ताजा अपडेट »

को बन्ला अर्को बैकुण्ठ ?

मंगलबार, २४ पुस २०८०, १६ : २८
2.10K Shares
मंगलबार, २४ पुस २०८०
2.10K Shares

अर्जुनध्वज अर्याल/ हामी सानासाना हुँदा गाँउका उमेर पुगेका पुरुषहरु वर्षमा एकपटक हप्तौ गाँउबाट हराउथे । यसरी हराउदा घरबाट जाँदा नखाईनखाई सँगालेको घ्युका टिनका बाकस बोकेर जान्थे र फर्किएर आउँदा मिठाइ‚  नाना(लुगा)‚ तेल‚ र नून बोकेर आउथे । नगद खासै नहुने त्यो समयमा आफ्‌ना अत्यावश्यक सामान त्यसमा पनि नून र कपडा किन्नकालागि त्यो टिनकाटिन घ्यु बोकेर जाँदा रहेछन् । अर्थशास्त्रका भाषमा वस्तु विनिमयका माध्यमले मानिसले आफ्‌ना आधारभूत आवश्यक्ता परिपूर्ति गरेका रहेछन पितापूर्खाले । त्यो विनिमयको ठाँउ रहेछ अहिलेको बुटवल जुन बुढापाकाका लबजमा बटौलि र खसौलि ।

यसरी बटौलि र खसौलिबाट नूनतेल कपडा बोक्नकालागि लाग्ने हप्तौसम्मको समयकालागि रसदपानि पनि सँगै बोक्नुपर्दा ति पितापूर्खाका कन्नाका(ढाड) छाला र जुत्ताचप्ल बिहिन खाली खुट्टाको हालत कस्तो हुँदो हो?केबल कल्पना मात्रै गर्न सक्छौ मेरा पुस्ताका मानिसले । अहिले अनलाइनबाट आफ्‌ना सम्पूर्ण आवश्यक्ता पूरा गर्ने डिजिटलाइज्ड नेटिजन पुस्ताकालागि यी कुरा दन्त्य कथा जस्ता लाग्न सक्छन । हामीलाई बेवकूफ बनाउन रचिएका काल्पनिक मिथ्या हुन भन्न पनि सक्छन् । हुनत यो उनीहरुको दोष होइन । दोष हो त केवल विज्ञान र प्रविधिको । हुन त विज्ञान र प्रविधिलाई पनि के दोष दिनु र बरु दोष त मेरो हो जो हिजोका यी कहालाी लाग्दा समयको र अहिलेका नेटिजनहरुको संक्रमण रेखाका रुपमा रहनु । नत ति हिजोका कुरा मनबाट हटाउन सक्ने नत जस्ताको त्यस्तै व्यवहारमा लागु गर्न सक्ने । त्यसैगरी नत अहिलेका नेटिजनसँग सरोबरी भएर अगाडि बढ्न सक्ने । मेरो बुवा पुस्ता‚ म र मेरो सन्ततिको यो पुस्तान्तरमा भएको विज्ञान र प्रविधिको विकासको बुझाइ नै गजव्व लाग्छ । मेरो अग्रजका लागि यो प्रविधि छेक्नोलोजि जस्तो लाग्छ‚ मेरालागि देख्नोलोजि‚ र सन्तानका लागि टेक्नोलोजि । कुरा गर्दागर्दै अलि बहकिएर बेप्रसंग त भैयो कि कतै ! अब लागौ ती पूर्खाका दु:ख कथा र बेदनातिर ।

गुल्मी जिल्लाको अग्लुङ जुन वर्तमानमा मदाने गाउँपालिकामा पर्दछ जन्मिएका प्रतिमान बोहोरा र बैकुण्ठ बहादुर चन्द जसले गुल्मेलिको जनजिवनमा कायाकल्प गरिदिएका थिए । प्रतिमानको नाम त मेरो पुस्ताले त्यति सुनेको नाम होइन तर पनि खसौलि–पाल्पाको मोटर बाटो खनाउनमा उनको ठूलो योगदान रहेका कुरा अग्लुङकै बासिन्दा तथा शिक्षाप्रेमि र समाजसेवि दिपक विष्टद्धारा जानकारी पाएको हुँ । त्यस्तै अर्का समाजसेवि तथा स्वास्थ्यकर्मी तारा महतका भनाईमा उनै प्रतिमानले गुल्मेलीको दु:ख घटाउन बुटवल–पाल्पाको बाटो खन्दा बिचमा परेका पहाड काट्न ल्यासको डोरी बनाएर कम्मरमा बाँधेर काट्थे रे साथै पहरो परेको वा ठूला ढुंगा भएका ठाँउमा स्थानीय प्रविधि–ढुंगामा छिनोले प्वाल पारेर र पकाएको गहतको झोलले ढुंगा फुटाल्ने काम भए । कहीँकहीँ तौलिहवाका मुसलमानलाई बोलाएर सेनाको व्यारेकको सम्पर्कमा रहि बारुदद्धारा बिस्फोटन गराई बाटो फराकिलो पार्ने काम भएको थियो रे  भन्नुले उहाँको योगदान यहाँ उल्लेख गर्न  लागेर राखे । उनकै कारण नून बोक्ने ढाक्रे पूर्खाका चहराइ रहेका कन्नाका छाला र etetL पोलेका नाङ्गा गोडामा शितलताको मलम लगाउने काम भएको थियो । उनलाई म र मेरा अग्रजका तफर्बाट कोटीकोटी नमन । बरु उनका छोरा दिपक बोहोरा जो पञ्चायत र बहुदल कालमा पटपपटक सत्ता र शक्तिमा रहे र अहिले पनि राप्रपाको तफर्बाट प्रतिनिधिसभाका सदस्य रहेका छन् उनले बाउको बाटोमा कति हिँडे मैले त्यति जानकारी पाएको छैन् । हुनत सबै मेरो जानकारीमा आउनै पर्छ भन्ने पनि छैन् । यो पढेपछि कसैका मनमा च्वाँस परेछ र उनका बारेमा कहिँकतै जानकारी हुने केही आएमा पढौला । सुनौला । अब लागौ दोस्रो पात्रतफर् ।

पाल्पा प्रशासनबाट २००९ सालमा छुट्टिएर बनेको जिल्ला गुल्मी जुन पाल्पाबाट हिँडेर ६ दिनमा पुगिने ठाँउ अग्लुङमा माता पवित्रा चन्द र पिता रंगबहादुर चन्दका सुपुत्रका रुपमा १९८९ मा जन्मिएका पात्र हुन बैकुण्ठ । पहिला गुल्मेलीको माल अड्डा बाग्लुङ रहेछ । उनैका भनाईमा तिरो तिर्न गएका मानिसको पछि लागेर बाग्लुङ पुगे उनी । कुराकानीका क्रममा २०१५ सालमा बाग्लुङ माल अड्डाका हाकिम पूर्णबहादुर स्वाँरसँग भोटको लडाइमा रासन–पानी व्यवस्था गर्ने दौलतबहादुर चन्दको नाती हुँ । सब काम गर्न सक्छु  भनेर आफ्‌नो परिचय दिएर मालमा सुवेदारको जागिरमा प्रवेश गरेका थिए बैकुण्ठ । सेवा प्रवेशका दिन हाकिमले शिरमा फेटा र चाँद लगाईदिँदा छक्क र मख्ख परेका बैकुण्ठको जागिरे जिवनले २०२२ सम्म मात्र निरन्तरता पाएको देखिन्छ । जागिरबाट राजिनामा गरेर लागे बैकुण्ठ राजनीतिक यात्रातफर् र शुरु गरे पाल्पा–तम्घासको बाटो खनाउने ध्याउन्नमा । जति पटक तम्घास–पाल्पाको बाटो हिँडे त्यति नै पटक बाटो बनाउने संकल्प मनमनै गरेको कुरा उल्लेख गरेका छन् बैकुण्ठले म बैकुण्ठमा । उनले थप लेखेका छन् ‘जसरी पनि बाटो बनाएर गुल्मेली जनतालाई सम्पन्न र खुशी सुखी पार्न थियो मलाई । गुल्मेलीको ढाठबाट डोको र निधारबाट नाम्लो हटाउन थियो । त्यसका लागि म स्वयंले पनि हातमा ठेला उठाएर बाटो खनेको छु ।’ 

२०२३ सालमा पहिलो पल्ट मित्रबहादुर रायमाझीसँग जिल्ला पञ्चायत सभापतिमा हारेर शुरु भएको उनको राजनीतिक यात्रा उनै रायमाझिलाई २०२५ मा हारको स्वाद चखाउदै अगाडि बढाए । उनको यो विजयको यात्रा सभापति र राष्ट्रिय पञ्चायत सदस्यका रुपमा २०४३ सालसम्म अनवरत रह्यो र २०४६ सालमा भएको प्रजातन्त्र पु:र्नस्थापनापछि फुलिस्टप लाग्यो । सभापतिका रुपमा बैकुण्ठ र उपसभापतिका रुपमा अर्जैका चन्द्रकान्त अर्याल मिलेर २०३१ सालमा राङदलको एउटा कुनामा कुटानीपिसानीको मिल राखेर गुल्मीलाई मिलको युगमा पनि प्रवेश गराएको भनिन्छ ।

मेरा बाउ र बाउ कुनै कारणले जान नसक्ने अवस्था सिर्जना भएमा कान्छा बाउ र गाउँका पुरुषहरु सातुचामल डोकोमा राखि कन्नामा र बेल्चा‚ गैटी‚ कोदाला‚ गल‚ घन‚ र बञ्चराहरु काँधमा भिरेर जान्थे र हप्तौ हराउथे । कहाँ गएका होलान भनि उब्जेको खुल्दुलिको पोको साँझ आँबै (हजुरआमा) सँग बसेर खोल्दा थाहा हुन्थ्यो कि ति मानिसहरु बैकुण्ठेको उर्दीमा पाल्पा–तम्घासको मोटरबाटो खन्न गएका रहेछन् । विधिवत बाटो खन्ने काम २०२५ सालबाट शुरु भएको थियो रे ।  युवराज भुसालका भनाइमा २०२५–२०३९ सालसम्म प्रत्येक वर्ष चार दिन आफ्‌नै कुटोकोदालोबाटै नि:शुल्क श्रमदान गरेका थिए गुल्मीवासीले । शशी पन्थीका मतमा यो संभवत जनश्रमदानबाट खनिएको सबैभन्दा लामो बाटो हो नेपालको । अहिले धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङको नेतृत्वमा ९८ दिनमा ४२ किलोमिटर टाढाबाट जनश्रमदानबाटै खानेपानी धरानमा ल्याउन सफल भए । अहिले श्रमदान भनेको एकादेशको कथा बनेको छ । तर नेतृत्वले चाहेमा र जनतालाई विश्वासमा लिन सके त हुने रहेछ भन्ने कुराको साक्षि बनेका छन् मेयर हर्क । तर त्यतिबेला तम्घास–पाल्पाको बाटो खन्दा अनिवार्य जनश्रमदानमा सहभागि हुनै पर्ने नियम थियो ।

 पाल्पा–तम्घासको बाटो खन्न नगएमा जरिमाना तिर्नु पर्थ्यो रे किनभने प्रत्येक पञ्चायतबाट कुरेनाम जानुपर्ने उर्दी थियो । नभए यसरी लडेर बनाउन लागेको बाटो बन्ने सम्भाबना थिएन नि त । सायद यसैकारणले होला जसको घरमा पुरुष पात्र थिएनन् वा अरु कुनै कारणले जान नसकेमा जरिमाना तिर्नु पर्थ्याे । यसलाई पुष्टि गर्दै समाजसेवि महत भन्नुहुन्छ– यदि केही गरी आफ्‌ना घरमा लोग्ने मानिस नभएमा छरछिमेकबाट वा नातागोताबाट कसैलाई पठाउनै पर्नेथियो । यसको अप्रत्यक्ष अर्थ त जरिमान नै हो नि । हैनर? अरु नगद वा जिन्सि जरिमाना के कति थियो भन्ने जानकारी भने मलाई छैन् । कुनै खास काम गर्न कसैन कसैबाट प्ररेणा पाउनु पर्छनै ।

यो बाटो खनाउने प्रेरणा बैकुण्ठले उनै प्रतिमानबाट पाएका हुन भन्ने जिरह समाजसेवि दिपक विष्टको रहेको छ । हुनत उनले घाँस बेचेर कुवा खनाउने तनहुँका बाजे भानुभक्तका बारेमा पढेका वा सुनेका पनि त हुन सक्छन् । खैर जे होस सत्काम गरे । प्रतिमानले बटौलि– पाल्पको बाटो खनाउदा के कति झमेला भोगे त्यसको जानकारी मलाई छैन् तर बैकुण्ठले भने निकै बुहार्तन खेप्न परेका कहानीहरु सुने  भन्नुहुन्छ स्वास्थ्यकर्मी महत । उहाँ थप्नुहुन्छ– पाल्पाको बतासे डाँडा नजिकै बाटो खन्ने भाग परेको रहेछ इस्मा दोहलीको । दिनभर बाटो खनेर थाकेका मानिस खाना खाइवरी खुल्ल्ाा आकाशमुनि चौरमा मस्तले सुतिरहेको बेला त्यो बाटोको विरोधमा रहेका पाल्पालीहरु एक्कासि आएर जाइ लागे । ज्यान जोगाउन नाङ्गैभुतुङ्गै भागाभाग गर्न परेको कहान्ी आफ्‌नै बुवाको मुखारविन्दबाट सुनेको भन्ने जानकारी महतको रहेको छ । 

२०२७ सालमा पाल्पामा मोटर पुगेपछि बजार गुल्जार भएको थियो । भुसालले म बैकुण्ठमा लेखेका कुराबाटै थाहा हुन्छकि पाल्पाली व्यापारीहरु कति क्रुद्ध थिए भन्ने कुरा । उनी लेख्दछन्‌–  गुल्मीतिर बाटो जानेभएपछि पाल्पाली व्यापारीसँग गुल्मेली जनता ढाकर लिई नूनतेल किन्न जाँदा रिसले मुर्मुरिदै‘ तानेसन हाइन‚ तिम्रै गुल्मी जाने मोटरबाटो खन्दैछौ‚ उतै नूनतेल लिन जाउ’ । यसबाट प्रष्ट हुन्छ कि बैकुण्ठले बाटो खनाउन कति हण्डर र ठक्कर खानु परेहोला । एउटा प्रशंगमा बैबुण्ठले भनेका छन्‌– बैकुण्ठ जी ! गुल्मीमा बाटो बन्नु भनेको हामी पाल्पाली व्यापारीको दानापानी खोस्नु हो । कृपया यो नगरी दिनुस‚ हामी तपाइलाई चाहिएको सबै दिन्छौ । भन्नुस सेवा–सुविधा‚ घरघडेरी‚ पैसा के कति चाहिन्छ । उनीहरुका यी कुनैपनि कुराले नछोएपछि मलाई मार्न कुरुङ खोलामा बलिया गुण्डाहरु पनि पठाए । यसले गर्दा जंगलमा लुक्दै हिँडनु पनि पर्यो । हुन त हामीलाई सिकाउँदा नै राम्रोजति ‘म’ बाँकी त तर्सिने कि तरिमुखा ‘त’ भनेरै सिकाइएको थियो र छ । नभए पाल्पाली व्यापारी भएर हेर्ने हो भने उनीहरु रिसाउनु र बाटो सकेसम्म बनाउन नदिनु ठिकै पनि त होनि । होइन र त्योबेलामा ?

आफ्‌नो काम कसरी फत्ते गर्न सकिन्छ भनेर निरन्तर घोत्लिरहने स्वाभका थिए बैकुण्ठ र उनका सहयोगी चतुर खेलाडी थिए‚ जिल्ला पञ्चायत उपसभापति‚ इस्मा अर्जैका चन्द्रकान्त अर्याल । यी दुई जनाले बाटो खनाइ छाड्न पाल्पाको जिल्ला पञ्चायत सभापतिमा बजार भन्दा बाहिरको गैरनेवार संभवत रायमाझि थरको उम्मेदवारलाई जिताउन भरमग्दुर प्रयास गरेका थिए भन्ने सुनेको थिए भन्ने महतको भनाइले पुष्टि गर्दछ । सोझो औलाले घ्यु नआउने भएपछि औला बङ्गयाउन मानिस विवस हुन्छ नै । यसरी दुखजिलोगरी निकालेको घ्यु बाँडिचुँडि खानु बाध्यता पनि थियो । सायद त्यसैले यो बाटो ती पाल्पाली सभापतिले आफ्‌नो घर हुँदै लैजान खोजेकै कारणले पनि अलि घुमाउरो रहेको तर्क छ महतको ।  लामो बाटो भएकोमा महतसँग सहमत भएका बैकुण्ठ लामो बाटो हुनुमा पाल्पालीले सकभर गुल्मेलीले बनाउन नसकुन भनेर असजिलो ठाँउबाट बाटो बनाउन सहमति दिएका थिए । कारण जेसुकै भएपनि लामो‚ छोटो‚ र घुमाउरो जे भएपनि बाटो बन्नु नै महत्वपूर्ण कुरा थियो र बन्यो पनि । अहिलेका जनप्रतिनिधिहरुले त्यसलाई छोट्याउने र गतिलो बनाउने काममा ध्यान दिए भयो नि त ।

पाल्पा–तम्घासको मोटरबाटो बनाउने प्रस्ताव आफू जिल्ला पञ्चायतको सभापति भएपछि बैकुण्ठले जिल्ला पञ्चायतको बैठकबाट सर्बसम्मत पास गराएका थिए । साथै जिल्ला पञ्चायतका सबै मानिस बाटो खन्नेबेलामा खन्ने मानिसको संरक्षक बन्न उनीहरुसँगै बस्नुपर्ने व्यवस्था मिलाएका थिए रे । किनभने क्रुद्ध रहेका पाल्पालीले जतिबेला पनि कुनै किसिमको दुर्घटना घटाउन सक्थे । यसरी पाल्पालिको चर्को विरोधका बावजुत खनाउन लागेको सो बाटो छोटो समयमा बनाउन सकियोस भनेर गुल्मीका तत्कालिन ९७ गाउँ पञ्चायतलाई आठ भाग लगाएर आठ ठाँउबाट रिडी र पाल्पा गरी दुबैतिरबाट शुरु गरिएको तथ्यको जानकारी उनै महतबाट पाएको हो । पाल्पाका साहुमहाजन र व्यापारीहरुले बैकुण्ठलाई सो बाटो नखनाउन सामदाम दण्ड भेद सबै प्रगोग गरेका थिए रे । युवराज भुसालसँगको कुराकानीको प्रसँग उल्लेख गर्दै भुसाल भन्दछन् ‘यो मोटरबाटो खन्ने काम बन्द गर्न आफूलाई अनेक प्रलोभन देखाइएको थियो । तर म अडिग रहीरहे’ । उनी त्योबेला larnLt भएका भए गुल्मेलीले अझ कति समय सास्ती खेप्न पर्ने थियो होला?  ति कुनै पनि कुराले बैकुण्ठको आत्मस्वाभिमान र गुल्मेलि जनताको ओठमा मुस्कान भर्ने पथमा विचलित बनाउन सकेनेन् । उनले आफ्‌नो व्यक्तिगत स्वार्थपूर्तिका लागि लागेका भए काठमाण्डौमा दुईचारवटा घर बनाउन कुनै आइतबार कुर्नुपर्ने थिएन । अहिलेका चर्चित बालुवाटार ‚ जलहरी‚ र नक्कली भुटानी शरणार्थी काण्ड आदिमा सहभागी भएका पात्रहरुलाई हेर्दा आङै सिरिङ हुन्छ । राज्य सञ्चालकहरु यतिधेरै नाङ्गै हुन सक्दा रहेछन तर ति बैकुण्ठे किन नबिकेका होलान ्?कि बिकेर पनि लुकाउन सकेका होलान ? कसैले उनी बिकेको प्रमाण त परैको कुरा प्रसंग पनि उठाएका पनि छन् जस्तो लाग्दैन ।

 प्रत्येक मानिसको जिवनको आफ्‌नै उकालीओराली हुन्छन् नै । ती घुम्तिहरुको बयान मानिस सफल भएमा सुन्न र सुनाउन योग्य मानिन्छन् । अनि अूले पढेर र सुनेर प्रेरणा लिने गरिन्छ । अहिले पनि गुल्मीको विकट मानिने अग्लुङको किसान परिवारमा वि.सं. १९८९ मा जन्मिएका बैकुण्ठ मालपोतका सुवेदारबाट छलाङ मार्दै वि.स. २०२५‚ २०२९‚ र २०३४ सालसम्म जिल्ला पञ्चायत सभापति र २०३८‚ २०४३ सालमा  राष्ट्रिय पञ्चायत सदस्य समेत भएर पनि  अहिलेका नेताहरुको भन्दा कम आलिसान बंगला वा महल काठमाण्डौमा ठड्याए पनि जिवन पर्यन्त अग्लुङमै बसिरहे र निरन्तर विकासमा खटिरहे । चन्दले २०३९ सालमा तानसेन–तम्घास सडकको निर्माण गर्ने क्रममा पाल्पालीहरुले तपाईलाई तानसेनमै घर दिन्छौ सडक विस्तार नगर्नुहोस भनेर प्रलोभन देखाउँदासमेत प्रलोभनमा नफसेको कुरा तत्कालिन नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले २०७७ मंसिर ७ मा थाहा खबरसँग बताएका थिए । हेरौ उनै पन्थि अहिले रेसुंगा नगरपालिकाको बागडोर सम्हालेका छन् र उनले बैकुण्ठको बैकुण्ठधामको यात्रामा कति हिड्न सक्छन् । पन्थीको भनाइलाई बल पुग्नेगरी म बैकुण्ठमा परशुराम ज्ञवालीले लेख्दछन् ‘ संभवत २०२५ सालको चुनाव बैकुण्ठ जीले हारेको भए गुल्मीमा मोटर पुग्दैन थियो । बाटोको लागि नै बैकुण्ठजीको जीत आवश्यक थियो ।’ 

म बैकुण्ठमा दीन पन्थी गुल्मीका तारा शिर्षकमा लेख्दछन् –राजनीतिमा लागेर धेरैलै सम्पत्ति कमाएको जोडेको देखेका छौं तर उहाँ फरक देखिनु भयो । जनताकै सेवामा आफ्‌नो सम्पत्ति सकाउनु भयो । अहिले जुनसुकै तहको साम्सद वा मेयर/उपमेयर‚ प्रमुख/उपप्रमुखको त कुरै छोडौ वडा अध्यक्ष र सदस्य ५ वर्ष शासनमा रहँदा उसले  सके काठमाण्डौमा नसके कुनै शहरमा घर–घडेरी जोर्नै पर्नेछ  । यदी त्यस्तो गर्न सकेन भने उ नामर्द ठहर्छ । समाज नै पथभ्रष्ट भएको छ । आदर्शको कुरा र व्यवहार अँगाल्ने मानिस बहुला बन्छ । हेर्नुस त स्याङ्जाका शंकर पाण्डे जो अहिले पनि नाङ्गा खुट्टा हिड्दछन् । अनि अहिलेका यस्ता मति भएका शासकहरुका सामु बैकुण्ठलाई कसरी पढ्ने ? कसरी बुझ्‌ने ? हुतिहारा‚ नामर्द‚ कातर वा आत्मस्वाभिमानी ? अरुले जसरी बुझुन त्यो उनीहरुको बुझाई हो । मेरो बुझाई भने पछिल्लो हो । उनका छोराछोरीहरु शहर पसे पनि उनी गाँउमै रमाए । त्यसको केही सिको पूर्व साम्सद टंक पोख्रेलले गरेका थिए सत्ताबाट हटेपछि गाँउमा रमाउने कुरामा । 

पाल्पालीहरुको यत्रो विरोधका बाबजुद किन अबिचलित लागिरहे होलान् भन्ने प्रश्नले मलाई निरन्तर घोचि रह्यो । अनि उनै विष्टलाई फोन गरी सोधे । उनको जवाफ थियो – देश दौडाहामा तत्कालिन राजा महेन्द्र रिडि हुँदै तम्घास जानेक्रममा राजा चढेको घोडा डोर्‌याउने काम गरेका रहेछन् र कुराकानीका क्रममा राजाले बैकुण्ठलाई मोटरबाटो बनाउन भनेका रहेछन् । प्रतिउत्तरमा बाटो त बनाउने तर कसरी नि महाराजा भन्दा राजाले भनेछन् श्रमदान गराउन त । सायद राजाको यही ढाडसबाट हुनसक्छ उनले पाल्पालीहरुसँग भिड्ने हिम्मत गरको । गाउँघरतिर एउटा भनाई छ नि ढिकिको पुच्छर किन उफ्रिएको भन्दा पुच्छरमा धन गाडेकोले भनेजस्तैै हुनसक्छ बैकुण्ठ बा को उफ्रइको पछाडी पनि । त्यसैले हुन सक्छ उनले गर्वकासाथ जिल्ला पञ्चायतको सभापतिमा विजय भैसकेपछि तम्घासको तत्कालिन महेन्द्र माविको प्रांगणमा भाषण गर्दा पाल्पाबाट तम्घासमा मोटरबाटो लिएर गुल्मेली जनतालाई नून र चामलको भारी बोक्न नपर्ने बनाउछु ।

मोटरले बोक्छ । अब गुल्मीमा विकासको मुल फुट्छ भनेर घोषणा गरेको कुरा सुन्ने रेसुंगा बहुमुखी क्याम्पसका पूर्व प्रमुख शशी पन्थीको कुरा काँग्रेस नेता छन्द पहराइले २०७७ मंसिर १५ मा शितलपाटीमा बैकुण्ठबहादुरको यात्रा बैकुण्ठधाममा लेखेका छन् । पहराइ अगाडी लेख्छन्‌– हुनत २०११ सालदेखि नै अर्घाखाँचिको पत्थरकोटबाट तम्घास जोडने बाटो बनाउने प्रयास नभएको होइन तर सफल हुन सकेको थिएन । प्रतिमान चन्द बोहरा बडाहाकिम भएको बेला पनि बाटो बनाउने प्रयास नभएको होइन‚ उनले बाटोको रेखाङ्कन चाँहि  गराए । पत्थरकोट–रिडी–तम्घास मोटर खन्न नेतृत्व लिने बडाहाकिम डोरविक्रम शाहाले गरेको कुरा कृष्णबहादुर कुँवरले म बैकुण्ठमा उल्लेख गरेका छन् । चन्दका २०२५–२०३८ साल सम्मको निरन्तर नेतृत्व र प्रयासले २०३८ सालमा रिडीमा ट्याक्टर उद्घाटन भयो भने २०३९ सालको बैशाख महिनामा गुल्मीको सदरमुकाम तम्घासमा पहिलो पटक ट्याक्टर उद्घाटन भएरै छोड्यो । पृथ्वीनारायण शाहाले मेरा साना दु:खले आर्ज्याको मुलुक होइन भनेजस्तै गुल्मेलीका साना दु:खले खन्याको बाटो होइन पाल्पा–रिडी–तम्घास । अहिले यसको महत्व बुझ्‌ने मानिस घट्दै गैरहेका छन् । त्यसैले त होलानि  २०३९ सालमा सदरमुकाम पुगेको बाटो पिच हुन झण्डै ३० वर्ष कुर्नु परेको । यसबीचमा कैयौले ज्यान गुमाउनु पर्यो कच्ची बाटोकै कारणले । समयमै बाटो पिच भएको भए कैंयौको अकाल मृत्युबाट जोगाउन सकिन्थ्यो होला ।

यसबीचमा रिडी र कालीगण्डकीमा थुप्रै पानि बग्यो । तिनमुखे पुल बन्यो त्यहाँ । विकास गाउँगाउँमा पुगेको छ । देश संघीय बनेको छ । नारमा त गाउँगाउँमा सिंहदरबार पुगेको छ । साँच्चिकै सिंहदरबार पुगेको हो कि सिंह मात्रै भनेर प्रश्न गर्छन आम सर्वसाधारण । गाउँगाउँमा बनेका पालिकाका दरबार हेर्दा त लाग्छ साँच्चिकै सिंहदरबार गाउँगाउँमा पुगेकोे छ । जनप्रतिनिधिका शान र सौकातले पनि त्यही संकेत गर्छ तर वास्तविकता भने फरक छ । गाउँमा पुरुष र युवा छैनन् । छन् त केबल वृद्धवृद्धा र जंगली जनावरको आतंक । जेनतेन दु:ख गरी लगाएको बाली भित्र्याउन पाउने र सक्ने अवस्थामा छैन सिङ्गो पहाडी र हिमाली भाग । जनसंख्या वृद्धिदर घट्दो छ नेपालमा ।

नेपालको जनगणना २०७८ का अनुसार ३४ वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । रामेछाप पहिलो नम्बरमा दरिदै गर्दा गुल्मी सातौँ नम्बरमा रहेको छ । जनसंख्या वृद्धिमा अप्रत्यक्ष रुपमा प्रभाव वातावरणमा भएको फेरबदल रहेको देखिन्छ एकातिर भने अर्कोतिर प्रत्यक्ष रुपमा प्रभाव पार्ने तत्वहरुमा वैदेशिक रोजगार‚ ढिलो बिवाह‚ शैक्षिक सफलताको मोह‚ स्वदेशकै रोजगारी र महिलामा व्यक्तित्व विकासको चाहना उत्कट हुनु‚ स्वदेशी रोजगारीका कारणले बिवाहित जोडी सँगै बस्ने वातावरणका अभाव‚ एकल परिवारको बढदो प्रभावका कारणले बच्चाबच्चीका स्यारसुसारमा आएको कठिनाई‚ शिक्षा र स्वास्थ्य अति महंगो हुनु र सामाजिक सुरक्षाको ग्यारेन्टि नहुनु‚ छोरा र छोरिमा हुने विभेदमा कमि हुनु आदि रहेका देखिन्छन् । यसले नेपालको समग्र जनसंख्या पद्धतिमा नै असर पार्ने देखिन्छ । चिनले अपनाएको एक सन्तान नीतिका कारणले सिर्जित जनसंख्या असन्तुलनले पार्ने नकरात्मक प्रभावलाई कम गर्नलाई आफ्‌नो पुरानो नीतिमा परिवर्तन गरी ३ सन्तानसम्म जन्माउने नीति अपनाएको छ । नेपालले पनि समयमै प्रभावकारी कदम नअपनाए जनख्या असन्तुलन हुने देखिन्छ ।  

मानिस एक सजीव प्राणी हो । जसका कारणले गर्दा विभिन्न प्रयोजनका लागि उसले आफ्‌नो बसोवासमा परिवर्तन गर्दछ । यसरी घुमफिर गर्ने क्रममा मानिस देशभित्र तथा बाहिर आफ्‌ना उद्देश्य र इच्छा पूरा गनर्े आवश्यक्ता रहने गर्छन् । मानिस स्वाभावैले एक ठाँउमा मात्र बसोवास गर्ने प्राणी होइन । प्राचिन कालबाट नै मानिस एक ठाउएबाट अर्को ठाउँमा सर्दै हिड्ने गर्दथ्यो । हिजो उ खानपान तथा आवसका लागि सर्थ्यो भने आज आवश्यक्ता फेरिएका छन् जसले गर्दा बसाइँसराइँका कारणमा परिवर्तन भएका छन् । बसाइँसराइँका कारण र सम्भावित परिणामबारे मुलुक चलाउने बागडोर सम्हालेकाहरु अजान छैनन् । गाउँमा सेवा पुर्‍याउन एमालेले आफ्‌नो गाउँ आफै बनाउ र नौ स जस्ता कार्यक्रम ल्याएको थियो २०५२ सालको ९ महिने अल्पमतको सरकार सञ्चालन गर्दा । त्यसैगरी काँग्रेस सत्तामा रहँदा गरिबसँग विश्वेश्वर कार्यक्रम ल्याएको थियो तर ति कार्यक्रमले बसाइँसराइँ रोक्न अहम भूमिका खेल्न सकेनन् । केवल नारामा मात्रै सिमीत रहे  र जनसंख्या बसाइँसराइँ दिन दुईगुना रात चौगुनाले वृद्धि भैरहेको छ । बसाइँसराइँ आजको समस्या होइन केवल दर मात्रै फेरबदल भएको हो । सुधारिएको पञ्चायत लागु भएको केही समयमै २०३९ सालमा डाक्टर हर्क गुरुङको संयोजकत्वमा बनेको बसाइँसराइँ अध्ययन कार्यदलले नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रि बसाइँसराइँका कारण र समाधानका उपायसम्बन्धी प्रतिवेदन तत्कालीन सरकारलाई बुझाएको थियो । युवाहरु विदेसिने र अलिअलि हातखुट्टा चलाउन सक्नेहरु बसाइँ सर्नाले अहिले गाउँमा प्रभाव परे पनि कालान्तरमा शहर र तराईमा समेत असन्तुलन ल्याउछ । काठमाण्डौमा त विगतदेखि नै सकारात्मक र नकारात्मक दुबै प्रभाव देख्दै र भोग्दै आएका छौँ । 

लुम्बिनी बसाइँसराइँ दर उच्च: भरिँदै तराई‚ रित्तिँदै पहाड शिर्षकमा रामप्रसाद आचार्य एक अनलाइनमा  लेख्दछन्‌– १० वर्षको अवधिमा लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये ३० वटाको जनसंख्या वृद्धि ऋणात्मक देखिएको छ । ती पालिकाहरुमा निस्दी‚ बगनासकाली‚ पूर्वखोला‚ रम्भा‚ धुर्कोट‚ सत्यवती‚ कालीगण्डकी‚ रिब्दीकोट‚ पाणिनी‚ मालारानी‚ छत्रदेव‚ चन्द्रकोट‚ भूमिकास्थान‚ शितगंगा‚ रैनादेवीछहरा‚ मुसीकोट‚ गुल्मी दरबार‚ इस्मा‚ रुरुक्षेत्र‚ छत्रकोट‚ मालरानी‚ मदाने‚ ऐरावती‚ मालिका‚ बंगलाचरली‚ lemd?s, तिनाउ‚ माथागढी‚ गेरुवा‚ रेसुङ्गा‚ र माडी रहेका छन् । गुल्मीका १२ वटै पालिकामा नै ऋणत्मक रहेको छ । यो तथ्यांकले प्रष्ट बताउछ कि गुल्मीको जनसंख्या ऋणात्मक रहेको त्यो पनि

१.२३ प्रतिशतले । लुम्बिनी प्रदेशका पहाडी जिल्लाका गुल्मी‚ पाल्पा‚ र अर्घाखाँचिमा जनसंख्या घटेको छ । लुम्बिीनी प्रदेशका ३० वटा पालिकामा ऋणात्मक हुँदा झण्डै आधा पालिका गुल्मीका रहेका छन् । यस्तो हुँदा पनि गुल्मीका भद्रभलाद्मी‚ अगुवा‚ राजनीतिक दल तथा तिनका नेताहरुल्ााई कतै छोएको छैन् अहिलेसम्म । बसाइँसराइँ रोक्न र घट्दो जनसंख्या वृद्धिलाई धनात्मक बनाई जनसंख्या असन्तुलनलाई सन्तुलित बनाउन केही कदम चालेका छैनन् । उहाँहरुको घैटोमा कहिले घाम लाग्ला? अब के जंगली जनावरलाई मतदाता बनाएर उनैका भोटले साम्सद र नेता बन्ने दिन नजिकै छन् भन्न पाइने हो त ? त्यसको संकेत यसले गर्दैन र ? १ सय ७९ घरधुरीका ७ सय ४२ जनाले आव २०७९/०८० मा मुसिकोट नगरपालिका छोडेको समाचार न्त्ख् नेपाल मा बसाइँसराइले रित्तिदै गाउँघर शिर्षकमा सागर भण्डारीले २ श्रावण २०८० मा लेखेका छन् ।  शिक्षक कुलबहादुर केसीको हवला दिँदै भण्डारीले बसाइँसराइका कारणहरुबारे लेख्दछन् – गाउँमा रोजगारीका अवसर नहुनु‚ वैदेशिक रोजगारी‚ गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभाव‚ र खास विकास गाउँमा नहुनुनै गाउँ शून्य बन्दै गएका हुन् । तिनवटै सरकार र स्थानीय जनप्रतिनिधि तथा प्रदेश र संघीय साम्सद के हेरेर बसिरहेका छन् ?

 त्यसलै‚ गुल्मीले अहिले अर्को बैकुण्ठे खोजेको छ । त्यो कुन गुल्मीको सुपुत्र होला जसको बास बैकुण्ठमा हुनेगरी गुल्मीको यो अत्यासलाग्दो परिवेशलाई समालेर सुखि र समृद्ध गुल्मी बनाओस । ए बैकुण्ठ बा तिमि नै फर्किएर आउछौ कि अर्को कसैलाई पठाउछौ हँ ? उनी जिवित छँदै प्रकाशित पुस्तक म बैकुण्ठमा लेखेका छन्‌–

राजधानीको बसाई भए पनि मनमा ‘गुल्मी’ को झल्को मेटिएको छैन । गुल्मेलीप्रति अगाध आदर र स्नेह छ मनमा । म आज जे छु‚ जहाँ छु‚ त्यो सबै गुल्मीको देन हो । गुल्मीले मलाई दिएको पहिचान सम्झना बनि मनमा सधै रहिरहन्छ । जीवनको अन्तिम प्रहरमा आइपुगेको छु । जन्म र मृत्यु अवश्यमभावी छ । यदि पुनर्जन्म पाए भने गुल्मीको अग्लुङमै जन्मिने मन छ‚ नेपाली माटो र मन नै प्यारो छ । यो जुनीमा गर्न नसकेका कामहरु अर्को जुनीमा गरेर फेरि पनि मातृभूमिको सेवामा समर्पित रहने छु ।

अहिले जन्मनै अमेरिका अष्ट्रेलियामा होस भन्ने पुस्ताका अगाडि उनको माथिको भनाइले केही छोला त ? चैते नेता होइन त्यहीको माटोलाइ मन पराउने र त्यही लडिबुडि गर्ने मानिसलाई मात्रै सबै तहका जनप्रतिनिधि छान्ने सत्बुद्धि कहिले पलाउला हामीमा ? जुनसुकै पार्टीका भएपनि स्थानीय रुपमा नबस्नेलाई अब नेता र जनप्रतिनिधि नबनाउने प्रण गरौ सबैले । हिमाल र पहाडमा घट्दै गएको जनसंख्याले प्राकृतिक स्रोत र साधनका उपयोग र दिगो संरक्षणमा गम्भीर चुनौती खडा गरेको छ र अझ बढि गर्नेछ । ती ठाँउका गाउँबस्ती खाली हुँदा त्यहाँका धार्मिक र सांस्कृतिक धरोहर‚ मूर्त–अमूर्त कला र संस्कृति‚ रैथाने भाषा आदि लोप हुने जोखिम बढ्दै गएको छ । यसको प्रत्यक्ष मारमा समग्र गुल्मी परेको छ । यसबाट बचाउन slyt पढेलेखेका भनिएका हामी तपाइको पनि जिम्मेवारी छ । नेता र नेतृत्वलाई गाली गर्ने एउटा पाटो हो तर सबैले सामूहिक जिम्मेवारी बोधगरी हातेमालो गरेर अगाडी बढौ र गाउँ शून्य हुनबाट जोगाउ नभए सगरमाथा पनि कुनैबेला टेथिस सागरको पिँधमा थियो भनेर रमाउँ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।