ताजा अपडेट »

असफलसिद्ध व्यक्ति त्रिवि उपकुलपतिमा नियुक्त हुँदै छन् : ओली

सोमबार, ०७ फागुन २०८०, १५ : ५८
76 Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाएका छन्। उपकुलपति छनौटमा भागबण्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफलसिद्ध भइसकेको व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति बनाउन लागेको ओलीको जिकिर थियो।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुको पाँचौं राष्ट्रिय सहकारी भेलामा उनले ३ जना असफलसिद्ध भइसकेका व्यक्तिलाई छनौट गरेर सरकारले तीमध्ये पनि सबभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफूले गरेको पनि बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ। त्यसमा पनि तेस्रो नम्बरका व्यक्ति उपकुलपति हुने ओलीको अनुमान थियो। अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ताका लागि जस्तोसुकै काम गर्न पनि पछि नपरेको दोहोर्‍याए।

उनले भने, ‘गठबन्धनका सबै सत्ताका लागि जेसुकैमा पनि कम्परमाइजन गर्नेहरु हुन्। जे का लागि पनि कम्परमाइज गर्दछन्। त्यो खालको स्थिति अझै पनि छँदैछ। अहिले त नयाँ तरिका निकालेको छ–भागबण्डा नगर्ने, एकलौटी गर्ने। अहिले चाहीँ मेरिटोक्रेसीको आधारमा लिने, एउटा समिति बनाउने, छानविन गर्ने, यताउता गर्ने। अनि, असफलसिद्ध भइसकेका मान्छेहरुको छनौट गर्ने। अहिले ३ जना सिफारिस भएको छ क्यार। तीन जनामा पनि तेस्रो नै नियुक्त होला जस्तो लाग्छ मलाई त छाँटकाँट हेर्दा।'

अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पार्टी सरकारमा रहेका बेला बसालेको लोकतान्त्रिक थिति पनि भत्काउँदै गएको आरोपसमेत लगाए। उनले नेपाल जस्तो देशको विकासका लागि सहकारी अपरिहार्य रहेको उल्लेख गर्दै त्यसलाई बद्नाम हुन नदिन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।