ताजा अपडेट »

सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का

शुक्रबार, २७ पुस २०८०, १२ : ४९
78 Shares

कैलाली  । उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको दाबी गरेका छन् । शुक्रबार कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको उल्लेख गरे ।

“हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताका बीच छलफल हुनेनै छ”, उनले भने, “वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिन । तर सरकारले मध्यमस्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन ।”

  उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताए । पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको उनकाे भनाइ छ । यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उनले बताए ।जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । उनले सरकार सुशासनको अभियानमा रहेको समेत उल्लेख गरे ।

उपसभापति खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायतका क्षेत्रमा भएका विकास कांग्रेसको नेतृत्वमा भएको भन्दै यसबीच भएका कमीकमजोरी सुधार गर्दै जाने पनि उल्लेख गरे । उनले सबैभन्दा पहिले आफूभित्र भएको कमजोरी सुधार गर्दै पार्टीमा भएका कमजोरी हटाउँदै लैजानुपर्नेमा जोड दिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।