ताजा अपडेट »

बुटवलको कान्ति माविद्वारा देशका नमुना शैक्षिक संस्थाहरुको अध्ययन

मंगलबार, २९ फागुन २०८०, १२ : १३
174 Shares

बुटवल । मुलुककै उत्कृष्ट सामुदायिक शैक्षिक संस्था मध्येको कान्ति माध्यमिक विद्यालय बुटवल–४ रुपन्देहीले देशका विभिन्न सामुदायिक शैक्षिक संस्था तथा विश्वविद्यालयको अध्ययनका लागि भ्रमण सम्पन्न गरेको छ । शैक्षिक भेटघाट तथा नमुना अभ्यासहरुका बारेमा जानकारी लिन यही फागुन २५ गतेदेखि २८ सम्म शैक्षिक भ्रमण सम्पन्न गरेको हो ।

शैक्षिक क्षेत्र सुधारका लागि सरोकारवालाहरुले निर्वाह गर्नुपर्ने भूमिका बारे विद्यालय प्रशासन र शिक्षकहरुका बीचमा योजना निर्माण लगायतका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको विद्यालयका सहायक प्राधानाध्यापक केदारनाथ ज्ञवालीले जानकारी दिए । शिक्षकहरुको पेसागत क्षमतालाई समय अनुसार देशका अन्य नमुना विद्यालयहरुले कसरी सञ्चालन गरिरहेका छन्  भन्ने विषयमा अध्ययन गर्नका लागि कार्यक्रम गरिएको उनले बताए ।

विद्यालयमा शिक्षक, अभिभावक र व्यवस्थापन समितिका बीचमा शैक्षिक गुणस्तर सुधारका लागि के कस्ता नयाँ मोडलहरु प्रयोग गर्न सकिन्छ भन्ने उद्वेश्यले अध्ययन भ्रमण सम्पन्न गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य कृष्ण प्रसाद अर्यालले बताए ।
 
शैक्षिक अवलोकन भ्रमण कार्यक्रम अन्तरगत नवलपुरको ढोगिको त्रिभुवन बाल मावि, दोलखाको जिरी मावि र जिरी प्राविधिक शिक्षालय जिरी नगरपालिका र काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्व विद्यालयमा भएका असल अभ्यास र कान्ति माविले अपनाएका असल अभ्यासको बारेमा छलफल गरिएको प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा अभिभावक संघका प्रतिनिधिसहित ४० जनाको सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।