ताजा अपडेट »

मैले ‘उनलाई’ तिमी भनेर बोलाउँदा  !

आइतबार, ०७ माघ २०८०, ११ : ४४
1.12K Shares

जिवनसाथी, जिवन सङ्गीनी प्रियतमा, प्रियसी,अर्दाङ्गिनी जस्ता शब्दहरु माया र सम्मानले सम्बोधन गर्न पर्ने शब्दहरु हुन् तर दैनिकी व्यवहारमा हामिले श्रीमतीसँग कस्तो बोलीचाली गर्दछौँ ? हेर्दा सानो छलफल गर्दा सामान्य लाग्ने यो कुरा अली गम्भीर छ जस्तो लाग्दछ ।  मेरो उदाहरणबाट कुराको थालनी गरौँ, म संगठनमा लागे, मैले मानव समाजमा महिला पुरुष उपल्लो जात तल्लो जात, सबै धर्म सम्प्रदायहरु बराबर हुन्छन् भन्ने कुरा पँढे, महिला र पुरुष समान भन्ने कुराको बोध गरे र २०४० सालमा मैले श्रीमतीलाई तिमी भनेर बोलाउनु पर्दछ भने महशुुस गरे  ।

पहिलो पटक कसरी भन्ने होला भनेर कल्पना गरे,  खेतमा धान उठाउने दिन मैले उनलाई तिमी भनेर सम्बोधन गरे “शारदा ! खेतारालाई अर्नि के ल्याएकीछौं ।’ उनी लाजले  रातोपिरो भइन । खेताराहरु जो धान लिन जानु भएको थियो, उनीहरु पनि अचम्म पर्नुभयो किनकि २०४० सालमा श्रीमतीलाई तिमी भनेर बोलाउनु फलामको चिउरा जस्तै थियो, यो कुरा गाउँमा अलिदिन नै चर्चा भएको थियो, जे होस मैले हिम्मत गरे र चालिस वर्षदेखि मैले शारदाजीलाई तिमी भन्दै आएको छु  । यहाँहरुको कुरा

के छ ! के आफ्नो जिवनसाथि, आफ्नी प्रियतमा, आफ्नी अर्दाङ्गिनीलाई तिमीसम्म पनि भन्ने हिम्मत गर्नु भएको छ कि छैन ? प्रश्न सामान्य तर विचार गम्भीर । यो प्रश्नले हामि कुन संस्कार र कुन संस्कृतिमा छौं भन्ने कुराको निर्धारण गर्दछ । तँ र तपाई बिचको फरक आकाश जमिनको फरक छ, यो दास र मालिक बिचको सम्बन्ध जत्तिकै फरक छ, यो तँ र तपाईं बिचको चेतनाले श्रीमान र श्रीमती एउटै रथका दुई पाग्रा हुन भन्ने मान्यतालाइ निषेध गर्दछ । 

यो विचार महिला र पुरुष समान हुन र उनीहरुको समान अधिकार हो भन्ने विचारको प्रतिपक्षमा छ, एक्काइसौं शताब्दीमा आइपुग्दा पनि  यो असमानता छ भने त्यसलाई त्याग्न सक्नु पर्दछ, हामिले समानताको विचार मान्दछौं भने श्रीमतीलाई मायासँगैं सम्मान दिन  पनि सिकौं । अनीताजी चिया पिउने समय भयो तिमि बनाउँछौ कि मैले बनाएर ल्याउ ? शारदाजी ! बजार जानु पर्ने ! तिमी जान्छेउ की म जाउ, सुष्मिताजी यता आउन यतै बसम्ला,  कति मिठो हुन्छ । ए कहाँ छेस,  चिया बनाएको खै, ए केटाकी आमा, ए सरस्वती  तैले सुनीनस्की क्या हो?  कति नमिठो लाग्छ, हैन ? सुन्नेलाई त यति नमिठो लाग्छ  भने जसलाई भनिएको हो उनलाई कति नमिठो लाग्दो होला ? हामि मध्ये खाना बनाउन कतिले जानेका छौँ? चिया पकाउन कतिले जानेका छौँ ? चिया पकाएर, खाना बनाएर कहिलेकाहि श्रीमतीलाई खुवाउने गरेका छौँ? जसले जे भ्याउँछ त्योकाम गर्ने गरेका छौं वा यो काम मेरो होइन श्रीमती
को हो भनेर छोडी दिएका छौं? 

भाडा माझ्ने काम, कपडा धुने काम, घर सफा गर्ने काम, खाना बनाउने काम उनको भागमा पर्छ भनेर गर्ने गरेका छैनौ की? तपाइले परिवारसँग कस्तो व्यवहार गर्नु हुन्छ ? कस्तो बोलीचाली गर्नुहुन्छ ?  त्यसैमा तपाइको विचार झल्कन्छ । श्रीमतिसँग सम्मान र सहयोगको भावना राख्नुहुन्न भने तपाई कसरी माक्सवादी? तपाई कसरी कम्युनिष्ट ? तपाई कसरी समाजवादी ? तपाइ कसरी महिलामुक्ती दाता ? तपाइ कसरी महीला अधिकारकर्मी ? तपाइ कसरी मन्त्री ? तपाइ कसरी माननीय! समानता प्रवचनमा पनि हो, समानता भाषणमा पनि हो तर मुख्य कुरा व्यवहारमा हो, तपाईको घरमा हो ? तपाईंको परिवारमा हो ।  समानता घरैबाट, परिवारबाट प्रारम्भ गरौं ।  आजसम्म तपाई श्रीमतीले पकाएको चिया पिउनु भएको छ भने भोली तपाई आफै चिया बनाएर सँगै बसेर चिया पिउनुस त ? 

तपाइको माया दुई गुणा बढ्नेछ, मैले यत्तिकै लहडमा भनेको छैन, पितृसत्ता हामिकहाँ विद्यमान छ, पितृसत्ता कायम रहि रहनुमा पुराना मान्यताहरुले पनि काम गरेका छ्न । हाम्रो समाजमा जे जती वर्तहरु राखिएका छन्, ती सबै श्रीमानको आरोग्यता र श्रीमानको आयु वृद्दि होस भनेर राखिएका छन् । श्रीमानलाई पत्तिपरमेश्वर भनिएको छ, श्रीमती पत्तिवर्ता हुनुपर्ने तर श्रीमान पत्निवर्ता हुन नपर्ने ? श्रीमानले कैयौं विवाह गर्न पाउने तर श्रीमतीले श्रीमानको मरण पश्चात पनि अर्को विवाह गर्न नहुने, गरेमा जात समेत घटाइदिने खालका संस्कृतिले पनि श्रीमान श्रीमती बिचको असमानता बढाउनमा मद्दत गरेको छ । 

श्रीमानले आफ्नी श्रीमतीको दिर्घाउको लागि एउटा पनि वर्त बस्न नपर्ने ? यस्तो छ हाम्रो पितृसत्तावादी संस्कार र परम्परा ।  त्यस्ले गर्दा पनि पुरुष र महिला बिचको असमानता, श्रीमान श्रीमती बिचको असमानता अझै निमिट्यान्न भैसकेको छैन । यसलाई बदल्नुपर्छ, यसलाई सच्चाउनु पर्दछ, हामिले घरघरबाट थालनी गरौं, परिवारबाटै थालनी  गरौं ,रामकुमारीले छोरा जन्माइन, उता श्याम बहादुरजीले छोरा जन्मायो भनेर नोटको माला लगाइदिन्छौ,छोरा श्याम बहादुरको पनि हो तर मुख्य भुमिका रामकुमारीजीको हो, मालाको हकदार उनी हुनुपर्ने हो की ? लगातार तीन छोरी जन्माइन भने राम कुमारीले सौता बेहोर्नु पर्ने, छोरी मात्र जन्मनुको दोषी रामकुमारी मात्र हो र ?

कानुनमा समेत छोरीलाई पक्षपात गरिएको छ, नागरिकता बनाउँदा बाबु अनिवार्य हुने कानुन बनाइएको थियो, केहि महिना अगाडि मात्र अदालतले आमाबाट पनि नागरिकता बन्न सक्ने बाटो खुलाएको छ । राजनीतिक क्षेत्रमा पनि महिलालाई पछाडि नै पारिएको थियो । नयाँ बनेको संविधानले निश्चित कोटा छुट्टाएर महिला अनिवार्य बनाएको हुनाले बाध्यताबस महिलाहरु राजनीतिमा आउने बाटो खुलेको छ।   बाँकी रहेका असमानतालाई हटाउन, संविधानमा रहेका असमानता, संस्कृतिमा रहेका असमानता, व्यवहारमा रहेका असमानता, परिवारमा रहेका असमानता हटाउन आ–आफ्नो ठाउँबाट सबैले प्रयास गरौँ की!
 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार