ताजा अपडेट »

जीवन र नसा!

शुक्रबार, ११ फागुन २०८०, ११ : १४
592 Shares

पछिल्लो हप्ता पार्टी बैठकको लागि म काठमाण्डौं जाँदै गर्दा कान्छि छोरी अस्मिताले सोधिन  ‘बाबा! तपाइको पार्टीले विकास गरेर अगाडी बढ्छ ?’ ‘मैले भने ‘खै छोरी, बढ्छ वा बड्ँदैन, त्यो कुरा भविष्यले बताउँला तर मेरा साथीहरू त्यहाँ छन्, मन मिल्ने साथि पनि छन्, झगडा गर्ने साथी पनि त्यहाँ छन्, त्यसैले म बैठकमा निरन्तर जाने गरेको छु ।’

माघ २१ गते विष्णु मुस्कानजीको छोराको विवाहमा योगीकुटी नेपाली कांग्रेस अर्घाखाचीकी उपसभापती बहिनी शान्ता भण्डारीसगँ भेट भयो, मैले सोधे ‘बहिनी ! अहिले पुस्तक पसल छ कि छैन ?’  
‘दाजु! नाम मात्रको छ ,कहिले  खुल्छ, कहिले बन्द हुन्छ, के गर्ने दाजु ! मेयरमा उठाएर आफ्नैले पराजीत गरेँ । बसौं भने पनि मनले मान्ने रहेनछ ! राजनीति भनेको नसा रहेछ की दाजु !’ भनेर बहिनीले भने कि थिइन।  

रोमाखर खनालका चारवटा बस चल्ने गर्दथे, कहाँ कता के बिग्रियो, सबै बसहरू ऋणात्मक बने, पछि सबै बसहरु कोहि बैंकले, कोहि साहुहरुले तानी दिए । जसले गर्दा रोमाखरजी गाडी बिहीन बने । एक महिना पछि बजारमा भेट भयो, मैले सोधे,  ‘के छ रोमाखरजी हाल खबर! सन्चै छौं?’ 

उनले भने ‘हजुर दाजी ! सन्चै छौं, नयाँ खबर फेरी मैले एउटा पुरानो खटरा बस किनेको छु , दाजी’  फेरी मैले सोधे ‘तिम्रा पहिलेका त्यति राम्रा बसले त प्रगति गरेनन् भने यो खटरा बसले के प्रगति हुन्छ र भाइ? ’ उनले भने–हेर्नुस् दाजु! म एक महिना खाली बस्दा मलाई समय कटाउन कठिन भयो। म बहुलाउछु की जस्तो लाग्यो, कहाँ बस्ने, को सँघ के कुरा गर्ने? गाडीवालाका कुरा अरुले बुझ्दैनन, त्यसैले यो खटरा घाटैमा चले पनि कमसेकम समय त कट्छ, गाडी साहुको पदावली त रहिरहन्छ।  

अमेरिकाबाट नेपाल आएको बेला हजुरआमाले चराउँदै आउनु भएको दशवटा बाख्रा हजुरआमाले दुःख पाउनु भयो भनेर उनको नातिले सबै बाख्रा बेचिदिए , केहिदिन पछि  हजुर आमा डिप्रेसनमा जानुभयो, बाख्रा चराएर वहाँको समय कटेको थियो, बाख्राले वहाँलाइ भुलाएको थियो, आज यो वनमा लैजान्छु । भोली यो बनमा लैजान्छु भन्ने गर्दथिन अर्थात उनको समय त्यसरी नै कटिरहेको थियो, जब उनि बेरोजगार बनिन, उनको समय कटन छाड्यो ,मनमा कुराहरु जम्मा हुन थाले, उनीमा डिप्रेसन आयो । जिवनभर भैँसी पालेका ठुलाबाको भैँसी बेचाएर छोराले शहर लैजाँदा ठुलाबा बिरामि हुनुभयो  । 
राजनीतिमा यो कुरा अझ बढी लागु हुन्छ, राजनीतीमा नसा नसामा जोस भरिएको हुन्छ, हामि छ सालमा जन्मिएको पार्टी आजसम्म पचास पटक फुटेर टुक्रा टुक्रा भएको छ, हामि सबै टुक्रिएका नेता कार्यकर्ताहरु आफुलाई सबैभन्दा बढी क्रान्तिकारी,  आफ्नो नेता सबैभन्दा उन्नत, आफ्नो पार्टी सबैभन्दा अग्रगामी क्रान्तिकारि भनेर घाटी सुकुनजेल चिच्चाउने गर्दछौं ।

मामाघरको निम्ता होस् कि ससुरालीको पुजा, बिमार छोराछोरी छोडेर समेत हामी पार्टीको कार्यक्रममा जाने गर्दछौं, कुनै सम्मेलन, बैठक या अधिवेशनमा जान मिलेन भने हामिलाई ठूलै चोट लाग्ने गर्दछ, हामीमा राजनैतीक नसा यति धेरै भरिएको छ कि कहिले काहि हामि मर्न र मार्न समेत तयार हुन्छौं ।  म दास्रो  संविधान सभामा उम्मेदवार बनेर निर्वाचनमा सहभागी हुँदा मलाई ज्ञान भयो कि  छिमेकीले छोराको विवाह गर्न पर्यो, मलाई भन्छन्, कतै कहि  मुद्दा मामिला पर्यो मलाई भन्छ्न, ऋणधनको कुरा भयो मलाइ भन्छन्, उनीहरु पनि हरेक व्यवहारिक काममा मलाई सघाउने गर्दछन् तर जब निर्वाचनमा मत दिने कुरा आउँछ उनीहरु
बटारिन्छन । 

