ताजा अपडेट »

रुपन्देहीको शुद्धोधन ७ का वडाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

शुक्रबार, २६ माघ २०८०, १९ : २८
532 Shares

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका एक वडाअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा दायर मुद्दामा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हाे ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र गाउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका हुन् । घुस लेनदेनमा बिचौलियाको काम गरेका विनोद भरलाई समेत बिशेष अदालतले मतियारको रूपमा सजाय गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई शुक्रवार दोषी ठहर गरेको हो । शुद्धोधन गाउँपालिका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीमबहादुर यादवले ठेक्कामार्फत नदीबाट झिकिएको बालुवा तथा गिट्टीको बिक्री आदेशका लागि सेवाग्राहीसँग घुस माग गरेकाे अख्तियारकाे दाबी छ ।

प्रमुख प्रशासकीय अधिकृतमार्फत बिचौलिया विनोद भरलाई प्रयोग गरी सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको जानकारी पाएपछि अख्तियारको टोलीले भरलाई रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । भरकै बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव पक्राउ परेका थिए ।

अनुसन्धानपछि बिक्री आदेशको म्याद थप गर्ने प्रयोजनका लागि घुस मागेको पुष्टि भएपछि अख्तियारले गत असार ११ गते उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा बिशेष अदालतले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ५० हजार बिगो बराबरकै जरिवाना र तीन महिना कैदको सजाय सुनाएको छ । घुस रकम माग गर्ने वडा अध्यक्ष यादव र बिचौलिया विनोद भरलाई भने मतियारको रूपमा जनही २५ हजार रुपैयाँ जरिवाना र डेढ महिना कैदको फैसला सुनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।