ताजा अपडेट »

रोहिणीका ८५ जना छात्रालाई साईकल : उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

शुक्रबार, १८ जेठ २०८१, १८ : २४
642 Shares
शुक्रबार, १८ जेठ २०८१
642 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण तथा आधारभूत स्तरीय परीक्षा कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । ‘गाउँपालिका अध्यक्षसँग बालिका कार्यक्रम’ अन्तर्गत शुक्रबार साईकल वितरण तथा सम्मान गरिएको हो ।

रोहिणी–३ स्वामीनगर, धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ८५ जनालाई साईकल वितरण गरिएको रोहिणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । अतिविपन्न तथा जेहेन्दार गरी ८५ जनालाई साईकल वितरण गरिएको घिमिरेले जानकारी दिए । उनले भने, ‘कार्यक्रममा कक्षा ८ गाउँपालिकाभरीमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । हरेक विषयका दुईजना सर्वोत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको छ ।’

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताए । उनले सडक, भवन बनाएर मात्र विकास नहुने भएकोले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको बताए । अध्यक्ष यादवले भने, ‘चेतनाको विकास गर्न पनि जरुरी छ । सडक र ठूला भवन मात्र बनाएर हुँदैन । शिक्षा क्षेत्रलाई अगाडि बढाउन सामूहिक रुपमा अघि बढेका छौं ।’

rohini school pgm

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले आगामी दिनमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई पनि सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अभिभावकले आफ्ना बालबालिकाको निगरानी गर्नुपर्छ ।’ वडा नम्बर १ का वडाअध्यक्ष तथा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक आबिद अली पठानले आगामी दिनमा यो कार्यक्रमलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिने बताए । वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले सर्वाेत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्दै आएको बताए । उनले साईकलले विद्यार्थीहरुको मनोबल बढाउने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले रोहिणी गाउँपालिकाले अत्यन्तै राम्रो काम गरेको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षकमा उर्जा, जोस र जाँगर बढाउने विश्वास व्यक्त गरे । छिपागढ माध्यमिक विद्यालयका शिक्षक अहमद अली अन्सारीले विद्यार्थीहरुको मिहिनेतको कारण शिक्षकले निधारमा रातो टीका लगाउन पाएको बताए । उनले आगामी दिनमा राम्रो नतिजा ल्याउन सके सम्मानको महत्व अझ बढ्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।