अहँ हजुर! यो कुरा त हुँदैन, हुँदै हुँदैन किनकि म त कांग्रेस हुँ नी ! हजुरलाई भोट दिन कहाँ मिल्छ ! अर्काले भन्छ अहँ ! यो कुरा हुँदै हुँदैन, म त जन्मजात एमाले, अर्कोले भन्छ, म त जन्मजात मसाल, मैले अर्कालाई भोटदिन कहाँ मिल्छ ! यो सबै के हा? यो राजनैतीक नसा हो ।  नसाको अभावमा संसारको कुनै पनि मानिस सन्तुष्ट रहन सक्दैन, अस्ति तिरासि वर्ष उमेर पुगेका हामि सबैका गुरु मोहन बिक्रम सिंह सङ्गठन विस्तारको निम्ति अर्घाखाँची पुग्नु भएछ, वहाँ चालिस वर्षदेखि निरन्तर पार्टी प्रमुख हुनुहुन्छ ,बुढो हुनुभयो छाड्नुस  भन्ने हो भने वहाँमा पनि डिप्रेसन आउन सक्दछ  ।

त्यस्तै सिपि मैनाली, रोहितजी, झलनाथ जी सबै असि वरपर हुनुहुन्छ तर नेतृत्वको नसाले छाडेको छैन, वैधजी पनि असि पुग्नुभयो वहाँ पनि वहाँको भाषामा क्रान्ति पुरा गरेरै मर्ने भनेर अक्सिजन लिएरै भए पनि क्रान्तिको मैदानमा डटी रहनु भएको छ।  त्यस्तै बिप्लवजी, लगाएतका  घटकहरु पनि अपुरो क्रान्ति पुरा गर्ने नसा लागेकै छ । धनाढ्यहरुलाई हामि देखेका छौँ । उनीसँग अरब, खरब या भनौँ हामिले गन्न नसक्ने सम्पती थुपारेका छन् तर फेरी पनि तिनीहरु सम्पतीको नसामा यति धेरै ग्रसीत भएका छन् कि उनलाई मिनेटको समेत फुर्सद छैन् ।  भागेको भागै छन्, दगुरेको दगुरै छन् ।

धर्मको नसामा लागेका पात्रहरुको बारे पनि हामिले अनुभुती गरेकै छौं कि उनीहरु कसरी एकांकी बनी रहेका छन् । त्यस्तै शिक्षकहरुलाई शिक्षकको सङ्गठन चाहियो, बिधार्थिलाइ  विद्यार्थी चाहियो, मजदुरलाइ मजदुर चाहियो, सैनिकलाइ सैनिक  चाहियो, जनपदलाई जनपद चाहियो, महिलालाई महिला चाहियो, युवालाई  युवा चाहियो, बुढालाइ बुढाहरु चाहियो, त्यसैले त सारा सङ्गठनहरु क्रियाशील  छ्न, ब्यापारीहरुका आफ्ना सङ्गठन छ्न, कर्मचारीका छ्न, विविध जातजातिका छ्न, विविध धर्म सम्प्रदायका छ्न, यी सबै गतिविधिले मानिसलाई गति र जिवन दिइरहेको  छ, बाच्ने र सक्रिय हुने हौसला प्रदान गरिरहेको छ।

समग्रमा भन्नुपर्दा जिवन एक नसा हो, यो संजीवनी हो, बाँच्नको निम्ती नभै नहुने कुरा हो  । भन्ने गरिन्छ कि खाली दिमाग सैतानका घर, यो भनाईमा सत्यता छ, मानिस खाली भयो, बेरोजगार  भयो, कुनै  त्यसलाई एकाग्र बनाउने विषयवस्तु छैन् भने त्यो गलत दिशातर्फ मदिरा वा अन्य नसालु पदार्थ तर्फ आकर्षित हुने खतरा रहन्छ । हाम्रो बुझाइमा रक्सी, चुरोट, खाजा वा यहि भेराइटीका अन्य वस्तुहरु जो दिमागलाई नसामय बनाउँछन त्यो वस्तुलाई मात्र हामिले नसा भनेर बुझ्ने गर्दछौं । 

त्यो कुरा होइन रहेछ । जीवनको लागी नसा अनिवार्य छ तर कुन खालको नसा भन्ने कुरामा ध्यान पुराउन जरुरी छ, साथै नसाको मात्राको ख्याल गर्न जरुरी छ । आवश्यकता भन्दा बढी नसालु हुँदा घर बिग्रने, परिवार बिग्रने ,राजनीती बिग्रने, सम्वन्ध बिग्रने, समाज बिग्रने खतरा रहिरहन्छ ।  त्यसैले त्यसलाई समय, समाज र परिस्थितिको आंकलनद्वारा त्यसको मात्रा निर्धारण गर्नु पर्दछ ।

अतः  हामि सबैले हेक्का राखौं कि मानिस स्वस्थ रहनको लागी उसको दिमाग कहि न कहि इंगेजमेन्ट हुन जरुरी छ। कुनै पनि नसा एकाएक छुटाउने प्रयास गर्दा नकारात्मक प्रभाव पर्ने, दुर्घटना समेत हुने सम्भावना रहन्छ ।  त्यसैले, ‘अति सर्वत्र वर्जयेत’  भने जस्तै अन्धो बनेर नसामा कुदी रहने आदत जस्लाई ’वान साइडेड, भन्ने गरिन्छ , त्यसलाई क्रमशः  सन्तुलनमा ल्याउन जरुरी छ तर सबै प्रकारका नसाहरु खराब हुन्छन् भन्ने भनाई वस्तुगत होइन र यथार्थतासगँ मेल खाँदैन कि!
 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार