ताजा अपडेट »

हात मिलाइएको कुरा

शनिबार, १३ माघ २०८०, ०९ : १६
162 Shares


सकारात्मक सोच पुस्तकमा कर्ण शाक्यले ठूला मान्छेसँग हात मिलाएको एउटा सुनौलो कहानी लेखेका थिए । आफूले हात मिलाएको कति दिनसम्म हो रे ! हातै नधोएको । सो पुस्तक पढ्दा खुबै आनन्द लागेको थियो । अझ् हात धुन पर्छ भनेर चम्चाले भात खाएको समेत उल्लेख गरेका छन् उनले पुस्तकमा । हात मिलाउनु रहर वा रमाइलो विषय हुँदोरहेछ । 

गएराति एकछिन निद्रा लागेन । मनभरि कुरा खेले । मैले जीवनमा ककसलाई कहाँ भेटें अनि कोकोसँग हात मिलाएँ हुँला भनेर गतिलोगरी सम्झिएँ । यस्तो कुराले कतै मप्रति मपाइत्व जागृत त हुन्न चिन्ता समेत लाग्यो । भलै जेहोस् । सम्झना गर्दा ठिकै होला । 

सिद्धबाबा मन्दिरमा महानायक राजेश हमाल सम्पदा संरक्षण र सरसफाइमा आइपुगेका थिए । उनलाई भेटेर स्वागत गर्ने अवसर जुर्यो । हात नमिलाउने कुरै भएन । मुलायम उनका हातमा मेरा हात जोडिएर तातो भयो ।  २०५२ सालको भदौतिर नेपालका जीवितमध्ये धेरै प्रधानमन्त्री हुने शेरबहादुर देउवासँग भेट भएको थियो । उनी, त्यतिबेला सरकारको तर्फबाट माओवादीसँग वार्ता गर्ने टोलीका संयोजक थिए । बुटवलको रुपन्देही उद्योग वाणिज्य संघको सभा हलमा स्वागतका साथ हात  मिलाइयो । उनीसँग मिलाएको हात धेरैपटक पखालियो होला तर याद भने दुरुस्तै छ । 

संयोगले विज्ञापन एजेन्सी नेपाल ,बानको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आइपुगेका थिए बुटवलमा । कमरेडली तरिकाले चरप्प हात मिलाए । मेरो कमलो हातलाई उनको दमदार हात मिलाइले एकछिन झन्का दियो ।

दोभानमा एमालेका तत्काली अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालसँग भेट हुने अवसर मिलेको थियो । उनी आफ्नो पार्टीको कार्यक्रममा तानसेन,पाल्पा जाँदै रहेछन् । सोही मौका पारेर उनीसँग दरोसँग हात मिलाइयो । अग्लो,गोरो,हेण्डसम मान्छे उनी । हेर्दै रहर लाग्दा । गणतान्त्रिक सरकारमा छोटो समयका लागि उनी प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । 
बाबुराम भट्टराईलाई पनि बुटवलमा नै भेटेको हुँ । २०४७ सालतिर । उनी त्यतिबेला मसाल पार्टीमा नै थिए । पातला,दुब्ला,ख्याउटे उनी ।  

हात दरो मिलाउँदा कक्र पार्दिका थिए । सीडी प्लेयरजस्ता खररर भाषण गर्ने उनलाई देख्दा पनि नयाँ नेपालको अभियान कहाँ पुग्यो होला जस्तो लाग्छ मलाई । 

केपी ओलीसँग पनि बुटवलको एउटा सार्वजनिक कार्यक्रममा भेटेको थिएँ । साल त ठ्याक्कै भुलें । खिसिक्क हाँसेर म दलबहादुर गुरुङ परेनि भन्दा उनले हो र भनेर मलाई जिस्काएका थिए । दोहोरो सम्वाद भनेकै त्यही हो उनको र मेरो । पाल्पाबाट बुटवलतिर आउँदा सिद्धबाबा सुरुङमार्ग बनाउने स्थलमा गत सालको फागुनतिर पुनः भेट भइएको थियो । सामान्य तरिकाले हात मिलाइएको थियो । 

सूर्यबहादुर थापालाई नजिकैबाट देखेको थिएँ २०५० सालतिर रुपन्देहीको सूर्यपुरा बजारमा । राता,हट्टाकट्टा देखिएका थिए । भरखर भरखर पञ्चायती व्यवस्था ढलेको थियो । तैपनि उनी दरोगरी उभिएकै देखिन्थे स्टेजमा भाषणका बेला । 
गिरिजाप्रसाद कोइरालासँग नजिक हुने अवसरै मिलेन । उनी पूर्वी नेपालका म परे पाल्पा दोभानको । टीभीमा भने खुब हेरियो । कहिले लाउडा,कहिले धमिजा काण्डमा उनको नामसँगै चित्र टीभीमा खुब आइरहन्थ्यो । पछि गणतन्त्र ल्याउनमा उनी नायक बनेर देखिएका थिए तर हात मिलाउने साइत जुरेन । सायद उनीसँग कमैले संगत र हात मिलाए होलान् मेरा उमेरकाले । यही सोच्छु यतिबेला । 

वर्तमान प्रधानमन्त्री प्रचण्डसँग हात मिलाउने साइत जुरेको छैन । उनी यता खासै आएका छैनन् । मपनि केन्द्रीय राजधानी र उनको कार्यालयतिर काम विशेषले जान परेको  छैन । त्यही भएरपनि हात मिलाउन पाएको छैन । समय जुर्यो भने एकवार उनीसँग तात्तातो हात मिलाउने रहर नभएको भने होइन । 
बसिबियाँलो कुट्लीकोषा भन्थे गाउँतिर । आज यी सबै कुराहरु उमेर ढल्दैजाँदा भुल्छु कि भनेर प्रमाण राखेको हुँ । नलेखे भुलेर गइन्छ । उमेर ढक्लिदै जाँदा बिस्मृति बढ्दै जानेछ । हात मिलाएका देशका पूर्वप्रधानमन्त्री समेत स्मृतिको छालबाट किनार लाग्न सक्ने भएको हुँदा मैले दस्तावेजका लागि लेखेको हुँ । 

यी सबै कुराहरु भविष्यमा राजनीतिक नियुक्ती लिन वा मौका छोप्न लेखिएका हुँदै होइनन् । यसलाई यसरी सम्झिदाँ जाती हुने छ कि–ग्रामीण भेगमा जन्मिएको एउटा निम्छरो मान्छेले देशका प्रधानमन्त्रीहरुसँग कसरी हात मिलाउन सम्भव भयो होला ? मैले यी सबै कुरा धेरे प्रधानमन्त्रीहरुसँग हात मिलाउने मान्छेको नाममा गिनिज बुकमा आफ्नो नाम दर्ज गर्न पनि होइन । त्यो रहर पनि छैन । प्रचण्डसँग त हात मिलाएका छैनस् केका फूर्ति झार्छस् भनिएलान् नि फेरि मलाई ? 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार