ताजा अपडेट »

उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्छः प्रधानमन्त्री

बुधबार, १७ माघ २०८०, १० : ०३
50 Shares

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उत्पादन र उत्पादकत्व वृद्धिगरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री प्रचण्डले वनको वैज्ञानिक व्यवस्थापन गरी काष्ठ एवं गैरकाष्ठ वन पैदावारबाट समुदायको आर्थिक स्थिति र रोजगार प्रवद्र्धन गर्न विश्वविद्यालयले आवश्यक अनुसन्धानमा आधारित नीतिगत सुझाव दिनुपर्ने बताए।आर्थिक विकासमा कृषि, पशु र वन क्षेत्रको योगदान वृद्धि गर्न वातावरण अनुकूलित आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले ग्रामीण समुदायको आर्थिकस्तर उठाउन शिक्षण, अनुसन्धान र प्रसारका क्रियाकलापमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवाला संघसंस्था मिलेर अगाडि बढ्न विश्वविद्यालयलाई सुझाव दिए । 

विश्वव्यापी रूपमा बढ्दै गइरहेको जलवायु परिवर्तन, खाद्य असुरक्षा, बेरोजगारीजस्ता प्रतिकूल अवस्थासँग जुध्न र किसानको आम्दानी वृद्धि गर्ने र रोजगारको सुनिश्चितता गर्ने कार्यमा लाग्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।विश्वविद्यालयले अनुसरण गरिराखेका शिक्षण अनुसन्धान क्रियाकलापहरू, शिक्षण र अनुसन्धान क्रियाकलापमा गरिरहेका अन्तर्राष्ट्रियकरणका कार्यहरू, भौतिक पूर्वाधार र कलेजहरू विकासजस्ता कार्यलाई दिगो रूपमा सञ्चालन गर्न रचनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

नेपालमा कृषि, पशु चिकित्सा, मत्स्यविज्ञान, पशु विज्ञान र वनविज्ञान क्षेत्रलगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो मशसुस गरी विसं २०६७ मा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।