ताजा अपडेट »

अस्थीर सरकार : अवस्था कि अवसर !

मंगलबार, १३ चैत्र २०८०, १५ : ५५
268 Shares
मंगलबार, १३ चैत्र २०८०
268 Shares

नेपालको इतिहासमा पूरा समय सञ्चालन भएको कुनै स्थायी सरकार देखिएन । जनताले चुनेर पठाएको सरकारको आयु पाँच वर्षको हुन्छ तर सो पाँच वर्ष निरन्तर एउटै पार्टी वा व्यक्तिको सरकार टिक्न सकेको प्रमाण छैन । चाहे २०१५ सालको नेपाली काङ्ग्रेसको दुई तिहाइको सरकार होस् वा  पञ्चायती व्यवस्थामा राजा निर्देशित पञ्च सरकार किन नहोस् । २०७४ सालमा कम्युनिष्टको बहुमत सरकार समेत पूरा समय टिकेन । नेपालमा किन यस्तो हुन्छ ? किन पूरा समय सरकार टिक्दैन ?

भूपी शेरचनको कविता झैं बन्यौ र हामी फगत क्यारेमबोर्डका गोटी ? स्टाइकर अर्के छन् वा क्वीन अरु नै ? किन यसरी सरकार र सत्तामा छिनाझपटी छ सधैं ? सत्ता र सरकारमा नरहँदा पार्टीको सर्वस्व नै गुम्छ ? प्रतिपक्षको भूमिकामा रहँदा पार्टी गुमनाम नै हुन्छ ? कि प्रतिपक्ष बेञ्चमा बस्दा हीनतावोध हुन्छ ? पटकपटक यसरी सरकारमा नेतृत्व परिवर्तन भइरहनु उत्तम विकल्प हुन सक्छ ?

भूगोलले सानो तर भावनाले बडेमानको देश हो नेपाल । नेपालीहरु बिराट दिलका छन् । नेतृत्वले भनेको मान्छन् । जे गरभन्दा पनि तत्काल गर्न र मर्न तयार हुन्छन् । नेता भनेपछि हुरुक्कै हुने हामी नेपालीले कहिलेसम्म यसरी दास वा अवसरवादी चरित्र बोकेर एकोहोरो हिँडिरहने छौं ? हामीमा कहिले आउला आलोचनात्मक चेत ? नेताहरुसँग आँखामा आँखा जुधाएर बोल्ने सामर्थ्य ? कहिले गर्ने छौं नेता सामुन्ने दोहोरो सम्वाद ? तर्क र तथ्यमा टेकेर नेतासँग कहिले बोल्ने हिम्मत जुटाउने छौं हामीले ?

सरकारको यसरी हुने परिवर्तनले नयाँ पुस्तालाई के सिकाउँदैछौं हामीले ? जति सीट जितेपनि सरकारमा जान पाउने अवसरले जनताको अभिमतको कदर भएको छ ? जनमतको सार यही हो ? लोकतन्त्र, गणतन्त्रको सुन्दरता के हो ? बहुमतको शासन र अल्पमतको सम्मान होइन र ? बहुमतले गर्ने असल शासन र अल्पमतले प्रतिपक्षको भूमिका दरोरुपमा गर्न सक्ने हो भने सरकारमा हुने यो खालको परिवर्तन पानीका फोका सावित हुने थिए ।

जसले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको कुरा गर्छन् तर स्थायी रुपमा संरचना वा संगठित लोकतन्त्र र गणतन्त्रको अभ्यासमा कमजोरी किन देखाउँदैछन् । किन प्रयास र प्रयत्नहरु असफल प्रायः हुँदैछन् । जेल,नेल र कालकोठरी भोगेका नेतृत्वले आजको नयाँ पुस्तालाई आफ्ना पीडाबाट सिकेर नौलो चिन्तन र व्यवहारिक ज्ञान किन बाँड्न सकेका छैनन् । सरकारलाई स्थायी वा मूर्तरुप दिएर किन जनताको सर्वस्व नै संसद हो । सरकार हो भन्ने कुरालाई बिर्सेर सडक नै सरकारको विकल्प हो भन्ने सन्देश प्रवाह हुँदैछ ।

नेतृत्वमा क्षणिक स्वार्थ लुकेको देखिन्छ । दौरासुरुवाल र चौबन्दी चोलीमा ठाँटिएर घुम्ने कुर्चीमा बस्दैमा जनताको आमूल परिवर्तन सम्भव देखिएन । जनतालाई गरीखाने बनाउने र सरकार नै जनताको सेवक हो भन्ने सन्देश दिन सरकार कमजोर देखियो कारण अस्थीर सरकारले त्यसको जिम्मा लिन सम्भव भएन । यस्तो हुनुमा सरकारको आयु औंलामा रहनु पक्कै हो ।

हाम्रो देश भूपरिवेष्ठित मुलुक हुनुको कारणले वा दूई छिमेकी राष्ट्रहरुको चपेटामा परेर सरकार अस्थायी भएको होला त ?  नेपालीहरुको निर्णय गर्ने क्षमताको अभावका कारण ससाना समस्याहरुका समाधानका लागि गुहार माग्ने गलत प्रवृति हावी भएर आजको अस्थीर सरकार बन्न पुगेको हो त ? अस्थायी सरकार वा अस्थीर सरकार बन्नुमा देशको निर्वाचन प्रणाली नै गलत हो त ? प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली नै यसको कारक तत्व हो त उसो भए ? यसरी अस्थीर सरकार बनिरहने अवस्था सिर्जना हुने हो भने सबै पार्टीहरु मिलेर निर्वाचन प्रणाली नै परिवर्तन गर्न संविधान संशोधनको बाटोमा किन अग्रसर हुँदैनन् त ?

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली वा राष्ट्रपतिय प्रणाली नै उत्तम हो वा लाग्छ भने सबैको मत किन एक ठाउँ हुन यति कठिन ? घरमा आगो लगाएर खरानी घसेर हिड्न रुचाउने ‘नेपाली समाज’ भनेर परिभाषित गर्न मिल्छ उसो भए ? नत्र किन सधैं हामी धमिलो पानीमा माछा मार्न रुचाउँछौं त ? किन सधैं दुवाली थुनेर माछाको सट्टा भ्यागुता समाउन तयार छौं ? अस्थीर सरकार नेपालीको चाहना हो वा विदेशीको रहर हो ? कि कसैका लागि अवसर हो ?

स्थायी सरकार, नेपालीको चाहना हो । यसले सबैको भलो गर्छ । राजनीति, परिवर्तनमात्र होइन बरु यो समृद्धिको कोसेढुंगो हुनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको चाहना पूरा गर्न स्थायी सरकार आजको आवश्यकता हो । नत्र सरकारको मात्र होइन व्यवस्थाप्रति नै नेपालीको चाहना फेरिन सक्छ । त्यतिबेला नेपालका पार्टीहरुलाई यो कुरा गरुँगो सावित हुन पनि सक्ला तर हामी आजको त्यो घडीमा पुगिसकेका छैनौं । यही व्यवस्थालाई व्यवस्थापन गर्दै गणतन्त्रको सुदृढीकरण र शुद्धीकरणको अभियानमा सरिक बनौं । नेपालीहरु स्थायी र जनमुखी सरकारको कामना गर्दैछन् । आशा गर्दैछन् ।

 

 

 

 

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार