ताजा अपडेट »

हामी कहाँ थियौं र अहिले कहाँ छौं !

बुधबार, २५ पुस २०८०, १६ : ३२
0.94K Shares
बुधबार, २५ पुस २०८०
0.94K Shares

२०५१ सालको मंसिरमा रोल्पाको बाघमारे भन्ने ठाउँमा प्रशिक्षणको लागि जान पर्ने थियो, म त्यति बेला प्यूठान जिल्लाको सेक्रेटरी थिए, प्रशिक्षणमा भाग लिन खैरा निवासी  क.धनेश्वर पोख्रेल, चोरपानी निवासी विष्णु पौडेलजी र नेपालगंजका एकजना वकिल कमरेड पदम वैदिकसहित चार जनाको टोली प्युठानको विजुवारबाट उकालो लागेका थियौँ । 

अरेस डाडाँ पुरै सकेर हामि सुलीचौरको बजार हुँदै बास बस्नको लागि जैमाकसला भन्ने ठाउँमा पुगेका थियौँै। एउटा होटलमा हामि बास बसेका थियौँ, राती प्रहरीको गस्ती ओहोरदोहोर गर्दा होटलनी बहीनीलाई सोध्यो कि तिम्रो पसलमा कोइ नयाँ मान्छे आएर बास बसेका छन कि ? होटलनी बहिनीले जवाफ दिइन ‘मेरो होटलमा नयाँ पाहुना कोई छैनन, सबै एनजीओका कर्मचारी मात्र हुनुहुन्छ ।’ 

त्यसपछि प्रहरीहरु अगाडी बढेका थिए, ०५१ सालमा पनि रोल्पा जिल्ला निकै संवेदनशील जिल्ला थियो, पछि थाहा लाग्यो कि त्यो होटल माओवादीसँग सम्बधित संस्था संयुक्त जनमोर्चाबाट गाविसमा विजय गरेका उपाध्यक्षको रहेछ । बिना परिचय पनि ती बहिनीले यिनि हाम्रै पार्टीका कमरेड हुन भनेर बचाएको घटनाले हामिलाई अचम्मीत बनाएको थियो । बिहान सबेरै उठेर हामि पोवाङ् हुँदै थवाङ तिर लागेउ तर ती वकिल कमरेडको घोडा दुखेको हुनाले हामि थवाङ पुग्न सकेनाँै। 

थवाङ गाविसको एउटा वडाजो डाँडा भन्दा यतै थियो मागेखर्कमा हामि बासा बसेउ, त्यो ठाउँ यति चिसो थियो कि चैतमा छरेका मकै मंसीरमा हामिले पोलेर खाएका थियौं, त्यहाँ पनि खाना खाएर सुतेपछि गस्ती आएको थियो रे, हामिले देखेनौँ, घर वालाहरुले कुरा मिलाएर पठायौ भन्नुहुन्थ्यो । बिहान त्यहाँबाट हामि थवाङतर्फ लागेउ, हामिलाइ लली रोकाया भन्ने कमरेडसंग सम्पर्क गर्न भनिएको थियो। हामि ती कमरेडको घर सोध्दै उनको घरमा पुगेका थियौँ । उनको घरमा रहेकी एउटी बहिनीले हामिलाई सोधिन कि तपाईहरूले ललीलाई किन खोज्नु भएको हो ? कस्तो अप्ठ्यारो भने भन्न पनि नहुने, नभनी पनि नहुने ।  

हामि प्यूठानबाट उनलाई भेट्न भनेर आएका हौँ, जसरी पनि उनलाई भेटन पर्छ भनेपछि उनले भनिन “तपाइहरू हिजै आउन पर्ने होइन र ? हिजो आउन पर्नेमा आज कसरी ? हामिले  भनेउ कि वहाँको खुट्टा दुखेको कारण हामि आउन सकेनौँ। त्यसपछि उनले अर्को व्यक्तिसँग लगिन उनले पनि यहि प्रश्न दोहोराए । हामिले पनि त्यहि उत्तर दियौं, जो बहिनीलाई दिएका थियौँ । उनले भने यहाँ यस्तो चल्दैन, यहाँ आउने भनेपछि आउने ?  

हामिले भनैयौँ गल्ति हुन गयो, आत्माआलोचना गराँैला  तर हामिलाई जसरी पनि ललीसँग भेट गराइ दिनुपर्यो । फेरी उनले  भने कि तपाइहरुले थवाङमा कसैलाई चिन्नुहुन्छ ? यो बडो कठिन प्रश्न थियो, सबै साथिहरु टेक नामबाट चिनिन्थे र कसको घर कहाँ पर्दछ, थाहा हुदैनथ्यो ।  हामिले भनेउ, कसैलाई चिन्दैनौं। उनले फेरि प्रश्न गरे, वर्मन बुढालाई  चिन्नु हुन्छ ! मैले भने हो वहाँलाई भने म चिन्दछु।  उनी ०४८ सालको निर्वाचनमा  जनमोर्चाबाट माननीय बनेका थिए ,उनले मलाइ ०४८ सालकै चितवनमा भएको पार्टीको एकता महाधिवेशनमा चिनेका थिए । 


मलाई पार्टीका प्रत्येक कार्यक्रम हरुमा हास्यव्यङ्गको लागि मञ्चमा निम्ताउने गरिन्थ्यो, त्यसै कारण मलाइ धेरैले चिन्दछ्न, उनी त्यहाँ आइपुगे।  हामि सर्तकताका साथ उठेर लाल सलाम कमरेड भन्दै दरिलो हात मिलाउन पुगेउ । उनले मेरो टेकनाम बोलाउदै भने कि नविन कमरेड । बाटोमा आउन कुनै कठिनाइ त  परेन नी ?

मैले छोटो उत्तर दिए,त्यस्तो अफ्ठारो केहि परेन, अगाडि उनले भने तपाइहरु ललीको सम्पर्कमा आउनु भएको होला हैन ? हामिले हो भनेउ,  हामि ललीको सम्पर्कमा आएको उनले भने ओहो, लली त बिहान आठ बजेसम्म तपाइहरुलाई पर्खेर अगाडी बढ़ी, तपाइहरु  छुटनुभयो, मैले उनलाई अनुरोध गरे, कमरेड, हामि जसरी पनि लली पुगेको ठाउँमा पुग्न पर्दछ, हजुरले व्यवस्था गर्न पर्यो, नत्र जिल्लै छुट्ने भयो । 

उनले भने कि ललीले मलाई पनि जान अनुरोध गरेकी थिई तर म बुढो मान्छे भो म जादैन भनेर जवाफ दिए, आफू नजाने भए पछि हाम्रोमा स्थान सोध्ने संस्कृति छैन, त्यसैले तपाईहरू जान पर्ने ठाऊँ कहाँ हो हामिलाई थाहा छैन, अनुमानको भरमा अगाडी बढ्न पर्ने हुन्छ, तपाइहरुलाई एकजना कमरेडको व्यवस्था गरिदिन्छु, उनले सकेसम्म सम्बन्धित ठाउँमा पुराउने छन्, खाना खाएर अगाडि बढ्नुहोला ।

थवाङ्मा जम्मा दुई खेती मात्र हुन्छन, मकै र आलु, पहिले हामिले नुनसँग उसीनेका  आलु खायौ, त्यसपछि आटो पाक्यो र सागसँग हामिले पेटभरी आटो खायौं, अनि हामिले नेपालगंजको साथि पदमजीलाई भनेउ कि । तपाइका कारणले हामिले यति धेरै स्पष्टिकरण दिन परेको छ, त्यसैले तपाइ यतै बस्नुहोस, फर्केर आउदा लैजाने छौँ । उनले भने कि कमरेड, जिवनको यो मेरो पहिलो कार्यक्रम हो, मलाई नछुटाउनुहोस, मेरो झोला बोकी दिन पर्यो, म सकि नसकि भेटाएर हिडने प्रयास गर्दछु, हामि उनीसँगै अगाडि बढेउ । 

हामिसँग जाँने कमरेडले बाटोमा हामिलाई निर्देशन गरे, कमरेडहरु मलाई भेटाएर आउन । बाटोमा भेटिने कसैसँग कुरा नगर्ने, कसैले सोधिहालेछ भने हामी कृषि विभागका कर्मचारी हौं, आलुको अनुसन्धान गर्न आएका भनेर भन्नु, ती कमरेडले पदमजीको झोला बोके, पदमजीले उनको झोला जस्मा चारमाना जती मुटेका मकै थिए, हामि अगाडि बढेऊ, साँझ कुरेली भन्ने ठाउँमा बासा बसेउ, त्यहा भने संजोगले चामलको भात  र दुध पनि खान पाएका थियाँै । बिहान उठेर अगाडि बढ़ने बेला ति कमरेडले हामिलाई सोधेका थिए, यो खोला, चारघाट तर्नु पर्दछ तरेर जाऊ कि! खोला तर्न नपर्ने घुमाउरो बाटो जाउ ।

यसको पानी अली बढी चिसो छ, हामिले चाडै होला भनेर खोलैखोल जाउ भनेउ तर पछि थाहा लाग्यो कि त्यो खटाउनै नसकिने चिसो रहेछ । दश मिनेट पानिमा खुट्टा राख्ने हो भने  खुट्टै पो काटिदिन्छ की जस्तो,जसरी तसरी हामि अगाडि बढेउ।  बिहान दश बजे सायद रांसी गाविस हो कि जस्तो लाग्छ, हामि पासाङ्गजीको घरमा पुगेउ, जो निवर्तमान उपराष्ट्रपती हुनुहुन्छ । त्यहाँ हामिले बिहानको खाना खायौं, पासाङजी हिडीसक्नु भएको रहेछ, त्यहाँ वहाको  दुइजना भाइ हुनुहुन्थ्यो । एकजना शिक्षक र अर्को दशमा पढ्ने विद्यार्थी ।  

थवाङबाट हामिसँग गएका कमरेडले सबै कुरा उनिहरुसंग मगर भाषामा गरेपछि हामिले स्पष्टिकरण दिइरहन परेन, शिक्षक साथिले हामिलाइ खस भाषामा बताउनु भयो कि हिजो साँझ र अबेर रातीसम्म साथिहरु आउने क्रम चलेको थियो, बिहान चार बजे उठेर सबै जानुभयो, कहा जानु भयो हामि भन्न सक्दैनौ, तपाइहरुसँग कान्छो भाइ पनि जान्छ्न, कोशिश गरौँ , सायद  ठाउँ भेटाउन सकिएला। 

अब हामि दुइजना कमरेड गाइडसँग अगाडि बढेउ, बाटोमा विविध भेराइटिका जुताका डामहरु देखिन्थे, तिनै डामहरुको आधारमा हामि पासाङजीको घरबाट दुइ खोली झरेउ । एउटा कुरेलीतीरबाट झरेको खोला, जुन हामिलाई तर्न कठिन भएको थियो, अर्को रूकुमको लुकुमतीरबाट आउने खोला, ति दुई खोलीको बिचमा एउटा घर थियो,  पासाङजीको भाइले ती घरवालालाई सोधे, त्यहाँबाट  कमरेडहरु लुकुमतिर लाग्नु भएको भन्ने कुरा आयो।  

हामि अगाडि बढेउ, बाघमारेको पुछारमा एउटा सानो बजार थियो, त्यहाँ होटलवालासँग यिनिहरूले सबै कुरा गरे, ती होटलवाला पनि जनमोर्चाबाट निर्वाचन जितेका उपाध्यक्ष रहेछन्, उनले हामिसँग मसिनो गरि सोधपुछ गरे, ढिला हुनुको कारण बारे बढी केरकार गरे, यो तरिकाले क्रान्ती अगाडि बढ्न नसक्ने कुरा पनि उनले  गरे  । तपाईहरु लली रोकाहाको सम्पर्क नै हो भनेर कसरी बुझौं ! भनेर सोधे ।  तपाई वादललाई सोध्न सक्नुहुन्छ, महरालाई सोध्न सक्नुहुन्छ, हामि गलत रहेछौं भने सेरियर मर्न तयार छौं भनेर मैले  भनेपछि उनि कन्भिन्स भएका थिए ।  

त्यसपछि उनि माथि तिर उक्लीए, १५ मिनट पछि फर्किए,सायद उनले वाकिटकि मार्फत क्रार्यक्रम थलमा सम्पर्क गरे हुनन  र हामिलाई अगाडि बढ्ने निर्देश गरे तर उनले सोझै माथि वाघमारे गाउँतिर जान दिएनन र तपाईहरु आधा घण्टा लुकुम जाने बाटातिर जानुस, यहाँ कसैले देखेछ भने यिनि लुकुम जाने मानिस हुन भन्ने भ्रम परोस, आधा घण्टा पछि आउने गोरेटो बाटो समातेर माथितिर लाग्नु भनेर सुझाव दिए । 

हामि त्यसै गरेउ, उकालो चढेर हामि बाघमारे पुगेउ, ती दुइ जना कमरेड गाइडहरुलाइ सेल्टरको आस पासको ठाउ बताइएको थियो होला,त्यहा एउटा घरमा हामि पुगेउ, त्यो घरको बैठक कोठामा दुइटा लुंगी झुण्डीएका थिए र ५÷७ वटा खुकुरी फिल्टर चुरोटका ठुटा त्यहाँ निभाइएको थियो, यसबाट अनुमान लगाइयो कि प्रचण्ड, बोगटी र वादलजीहरु यसै कोठामा सुत्नुहुन्छ  किनकि वहाँहरुले चुरोट खानुहुन्थ्यो । घरको भित्र पट्टी मकै भुटेको आवाज आयो,   ढोका खोलेर हेर्दा तिनपाथी जती मकै भुटेर सुपामा राखिएको थियो, ती मकै भुटी रहेका कमरेडसँग मगर भाषामा वहाँहरुले कुरा गर्नुभयो, हाम्रो कुरा बुझेपछि मकै भुटने जिम्मा हाम्रो सानो भाइ कमरेडलाइ  दिएर उनि माथितिर लागे, १५ मिनट पछि उनी फर्किए, हामिलाई अगाडि बढ्ने स्वीकृति मिल्यो । 
केहिछिन पछि हामि कार्यक्रम थलमा पुगेउ, ढिला हुनाको स्पष्टीकरण पछि हामिले हलभित्र प्रवेश पायौँ । खाना खाने समयमा प्रचण्डजीले आफु आराम गर्ने कोठामा मलाई बोलाउनु भयो, मैले पार्टी केन्द्रमा मेरो आर्थिक अवस्था बिग्रिएको र साहुको व्याज समेत रोकिएकाले मलाई पुन नोकरीमा फर्कन केहि समय विदा दिन पर्यो भनेको थिए ।  

पार्टी हेड क्वाटरमा छलपल चल्दा वहाँजस्ता कमरेडलाई नोकरीमा पठाउन हुँदैन्, बरु सहयोग गर्नु पर्दछ भन्ने कुरा भएछ र ब्यवहारमा मद्दत  गर्ने भनेर दस हजार रूपिया मेरो लागि ल्याइदिनु भएको रहेछ  । यो कुरा सुन्दासाथ मेरा आँशु झरे, वहाँ पनि भावुक हुनुभयो तर त्यति बेलासम्म मैले खेत बेचेर सबै ऋण तिरी सकेको थिए, मैले क. प्रचण्डजीलाई भने कि मेरो बारेमा, मेरो अवस्थाको बारेमा पार्टी केन्द्रले चिन्ता लिएकोमा धन्यवाद छ तर मैले मेरो ऋण सबै तिरे, त्यसैले त्यो दस हजार रुपिया क्रान्ति गर्ने भन्नु भएको छ क्यारे, त्यहि काममा लगाउनु होला भनेर मैले फिर्ता दिएको थिए। 

आहा! त्यो भावना, त्यो वर्गिय माया, कार्यकर्तालाई हेर्ने त्यो दृष्टिकोण, त्यो अनुशासन, त्यो नियम प्रतिको कडाई, कार्यक्रमको समापनमा बन्दुक पडकाएर, प्रत्येक सदस्यलाइ फुलको माला लगाई दिएर हात मिलाउने बेला एक एक किलो भुटेका मकै र भटमासको थैलो हामिलाई थमाउदै दरिलो मुठी उठाएर हात मिलाइएको थियो।  प्रचण्डजीले सम्वोधनको क्रममा भन्नु भएको थियो कि वर्ग विहिन समाजको निर्माण नहुदा सम्म हामि विचलित हुने छैनौँ र जनतालाइ धोका दिने छैनौ, त्यहाँबाट हामि सकुसल फर्केउ । 

त्यो अवस्थाबाट निर्माण भएको पार्टी आज झण्डै तिन दशक बितिसकेको छ, आन्तरिक जिवनमा धेरै फेरबदल आएको छ । ऊ बेला हामि र हामि जस्ता पचासौँ कार्यकर्ताहरु पार्टी निर्माणको निम्ति जग बनेका थियौ, ती मध्येका कैयौले शहादत प्राप्त गर्नु भयो, कैयौं अंग भंग हुनुभयो, गणतन्त्र प्राप्तीसम्म हामि सबै एउटै विन्दुमा थियौं, हामिलाई जब सत्ता प्राप्त भयो, हामि जब सरकारमा सहभागी बनेउ, हामि सरकारमा सहभागी हुने वेलामा भनेका थियौं कि हामि पुरानो संरचना बदल्न मात्र यहाँ सहभागि भएका छौं ।

पुरानो सत्ताको संरचनालाई क्रान्तिकारि सत्तामा, हाम्रो अर्थात सर्वहारा वर्गको सत्तामा रुपान्तरण गर्न मात्र हामिले हाम्रा प्रतिनिधि त्यहा पठाएका हौं, हामिले लेलिनको भनाइलाई कोट गर्दथेउ, सत्ता बदल्नको निमित्त क्रान्तिकारिहरु सुगुरको खोरमा पनि प्रवेश गर्नुपर्दछ, हामिले सुगुरको खोरमा प्रवेश गरेउ, ०६४ सालदेखि हामि निरन्तर सुगुरको खोरमा छौं । इतिहास साक्षी छ कि हामिले प्रतिक्रियावादी सत्ता र त्यसको संरचना परिवर्तन गर्न सकेनौं, बरु हामि स्वयम पुरानै सत्तामा समाहित हुन पुगेउ । 

हामि  हेर्दछौं, परिस्थिति धेरै बदलीएको छ ,नेतृत्व धेरै रूपान्तरण भएको छ तर हामिले भने ०५१ सालको भावना,  ०५१ सालको संस्कृति, ०५१ सालको वर्गियता खोजी रहेका छौं, जो अब इतिहास बन्यो ।  हिजो हामि र हामि जस्ता पचासौँ साथिहरु पार्टिको जग बनेका थियौं भने आज क.ल्याकर लामाजीहरुको आवश्यकता छ, वहाँहरुकै योगदानमा पार्टी अगाडि बढेको छ, समग्रमा भन्न सकिन्छ कि परिवर्तन र मुक्ति दश प्रतिशतको सम्पन्न भएको छ । 
९० प्रतिशतको परिवर्तन र मुक्ति अझै बाकि छ,त्यो कसरी पुरा गर्ने, बहसको विषय बन्न पर्ने हो कि ? के वहाँहरुले नै बाँकी कार्यभार पुरा गर्नुहुनेछ भनेर विश्वास गरेर बस्ने हो कि ? 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार