ताजा अपडेट »

गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता

मंगलबार, २७ चैत्र २०८०, १० : ००
90 Shares
मंगलबार, २७ चैत्र २०८०
90 Shares

मनहरी (हेटौँडा), २६ चैत । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो । सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज अनुज्ञा पत्र प्रदान गरेको उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो ।

उपमहानगर प्रमुख मीनाकुमारी लामाले यहाँ उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग बताईन् । उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उनले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाईन् । उनले पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने जानकारी दिईन् ।

होटल व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जिल्लामा मासिक एक हजार दुई सय किलो गुन्द्रुक खपत हुने गरेको बताए । उनले होटलहरुले यहीँ उत्पादन भएको गुन्द्रक खपत गर्नेमा प्रतिबद्धता जनाए । “सरकारी मान्यता प्राप्त भएपछि हामीले गुणस्तरका विषयमा शंका गर्नु परेन । अब जिल्लाका होटलहरुमा यहाँ उत्पादित गुन्द्रक प्रयोगमा समस्या छैन”, उनले भने ।

गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै बजारीकरणका लागि बाटो खुलेको छ । करिब चार महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।
उपमहानगरपालिकाको रु एक लाख लगानीबाट सुरु अग्र्यानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरु निकै खुशी भएको उद्यमी समूहका अध्यक्ष चिनिमाया गुरुङले बताईन् ।

“उपमहानगरले हामीलाई दिएको हौसलाले अहिलेको अवस्था आएको हो ।  उपमहानगरको सहयोग र सहकारीको रु ८० हजार ऋणबाट १५ कठ्ठा जमिन भाडामा लिएर सागखेती गरी गुन्द्रुक उत्पादन गरिएको हो”, उनले भनिन् । अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाएको उनले बताईन् । “अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाउँदा रु तीन लाख बराबरको गुन्द्रुक यत्तिकै थन्किएको थियो, अब सजिलो भएको छ”, उनले भनिन् ।

यस समूहमा हाल १२ जना छन् । समूहले गत असोजमा उपमहानगरपालिकासँग सम्झौता गरी मंसिरबाट गुन्द्रुक उत्पादन सुरु गरेको थियो । उद्योग शाखाको तथ्याङ्कअनुसार उपमहानगरले आठ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएपनि हाल दुई सय ६८ जना उद्यममा जोडिएको जनाएको छ ।

#हलो खबर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।