ताजा अपडेट »

बुटवल र भैरहवामा पनि पठाओ सेवा : दर्ता हुन चाहने 'राइडर'लाई आवेदन खुला

बुधबार, २१ चैत्र २०८०, १३ : २२
2.99K Shares

बुटवल। राइड सेयरिङ व्यवसायमा परिचित कम्पनी पठाओले लुम्बिनी प्रदेशका मुख्य सहरहरू बुटवल, नेपालगञ्ज र भैरहवामा सेवा बिस्तार गर्न लागेको छ ।

पठाओले लुम्बिनीका तीनसहित मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्न लागेको हो । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ । बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध कम्पनीले जनाएको छ ।

त्यसैगरी बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो । भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना छ ।

कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४सै घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ । सेवाग्राहीले कुनै पनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासो तथा सुझाव दर्ता गराउन सक्छन् । एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा दिन र लिन सक्छन् ।

कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ । हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् ।

एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् । पठाओले राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।