ताजा अपडेट »

मध्यराति खुकुरी हानेपछि विराटनगरका डन अभिषेक गिरीका सहयोगी पक्राउ

आइतबार, २९ पुस २०८०, १३ : ५१
68 Shares

काठमाडौं । युवालाई मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा घर विराटनगर-८ बस्दै आएका विक्रम थपलिया रहेका छन्। शनिबार बिहान राति साढे १ बजे विराटनगर-११ का रोनाल कँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।

विराटनगर बसपार्कनजिक खुकुरी प्रहार गरेको सूचना पाएपछि मध्यराति कँडेललाई थपलियाको पञ्जाबाट उद्धार गरिएको दाहालले बताए। ‘खुकुरी प्रहार भइरहेको सूचना आएपछि गएको प्रहरी टोलीले कँडेललाई घाइते अवस्थामा उद्धार गरेको हो,’ उनले भने।

प्रहरीले सँगसँगै थपलियालाई पक्राउ गरेको उनले बताए। कँडेलको अहिले विराट अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ। पक्राउ परेका थपलिया पनि सामान्य घाइते छन्। उनीविरूद्ध ज्यानमार्ने उद्योग कसुरमा आइतबार अदालतमा म्याद थपका लागि लैजाने तयारी भइरहेको दाहालले बताए।

थपलिया र कँडेल दुबै नेपाली कांग्रेसमा आवद्ध छन्। थपलिया कांग्रेसनिकट रहेका विराटनगरका अभिषेक गिरीका ‘दाहिने हात’ हुन्। उनी आपराधिक दुनियाँमा लामो समयदेखि परिचित छन्। थपलिया गिरी जेलमुक्त भएपछि खोलिएको गिरी फाउन्डेसनमा सक्रिय छन्। गिरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलाई अपहरण गरेको आरोपमा २०७० सालमा जेल परेका थिए।

उनी गत चैतमा सजाय काटेर मोरङ कारागारबाट मुक्त भएका थिए। त्यसयता उनी ‘समाजसेवी’ भेषमा देखिने गरेका छन्। स्रोतका अनुसार बसपार्क क्षेत्रकै होटल बिगमा उनीहरूबीच झगडा सुरू भएको हो। होटलको क्यासिनोभित्र झगडा उग्र भएपछि थपलियाले खुकुरी हानेको बताइएको छ।

तर, प्रहरीले भने होटलबाहिर घटना हुँदा कँडेललाई उद्धार गरिएको बताएको छ। ‘त्यो क्षेत्रमा धेरै वटा होटल छन्, हामीले सडकबाट उद्धार गरेर ल्याएका हौं,’ दाहालले भने। घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशंका छ। प्रहरीले अनुसन्धान गर्दै जाँदा अन्य व्यक्ति देखिए पक्राउ गरिने बताएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।