ताजा अपडेट »

तिलोत्तमामा १० औं मणिमुकुन्द इण्डो-नेपाल पुरुष भलिबल सुरु

शनिबार, ०६ बैशाख २०८२, २० : ४५
72 Shares
शनिबार, ०६ बैशाख २०८२
72 Shares

बुटवल । तिलोत्तमामा शनिबारदेखि १०औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । इन्डो नेपाल क्लब च्याम्पियनसिप-२०८२ अन्तर्गत प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको विकासप्रति खुशी व्यक्त गर्दै खेलकुदलाई पर्यटनसँग जोड्न जरुरी रहेको धारणा व्यक्त गरे ।

`खेल हेर्नका लागि विदेशी पर्यटकलाई धेरै दिन राख्न सकिने अवस्था छ´ उनले भने, `प्रदेश सरकारले खेल पर्यटनको विकासका लागि ध्यान दिनेछ ।´ उनले खेल पूर्वाधारको विकास, खेलाडीहरूमा क्षमता अभिवृद्धि र प्रतिस्पर्धाको वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको पनि स्पष्ट पारे । सबै प्रकारका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति सरकारले लिएको जानकारी दिए ।

प्रदेशमा भलिबल खेलाडी उत्पादन गर्न तथा राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न मणिमुकुन्द भलिबल क्लब सफल भएकोमा पनि उनले खुशी व्यक्त गरे ।वैशाख १३ गतेसम्म सञ्चालन हुने याे प्रतियोगितामा सबै खेल रातिको समयमा सञ्चालन हुने छन् ।प्रतियोगितामा नेपाल, भारत र इरानका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा ३ विभागीय र एक भारतीय टोलीसहित ९ वटा क्लब सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीहरूमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब, सुदूरपश्चिम खेलकुद परिषद् र भारत गुजरातको साग भलिबल एकेडेमी रहेका छन् ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई ६६ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका अन्य ८ विधामा पनि नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । वेष्ट प्लेयरलाई १५ हजार रुपैयाँसहित कप र प्रमाणपत्र प्रदान गरिनेछ । वेष्ट सटर र वेष्ट ब्लकरलाई पनि १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।