेर नेजालाई उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको थियो ।

यसैगरी, कार्यक्रममा बोल्दै नेपाल सरकारका पर्यटन प्रवर्धक गोकुल श्रेष्ठले  सन् २०२४ मा १२ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष रहेको बताउनुभयो । साथै, अमेरिमा बसेर नेपाललाई नेपाली आँखाले होइन अमेरिकी आँखाले हेर्न आग्रह गर्दै आफू र आफ्ना सन्ततिलाई छुट्टीको समयमा नेपाल जाने वातावरण मिलाउनसमेत आग्रह गर्नुभयो । 

सो अवसरमा बोल्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले निष्पक्ष पत्रकारिताका आवश्यकतामा जोड दिनुहुँदै प्रवासमा रहेका पत्रकारहरूले गैरआवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरताका बुलन्द आवाज उठानुपर्ने बताउनुभयो । यस्तै, नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्टले लोकतन्त्रमा लागि प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउँदै समुदायका गतिविधि मिडियामार्फत आमजनसमुदायमा पुर्याउन मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । यसैगरी, अधिकारकी निर्देशक नर्बदा क्षेत्रीले व्यक्ति र संस्था हेरेर भन्दा कामका आधारमा रिपोर्टिङ गर्न र निष्पक्षता देखाउन पत्रकारसमक्ष आग्रह गर्नुभयो । यस्तै, एनआरएनए अमेरिका उत्तर-पूर्व क्षेत्रीय संयोजक आङछिरिङ शेर्पाले सकारात्मक प्रवाभ पार्ने समाचार सामग्री संप्रेषण गर्न विशेष जोड दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा फोनिजका पूर्वअध्यक्ष मोहनसिंह लामाले वातावणीय संकट अहिलेको मुख्य समस्या भएको हुँदा पत्रकारले यस विषयलाई महत्त्व दिएर समाचार सामग्री प्रकाशन एवं प्रसारण गर्न अनुरोध गर्नुभयो । 

यसैगरी, नेजाका सदस्य कल्पना घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले नेजाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा मे २५ र २६, २०२४ हुने १७औं साधारण सभाका बारेमा जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्नुभएको थियो ।

नेजाका उपाध्यक्ष सुजन पण्डितको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा नेजाका सल्लाहकार मच्छेदेवी गुरुङ,  नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, पत्रकारहरू लोकमणि राई, मोहनसिंह लामा, प्रेमिला गौचन, सुनिता कोइराला, सन्तोष शर्मा, किरण पाण्डे, बद्री गौतमलगायतले आफ्ना भनाइ राख्नुभएको थियो । 

राजदूत प्रा. खत्रीसँग अन्तरक्रिया
वासिङटन डीसी ।

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा अमेरिकाको डीसी मट्रो क्षेत्रमा अवस्थित अमेरिकाका लागि नेपाली दूतावासको कार्यालयमा राजदूत प्रा. श्रीधर खत्रीसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अन्तरक्रिया गरेको छ । सो अन्तरक्रियामा राजदूत प्रा‍. खत्रीले दूतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म सेवा प्रवाहमा विशेष ध्यान दिइरहेको बताउनुभयो । अमेरिकामा रहेका समुदायले दूतावासप्रति शिविर सञ्चालन नगरेको भन्ने गुनासोको बारेमा पत्रकारहरूको तर्फबाट सोधिएको प्रश्नमा राजदूत प्रा. खत्रीले दूतावासमा पर्याप्त जनशक्तिको अभावले गर्दा समुदायको मागबमोजिम शिविर सञ्चालन गर्न नसकिएको स्वीकार गर्नुभयो । प्रा. खत्रीले अन्य राज्यमा दूतावासले शिविर सञ्चालनका बारेमा तयारी गरिरहेको बताउनुभयो । राजदूत प्रा. खत्रीले आफ्नो समस्याका बारेमा दूतावसमा इमेलमार्फत सम्पर्क गर्न आग्रह गर्नुभयो । यस्तै, राजदूत प्रा. खत्रीले नेजा र नेजामा आबद्ध पत्रकारहरूले नेपाल र नेपाली डायस्पोरालाई जोड्नका निम्नि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै प्रवासमा रहेका व्यक्तिहरूले नेपालमा गरिरहेको सहयोगका सन्दर्भमा पनि रिपोर्टिङ गर्न आग्रह गर्नुभयो । 
सो अन्तरक्रियामा नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, डीसी मेट्रो संयोजक हरिमाया काफ्ले, नेजाको अनुशासन समिति संयोजक, आजीवन सदस्य एवं सतीश चापागाईं, नेजा सदस्य सागर घिमिरेलगायतको टोली सहभागी थियो । सो अन्तरक्रियामा दूतावासको तर्फबाट इकोनोमिक काउन्सिलर युवराज पाण्डे र द्वित्तीय सचिव उत्तम घिमिरेको सहभागिता रहेको थियो ।

सुरज भण्डारी
लेखकको बारेमा
सुरज भण्डारी
अध्यक्ष–नेजा (नेपाल अमेरिका पत्रकार संघ)