ताजा अपडेट »

माघ २६ देखि नवौं मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता

बुधबार, २५ पुस २०८०, १७ : १६
236 Shares
बुधबार, २५ पुस २०८०
236 Shares

बुटवल । यस क्षेत्रकै प्रतिष्ठित कप नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माघ २६ गतेदेखि सञ्चालन हुने भएको छ । ३ विभागीय र ७ प्रदेश गरि १० समूह सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मणिमुकुन्द क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

वि.स. २०६४ सालपछि यस क्षेत्रमै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै भण्डारीले सोही अनुसार भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी भैरहेको बताए । राष्ट्रिय भलिबलको नियमानुसार सञ्चालन गरिने प्रतियोगिता बारे जाकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले यो सिजनमा पुरस्कार राशीसमेत वृद्धि गरिएको जानकारी दिए । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा प्रथम पुरस्कार २ लाख १ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । यसैगरी तृतीय हुनेले १ लाख १ रुपैयाँ र सान्त्वना हुने समुहले ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने आयोजकले जनाएको छ ।

क्लबको खेलमैदान तिलोत्तमा-२ जोगिकुटीमा फागुन २ गतेसम्म एक साता सञ्चालन हुने प्रतियोगिताका सबै खेल म्याटमा हुने गुरुङले बताए । 'स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकूद' भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताले भलिबल खेलाडी उत्पादन र भलिबल खेल विकास गर्नका निमिक्त सफल हुने विश्वास गरिएको क्लबका संस्थापक अध्यक्ष मिलन रानाले बताए ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष किसन चन्दले जानकारी दिए । यसैगरी खेलाडीहरुका लागि १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमाको समेत व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ३४ लाख बढी खर्च अनुमान गरिएकोे बताउँदै वरिष्ठ उपाध्यक्ष चन्दले तिलोत्तमा नगरपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद तथा विभिन्न निजी संस्थाहरुसँग सहकार्य गरिएको जानकारी गराए । प्रतियोगितामा एकसाथ २ हजार ५ सयले दर्शकले अवलोकन गर्न मिल्नेगरी प्याराफिट निर्माण गरिनुकासाथै आवश्यकता अनुसार यसको क्षमता थप गरिने चन्दले बताए । १४ वर्षपछि यस क्षेत्रमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेका कारण दर्शकको चाप विगतभन्दा बढी हुने अपेक्षा गरिएको उनले बताए ।  

प्रतियोगिताको मुख्य प्रवर्द्धक खेलकुद परिषद लुम्बिनीका अध्यक्ष जयप्रकाश भट्टराईले आर्थिक सहयोगसँगै अभिभाकीय भूमिका निर्वाह गर्न तयार रहेको प्रतिवद्धता गरे । अध्यक्ष भट्टराईले प्रतियोगितामा सहभागी खेलाडीहरुको व्यवस्थापन तथा खेललाई अनेशासित ढङ्गबाट सञ्चालन गर्न आग्रह गरे । यसैगरि राष्ट्रिय भलिबल संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष योग गुरुङले प्रतियोगिता सफल बनाउन सबैको तर्फबाट एक भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रम क्लबका सहसचिव सुदिप केसीको सञ्चालनमा सम्पन्न भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।