ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्ड भोलि बिहान युगाण्डा जाँदै

बुधबार, ०३ माघ २०८०, १४ : १४
102 Shares

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ ।उनी बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसअघि बुधबार र बिहीबार बस्ने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेकी छन् । मन्त्रीस्तरिय बैठक अघि माघ १ र २ गते वरिष्ठ अधिकारीहरूको बैठक बसेको थियो ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८ औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौँ आइपुग्नेछन्। 

 १९ औँ नाम शिखर सम्मेलनपछि तेस्रो दक्षिण शिखर सम्मेलन माघ ७ देखि ८ गतेसम्म कम्पालामा हुँदैछ। दक्षिण शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव लम्सालले गर्नेछिन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।