ताजा अपडेट »

राजनीतिमा अधिभूतवाद

मंगलबार, १६ माघ २०८०, १६ : ४५
510 Shares

अधिभूतवाद भनेको एकलकाँटे र एकपाखे दार्शनिक पद्धति हो । यो दर्शनको सीमा नै यही हो कि यो दर्शनले कुनै पनि वस्तुलाई अन्तरसम्बन्धमा र निरन्तर गतिमा हेर्न र बुझ्न सक्दैन् । यो दर्शनले कुनै पनि वस्तुको विपरीत पाटो र समग्र पाटोलाई हेर्न सक्दैन । यो दर्शनले कुनै पनि वस्तु विपरीत पाटोको आपसी द्वन्द्व र अन्तरसम्बन्धबाट पहिले मात्रामा बदलिँदै गएर अन्ततः गुणकै हिसाबले विल्कुलै नयाँ वस्तुमा किन र कसरी बदलिन्छ भन्ने विषयमा व्याख्या र विश्लेषण गर्न सक्दैन । अधिभूतवादीहरु, विकास, रूपान्तर फड्को जस्ता पद्धतिहरूलाई बुझेकै हुँदैनन् ।

यो हिसाबले अधिभूतवाद, प्रकृति विज्ञान आजको उचाइमा विकास नहुँदाताकाको दर्शन हो । अधिभूतवादको एउटा मुख्य दोष नै यही हो कि त्यसले हरेक वस्तुमा हुने अन्तरविरोधी पक्ष देख्दैन र देख्न पनि सक्दैन । अतः यो एकपाखे दर्शन हो । कुनै पनि वस्तुको विपरीत पाटो देख्न नसक्नु नै अधिभूतवादको एउटा मुख्य सीमा हो । अधिभूतवादीहरू कुनै वस्तु वा व्यक्तिमा सकारात्मक पक्ष देख्छन्, त्यही नै बेला त्यसमा नकारात्मक पक्ष हेर्न बिर्सन्छन् ।

अधिभूतवादीहरूको धारणा अनुसार वस्तुमा मात्रात्मक परिवर्तन भन्ने कुरा मात्र हुन्छ, गुणात्मक परिवर्तन भन्ने कुरा हुँदैन । बुद्धि भन्ने कुरा मात्र हुन्छ, विकास भन्ने कुरा हुँदैन । उस्तै उस्तै घटना दोहोरिने पुनरावृत्ति भइरहने भन्ने कुरा मात्र हुन्छ, एउटै वस्तु विल्कुलै नयाँ अर्को वस्तुमा बदलिने भन्ने कुरा हुँदैन । अधिभूतवादले कुनै पनि वस्तुको परिवर्तन र विकासको मुल कारण नै बुझ्न र ठम्याउन सक्दैन् । यही हुनाले नै अधिभूतवादलाई एकपाखे र स्थिरताको दर्शन भनिएको छ  । अधिभुतवादको बारेमा हामीले जानकारी प्राप्त गर्यौँ कि यो विचारले सकारभित्र नकार र नकारभित्र सकार देख्दैन, कुनै वस्तु वा पात्र राम्रो हो भने शतप्रतिशत राम्रो र यदि नराम्रो हो भने शतप्रतिशत नराम्रो भन्ने एकांकी विचार नै अधिभुतवाद हो ।

यो विचारले कुनै वस्तु वा पात्रलाई या त दानवी करणको आखाँले हेर्छ, या त देवत्वकरणको आखाँले हेर्ने गर्दछ, विचारको क्षेत्रमा यो आजको गम्भीर समस्या बन्न गएको छ । अब यसलाई उदाहरणबाट हेरौं, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफु निर्वाचनमा पराजय हुने निश्चित भएपछि उनले निर्वाचन अस्विकार गर्ने कुरा गरे, त्यति मात्र होइन उनले हेड क्वाटरमा भौतीक आक्रमण नै गरेका थिए, जुन कुरा प्रजातन्त्र र स्वतन्त्रता माथिको भद्दा मजाक थियो तर अधिभुतवादी विचार बोकेका उनका पक्षधरहरु फेरि आउने निर्वाचनमा उनैलाई उम्मेदवार बनाउने प्रयास गर्दैछन् । उनीहरुको आखाँले उनको कमजोर पक्ष देख्न सकेन । केहि वर्ष अगाडिदेखि धार्मिक गुरू आसाराम बापु बलात्कारको मुद्दामा जेलमा छ्न्, अदालतले उनलाई बलात्कारी ठहर गरेको छ तर उनका अनुयायीहरु यो कुरा मान्न तयार छैनन ।

आज पनि उनैबाट आफ्नो मोक्ष प्राप्ति हुने विश्वासमा छन् र उनलाई ईश्वरको रुपमा लिइरहेका छन् । त्यसैगरि अर्का ढोगी धर्मगुरू राम रहिम पनि कैयौं हत्या, बलात्कार र रासलीला गरेको अभियोगमा अदालतले दोषी ठहर गरि जेलमै छन् तर उनका भक्तहरु भने यो कुरा मान्न तयार छैनन् । उनीहरू अहिले पनि उनलाई भगवान कै रुपमा  मानिरहेका छन् । अर्का धार्मिक गुरू रामपाल जी महाराजलाई पनि कैयौं कसुरमा अदालतले दोषी प्रमाणित गरि जेलमै राखेको छ तर लाखौं उनका भक्तहरू उनको नकार देख्दै देख्दैनन्  । उनले त अझ राम, शिव, अल्ला, जिसस, कसैलाई पनि मान्दैनन्, उनले यो संसारको सृष्टिकर्ता कविरदास हुन र त्यस्को उत्तराधिकारी म नै हु भन्ने गरेका छन् ।  

भूकम्पको समयमा  कुनै एक  चर्चमा प्राथना गरिरहेको बेला भूकम्पको झटका लाग्यो, बाहिर जाने हल्ला चली रहँदा पादरीले भने की धैर्य गरौं, शान्त रहौं, प्रभुले सबै देखिरहनु भएको छ । यसुले हामीलाई बचाँउनु हुनेछ, भूकम्पले घर ढल्यो, सबैमानिस च्यापिएर मरे ।  केहि दिन अगाडि म सानो गौतमबुद्ध हुँ भन्दै आएका राम बहादुर बमजनलाई प्रहरीले गिरफ्तार गर्यो । उनको घरबाट ३ करोड बढी नगद सहित कैयौं मूल्यवान  वस्तुहरू प्रहरीले फेला पार्यो । उनलाई पनि मानिस वेपत्ता र बलात्कारको आरोप लाग्ने गरेको छ । छानविनको प्रकिया अगाडि बढेको छ तर उनका भक्तहरू भने उनले पनि त कमजोरी गरेका हुन सक्छन् भन्ने चेत राख्ने गर्दैनन् । 

उनी भगवान नै हुन भन्ने गरेका छन्। भाजभोली पत्रकारबाट राजनीतीमा उदाएका रास्वपा नेता रवि लामीछानेले सहकारीमा पैसाको अपचलन गरेको भनेर बहस चलेको छ । पक्ष र विपक्षमा वादविवाद भैरहेको छ । उनी इमानदार छन् भन्ने र बेइमानी गरेका छन् भन्नेको विचमा बहस उत्कर्षमा छ ।  पुराना  पार्टीको विकल्पमा अप्रत्याशित रुपमा जनताले राजनीतिको मुलधारमा ल्याइदिएको  रास्वपाका कार्यकर्ताहरुमा पनि यो अधिभुतवादी चेतना देखा पर्नु साँच्चै नै  चिन्ताको विषय बन्न गएको छ । 

उनीहरु सत्यको अन्यर्षण गर्नेतर्फ होइन कि बचाँऊ र ढाकछोपको दिशामा अगाडि बढेको देखिन्छन् । त्यहाँ पनि अन्य पुराना पार्टीमा जस्तै व्यक्तिवाद जवरजस्त पलाएको देखिन्छ ।  उनीहरुमा कमजोरी माथि प्रहार गरी सत्यमा पुग्न सकिन्छ भन्ने चेतना देखा पर्दैन । उनीहरु मिसन चौरासीको नशामा देखिन्छन् र त्यसको लागि रवि लामिछाने नै एकमात्र पात्र हुन जसले हाम्रो महासागरमा विजय गराउनेछन् भन्ने विश्वास गर्दछन  । जसले  गर्दा त्यहाँ देवत्वकरणको प्रक्रिया अगाडी बढेको देखिन्छ । 

यो तरिकाले दिर्घकालीन रूपमा अगाडि बढ्न कठिन हुन्छ जस्तो लाग्छ । अतः कमजोरीहरुलाई लुकाएर, ढाकछोप गरेर समस्या समाधान हुँदैन्, समस्या झन बल्झन्छ, कमजोरीको प्रायश्चित गरेर नै अगाडि बढ़न सकिन्छ । हामी सबैले यो बुझौं कि आसाराम, रामपाल, राम रहिम, रामबहादुर बमजन वा रवि लामिछाने कुनै पनि भगवान हुँदै होइनन्  । लौ मानौ कि उनीहरु भगवान नै भए पनि स्वर्गका राजा इन्द्रले आफ्ना गुरु गौतम कि पत्नी बलात्कार गरेको अभियोगमा कैयौं वर्ष सजायको भागीदार बनेको धार्मिक दृष्टान्त हामिले सुनेका छौँ  भने हामीबाट गल्ती कमजोरी हुँदैन् भएको छैन् र गर्न सक्दैन भनेर सोच्नु त्यो आदर्शवादि चेतना हो ।  

यीनिहरु र अन्य धार्मिक गुरू वा राजनेताहरु यहि समाजको उत्पादन भएको हुँदा उनीहरुबाट पनि कमजोरी भएनन् भन्न सकिदैन् । हावा नलागी पात हल्लदैन, आगो नलागि धुवा देखिदैन् भन्ने भनाइमा सत्यता छ । खोजबिन गरौँ, समय मै उपचार गरौं, हामि रास्वपा र रवि लामिछाने ढोगि र बदनाम भएको, अरु जस्तै डुङडुङती गनाएको देख्न चाहदैनौ, स्वस्थ, सफा र निस्कलकीत देख्न चाहान्छौँ  किनकी यो पार्टी पुरानोको विकल्प दिन्छौ भनेर जन्म लिएको हो । कान्तिपुरले ‘पुरानाको कमजोरी नखोज्न? पुराना नेताको पछि नलाग्न ? हाम्रो मात्रैखेदो खन्न ? गल्ती पुरानाले पनि त गरेका छन् ’भन्ने तर्क वस्तुवादी तर्क होइन र त्यो समस्याको समाधान पनि होइन । पुराना बदनाम भए, पुराना भष्ट्राचारी भए पुरानाले बदमासी गरे भनेर त तपाइलाई नेपाली जनताले जन्माएका छन् । तपाइहरुले पुरानासँग तुलना गर्न मिल्दैन, तपाईहरु नयाँ भनेर जन्मिएको हो । तपाइहरुलाई पुरानाभन्दा फरक र नयाँ नेपाली जनताले देख्न चाहान्छन । 

त्यसैले कृपया  मित्रहरु! अधिभुतवादको चेतनाबाट माथि उठौं, आदर्शवाद जसले देवत्वकरणमा प्रशय दिन्छ त्यस्को चेतनाबाट माथि उठौं, जनतामा एकपटक विश्वास गुम्यो भने पुनः प्राप्त गर्न कठिन हुनेछ ।  त्यसैले पुरानाको रुपान्तरण  हुने सम्भावना अत्यन्तै न्यून देखिएको छ । यो अवस्थामा तपाईहरु र तपाईहरुको नेतृत्व बदनाम भयो भने जनतामा घोर निरासा आउनेछ ।  अतः रोगलाइ लुकाएर, ढाकछोप गरेर रोग निको हुँदैन् , रोगको उपचार गरेर मात्र निको पार्न सकिन्छ । रोगलाइ घृणा गरौं, रोगीलाई माया गरौं भन्ने मान्यतालाई   स्थापित गरौं की ?
 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार