ताजा अपडेट »

आजदेखि एसईई शिक्षा : नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू हुने

विहीबार, १५ चैत्र २०८०, ०६ : १९
154 Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदै छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षामा देशभरबाट पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर महाश्रम शर्माले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरेको बोर्डले जनाएको छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयबाट सहभागी हुन लागेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । परीक्षाका लागि कार्यालयले दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक तथा सबैभन्दा बढी काठमाडौंमा एक सय २७ वटा परीक्षा केन्द्र छन् ।

यस वर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने केन्द्रले जनाएको छ । यस वर्षदेखि ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनैपर्छ । यसैगरी दुई वटा विषयमा ३५ भन्दा कम अंक ल्याएमा पुनः ग्रेडिङमा सहभागी हुन पाइने भए पनि त्यसभन्दा बढी विषयमा कम अंक ल्याएमा पुनः ग्रेडिङमा सहभागी हुन नपाउने व्यवस्था रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।