ताजा अपडेट »

बागमती प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक

मंगलबार, १५ फागुन २०८०, १० : ३१
62 Shares

हेटौँडा  बागमती प्रदेशमा सर्वदलीय बैठक शुरु भएको छ। आइतबार बसेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति नजुट्दा पुनः बैठक बस्नेगरी सहमति भएको थियो। बैठकमा सदन सञ्चालनका सन्दर्भमा दलहरूबीच छलफल भइरहेको बताइएको छ।आइतबार बसेको सर्वदलीय बैठकमा सदन चलाउन दिने समझदारी भए पनि बजेटका सन्दर्भमा रहेका विवाद भने समाधान हुन सकेको छैन।

प्रदेशसभाका प्रतिपक्षी दलहरूले सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेका थिए । सहमति अनुसारको बजेट विनियोजन गर्न नसके संसद् बैठक पनि सञ्चालन चल्न नसक्ने चेतावनी प्रतिपक्षी दलले दिएका थिए। दलहरू भने फागुनभित्रै संसदीय समितिलाई पूर्णता दिन सहमत भएका छन्। नेतृत्व चयनका लागि बैठकले दलहरूका सचेतकको नेतृत्वमा एउटा कार्यदल समेत गठन गरेको छ। कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले बताए।

विगतमा प्रतिपक्षी दलसँग भएको सहमतिलाई कार्यान्वयन गर्न सरकारले अधिकतम प्रयास गर्ने पनि उनले बताए। मुख्य सचेतक ढकालले प्रदेशसभाको हिउँदे अधिवेशन प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक ढंगले छलफल अघि बढेको पनि दाबी गरे।प्रदेश सभा बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।