ताजा अपडेट »

सबै धर्मबीच आपसी सदभाव कायम राख्न बारामा ‘सद्भाव र्‍याली’

बुधबार, ०९ फागुन २०८०, ११ : ०१
58 Shares

बारा । वीरगन्जमा केही दिन यता दुई फरक धर्मका समुदायबीच तनाव बढ्दै गएपछि बुधवार बाराको जीतपुरमा ‘सद्भाव र्‍याली’ निकालिएको छ ।  रौतहटको इशनाथ नगरपालिकामा गत बिहीबार सरस्वती माताको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको भिडन्तको घटनालाई लिएर वीरगन्जमा पनि तीनदिन यतादेखि तनाव भइरहेको छ । उक्त घटनाको विरोधमा सोमबार हिन्दुवादीहरूले वीरगन्ज बजार बन्द गराउनुका साथै  प्रदर्शन पनि गरेका थिए । 

यसैलाई मध्यनजर गरी बाराको जीतपुरमा  ‘सद्भाव रयाली’ निकालिएको हो ।  प्राप्तीको लागि प्रेरणा समूह नेपाल र ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको अगुवाईमा ‘सद्भाव रयाली’ निकालिएको हो । जीतपुर स्थित वडा कार्यालय परिसरबाट सुरू भएको ‘सद्भाव रयाली’ बकुलिया सडक, केराढोका,  हुँदै नगर परिक्रमा गरेको थियो । 

सो ‘सद्भाव रयाली’ मा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी ,जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ता शिक्षक–शिक्षिका बिद्यार्थीहरु, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी ,सञ्चारकर्मीलगायतको सहभागीता थियो । ‘सद्भाव रयाली’ मा सहभागीले ‘ धार्मिक सद्भाव कायम गरौं ’ सामुदायिक सदभाव कायम राखौं,’ ‘हिन्दू–मुस्लिम भाइ भाइ’भन्ने नारासहित जीतपुरमा कुनै अप्रिय घटना न घटोस भनेर सदभाव र्‍याली निकालिएको प्राप्तिका लागि प्रेरणा समुह नेपालका अध्यक्ष अनिल कुमार साहले बताए  । धर्म कै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरू देखि जीतपुरबासी सचेत छन् भन्ने सन्देश प्रवाह गर्नका लागि सद्भाव र्‍याली निकालिएको अध्यक्ष साहले बताए । 

उनले भने, ‘हामी जीतपुरबासी  एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्‍यालीबाट दिन खोजेका हौँ ।’

आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति र्‍याली मा सहभागी हिन्दु र मुस्लिम धर्मका अगुवाहरुले चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेहरूलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न र्‍यालीमा  सहभागी भएकाहरुले माँग गरेका छन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।