ताजा अपडेट »

एसईई परीक्षा सकिएसँगै चिट चोर्न प्रयोग भएको ३ हजार मोवाईल फिर्ता

शनिबार, २४ चैत्र २०८०, १९ : ४७
160 Shares

रौतहट । भर्खरै सकिएको एसईई परीक्षामा विद्यार्थीले चिट चोर्नका लागि प्रयोग गरेका मोबाइलहरु सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ । यस वर्ष रौतहटमा एसइइ परीक्षामा व्यापक रूपमा डिजिटल चोरी मौलाएको भन्दै सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट करिब ३ हजार मोबाइल बरामद गरेको थियो । 

बरामद गरिएका मोबाइलहरू शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सम्बन्धित स्थानमा रहेका प्रहरी चौकी मार्फत सम्बन्धित विद्यार्थीहरुलाई वितरण गरेको थियो । प्रहरीले ३ हजार मोबाइल सेटहरू सम्बन्धित विद्यार्थीलाई वितरण गरेको जनाएको छ । रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीले चिट चोर्ने प्रयोजनका लागि परीक्षा हलभित्र लगेका मोबाइलहरु सुरक्षा निकायले बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर मातहतका विभिन्न प्रहरी चौकी मार्फत बरामद गरिएका मोबाइलहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।

अघिल्ला वर्षहरूमा हुने एसइइ परीक्षामा ब्ल्याकबोर्डमै लेखाएर चिटचोराउने प्रचलन रहिआएकोमा यस वर्षबाट मोबाइलबाटै शिक्षकहरूले चोरी गराएको आरोप लागेको थियो । यस वर्ष व्यापक रूपमा डिजिटल चोरी भएको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले विभिन्न परीक्षा केन्द्रमै प्रवेश गरेर विद्यार्थीहरूबाट ३ हजार  सेट मोबाइल बरामद गरेको थियो ।

डिजिटल चोरी गराउनेमा अधिकांश रौतहट जिल्लाका निजी शैक्षिक संघ संस्थाहरू रहेको एक तथ्याङ्कले देखाएको पाइएको छ । एक अभिभावकका अनुसार निजी बोर्डिङमा महँगो शुल्क तिरेर पनि चिट चोराएर एसइइ पास गराउनु भन्दा सरकारी विद्यालयमै पढाउनु फाइदा छ । चन्द्रनिगाहपुरका विभिन्न निजी विद्यालयहरूले सेटिङ मिलाएरै परीक्षा केन्द्र तथा कोठामा चिर चोराएको आरोप लागेपछि अभिभावकहरूको मन निजी स्कुलबाट कुँडिएको बुझिएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।