ताजा अपडेट »

पहिलो र अन्तिम !

हेर्ने कथाद्वारा आयोजित छोटो भिडियो प्रतियोगिता हेरेपछिको अनुभव

सोमबार, ०१ माघ २०८०, १७ : २९
564 Shares


कथा त सुन्ने पो हुन्थ्यो ! सानामा सर,मेडमहरुबाट खुबै कथा सुनियो । कथा भनेपछि हुरुक्कै भइन्थ्यो । कथाको अन्तिममा भनिन्थ्यो–सुन्नेलाई सुनको माला,भन्नेलाई फूलको माला ! यहिबाट थाहा हुन्छ–कथा सुन्नेको भाउ कति महंगो हुन्छ । तर,यतिबेला ‘हेर्ने कथा’ पो आइपुगेको छ हामीसँग ।

बीबीसी नेपाली सेवाको साझा सवालमा अनुहार देखेको र आवाज सुनेकै हौं हामीले । उनी थिइन् विद्या चापागाइँ । यतिबेला उनी हेर्ने कथामा छिन् । बोलीमा लालित्यपन छ । मिठास छ । सुनिरहँु लाग्छ उनको आवाज । हेर्ने कथामार्फत देश,दुनियाँ देखाएकी छिन् । सुनाइरहेकी छिन् । हामीलाई आफूसँगै कहिले हिमालका खर्कहरुमा पुराएकी छिन् । पहाडका टाकुरामा दौडाएकी छिन् । तराईका फाँटहरुमा फैलाएकी छिन्।

उनकै टीमले सञ्चालन गरेको कार्यक्रम हो ‘हेर्ने कथा’ । हेरिरहुँ लाग्छ । यसपालि उक्त टीमले छोटो भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । धेरै प्रतियोगीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतियोगिताको नतीजा भरखरै आइपुगेको छ । त्यीमध्ये तीनवटा भिडियोले नगद ३० हजारको दरले पुरस्कृत हुने अवसर प्राप्त गरेका छन् । प्रतिस्पर्धी उर्जा आचार्यको ‘सवारी साहित्य’ भिडियोले हेर्ने कथासँगै यात्रा गर्ने अवसर प्राप्त गरेको छ । त्यसैगरी आमदर्शकबाट छनौटमा परेको छ ‘दीपाको संघर्षमय कथा’ ।  जसलाई तयार पारेको थियो संगम महतको टोलीले । 
छोटो समयमा विषयवस्तुलाई सघन तरिकाले प्रस्तुत गरिएका ती भिडियोहरु हेरेपछि मनमा अनेक झड्का दिन्छन् । नेपाली समाजमा अनेक विषयवस्तुहरु छन् केवल पस्किनमात्र बाँकी छन् । त्यो काम निरन्तर रुपले हेर्ने कथाले सबैका माझ ल्याइनै रहेको छ । ल्याइरहने नै छ । 


हेर्ने कथाको छोटो भिडियो प्रतियोगितामा हार्दिकता शाही,कश्यपले परदेशिएका विद्यार्थीका कथालाई भावनात्मक रुपले ‘नट होम’ मा प्रस्तुत गरेकी छिन् । भिडियो धेरै,शब्द कम छन् । हेरेर धेरै कुरा बुझ्न सकिन्छ । पढ्न गएका विद्यार्थीका ध्यान रोजगारकै खोजीमा छ । पीडा छ । मनमा अनेक प्रश्नहरु छन् । सायद यो भिडियो हेरिसकेपछि धेरैलाई आफ्नो सन्तानप्रति स्नेहको स्वयम्भू थप चुलिनेछ । शासकहरुले त हेर्नु र नहेर्नुमा के पो अन्तर भयो र ? युवा,विद्यार्थीलाई उतैतिर पठाएपछि नेपालमा हड्ताल,नारा,जुलुश लाग्दैनन् । विरोध कम हुन्छन् । अनि ढुक्क भएर जस्तोसुकै सरकार सञ्चालन गरेपनि भै गो नि ! 

उक्त प्रतियोगितामा ‘सेन्स अफ बिलोङ्गिङ्’ शीर्षकको भिडियो प्रस्तुत गरेकी छिन् प्रिया क्षेत्रीले । नेपालबाट अमेरिकामा पुगेका भुटानी शरणार्थी दम्पत्तिले कृषि,बाख्रापालनबाट राम्रै आम्दानी गरेको भिडियो हेरेपछि थाहा पाइन्छ । दुःखीलाई जहाँ गएपनि दुःखले छाड्दैन भन्ने कवाहतलाई उनीहरुले तोडिदिएका छन् । आधुनिक कृषि तथा पशुपालनमा सक्रिय ती दम्पत्तिले विगत सम्झिएका छन् । अमेरिका पुगी,दुःख गरेका कुरा सुनाएका छन् र भविष्यमा नेपालमै  महल ठड्याउन पाए कस्तो हुन्थ्यो होला भनेर सपना बुनेका छन् । सपनाको देश अमेरिकामा पुगेर सपना उनेका छन् । उनीहरुका कुरा सुनिरहँदा देशप्रति अगाध स्नेह जागृत हुने गर्छ । 

गजवको भिडियो बनाएका छन् रिशभ सापकोटाले । युवाहरुलाई आकर्षित गर्ने खालको उक्त भिडियोले सबैलाई इतिहास पढाउँछ । पुरातात्विक कुराप्रति सचेत गराउँछ । वर्तमान देखाएका छन् र भविष्यप्रति चेष्टा जगाएका छन् । संस्कृत,संस्कृतिप्रति जागरुक गराएका छन् । ‘शंखमूल’ नामक भिडियोमा उनले प्रस्तुत गरेका आवाजले स्थानविशेष परिचय  दिने गरेको छ । सयौं पटक ओहोरदोहोर गर्ने शंखमूल, बाहिर हेर्दाको तुलनामा हजारगुना फरक देखिन्छ भित्र पुग्दा । त्यसैले सुपरफिसियल हेरेर,डिप्ली कुरा गर्नुहुँदैन भन्ने सन्देश प्रवाह गर्दछ  भिडियोले । 

सवारी साहित्यमा उर्जा आचार्यले धेरैका मनमा साहित्यिक उर्जा थपेकी छिन् । उनको भिडियोले सवारी साधन चलाउनेदेखि यात्रा गर्नेसम्मलाई आनन्द दिने कुरा उल्लेख गरेकी छिन् । तर, सकारात्मक सन्देश दिन सकिएमा सबैका जीवनमा नयाँ सन्देश प्रवाह हुने सन्देश दिएकी छिन् । 

सञ्चारकर्मी समेत रहेका संगम महतले जीवनमा आशा र हिम्मत भएमा सगरमाथा चढ्न सकिन्छ भन्ने खुबै राम्रो सन्देश सम्प्रेषण गरेका छन् । दीपालाई मूलपात्र बनाएर उनले सयौं महिलाका दियो बनेकी दीपाले लाखौंलाई बाँच्न सिकाएको सन्देश प्रवाह गरेका छन् । बाँच्ने आधार दिएकी दीपा नै सबैका लागि दियो बनेर उज्यालो बनेको खबर भिडियोमा प्रस्तुत गरेका छन् । संगमको टोलीले दर्शकका तर्फबाट गतिलो  उपहार प्राप्त गरेको छ । पुरस्कृत भएको छ । 

यस्तो खाले प्रतियोगिताले हेर्ने कथालाई अझ्ै दर्शक,स्रोताका  माझ पुराउन सजिलो हुनेछ । त्यसैगरी नयाँ पुस्ता,जो प्रविधिमार्फत समाजका कथा सुनाउन रुचाउँछन् उनीहरुलाई उत्प्रेरित गर्नेछ,गरेको छ । समाजमा रहेका ,भएका कथा तर सबैकाबीच नपुगेका छन् भने ती कथाहरु हेर्ने कथामा आउने गतिलो माध्यम पक्कै हुनेछ । 
हेर्ने कथा,केवल कथा बनेको छैन ।

जसले समाजका हरेक मानिसलाई बाँच्ने आधार दिएको छ । नयाँ ज्ञान,सीप र व्यवहार सुनाएर आफ्नै भूमिमा बाँच्न सिकाएको छ । गरे हुँदोरहेछ । भने सुनिदो रहेछ भन्ने सन्देश प्रवाह गरेको छ । हिंडे पुगिन्छ भन्ने प्रयोगात्मक सिद्धान्तलाई व्यवहारमा लागू गराएको छ । 
आगामी दिनहरुमा समेत यस्तो खाले प्रतियोगिता आयोजना भई राखुन् । यो प्रतियोगिता नै पहिलो र अन्तिम नहोस् ! निरन्तरताको शुभेच्छा ।

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार